निबन्ध

कथित अछूत जातिलाई टीका लगाउँदा

यी जोईपोइ मेरो निमन्त्रणालाई स्वीकारेर आइदिएकोमा ख्याल फुरुङ्ग भइनँ म। छोरीज्वाइँ आएजत्तिकै रमाइलो भयो। छमछमी नाच्यो मन।
‘अब कसरी यिनीहरूलाई घरभित्र पसाऊँ।’

कथित अछूत जातिलाई टीका लगाउँदा

हो, मैले यसपालि कथित अछूत जातिलाई टीका लगाएँ। दशमीको टीका। हिन्दूहरूको महान् चाड बडादशमीको टीका। उनलाई आफू नै घरमाथि चढाएर कुर्सीमा बसाएँ। स्टिलको थालीमा मुछेको रातो टीका र सप्रेको पहेलो जमरा लगाएँ।
दुई हजार अन्ठाउन्न साल कात्तिक दश गतेको कुरा हो। बिहान सात बजे म मणिराम परियारको घरमा गएँ। उनी थिएनन्। छिमेकी चक्र राईको घरमा रहेछन्। त्यहीँ गएर भनेँ– “ज्वाइँ ! आज छिट्टै मेरो घरमा आउ है। म बहिनीज्वाइँलाई टीका लगाइदिन्छु।’’

तोकिएको साइतमा हामीले आमाका हातको टीका लगायौँ। आशीर्वाद थाप्यौं। त्यसपछि नानीहरूलाई लगाइदियौँ। एकछिन पर्खिनासाथ गह्रौँ झोला बोकेर मणिरामका परिवार आइपुगे। मैले सरासर माथि नै चढाएँ। महिलाले मेरी श्रीमतीलाई कोसेलीले भरिएको झोला दिइन्। उत्सुकतापूर्वक हेरेको एक बोतल कोकाकोला, एक पोको चिनी, दुई दर्जन केरा र एक पुरिया बिस्कुट रहेछ।

“लौ, यो किन ल्याएको ? हामीलाई एउटा फूलको थुँगो भए पुगिहाल्छ नि। ल, यो सबै कुरा घर लैजाओ, केटाकेटीलाई दिनू।’’ भावनाले भनिन्। मैले पनि फर्काइदिन खोजेँ। अहँ उनीहरूले मानेनन्। टसको मस भएनन्। अन्तिममा मैले कोकाकोला र बिस्कुटचाहिँ सबैलाई बाँडिदिएँ। मिलीजुली खायौं। चिनीको पोको भावनाले भित्र लगिन्। घरमै दुई घरी केरा पाकेका थिए। त्यसैले केराचाहिँ जबरजस्ती फिर्ता गर्यौँ‍।
घरमाथि चढ्दा उनीहरू निन्याउरा थिए। उदास देखिन्थे। कुर्सीतिर हेर्दा पनि हेरेनन्। थ्याच्च भुईँमा बसे। हामीले हतारहतार हातमा समातेर उठायौँ र कुर्सीमा बसायौँ। श्रीमती झन् डराएकी थिइन्। ‘नाइँ हजुर नाइँ, पाप लाग्छ, तलै बस्छु’ भन्दै थिइन्। मेरी श्रीमतीले एकछिन सम्झाएपछि उनका श्रीमान्ले आदेश दिए–

’बस् न त बस्, ठूलाबडाले भनेको मान्नुपर्छ क्या।’
उनीचाहिँ कुर्सीमै बसेका थिए।
ओहो ! चकटी ओछ्याएको कुर्सीमाथि बस्दा खलखली पसिना आयो उनीहरूका अनुहारबाट।
यी जोईपोइ मेरो निमन्त्रणालाई स्वीकारेर आइदिएकोमा ख्याल फुरुङ्ग भइनँ म। छोरीज्वाइँ आएजत्तिकै रमाइलो भयो। छमछमी नाच्यो मन।
‘अब कसरी यिनीहरूलाई घरभित्र पसाऊँ।’

म सोचमग्न भएँ। धेरैबेर कुनै कुरा फुरेन। अन्तमा एउटा बुटी फेला पारे– हाम्रो घरमा पहिलेदेखि नै लुगा सिउने मिसिन थियो। भावना कहिलेकाहीँ चलाउँथिन्। अब उनीहरूलाई त्यही मिसिन देखाउने बहानामा भित्र्याउनुपर्‍यो।
“ज्वाइँ ! हाम्रो मिसिनले राम्रोसँग लुगा सिउँदैन। टाँका पार्छ। एकपल्ट हेरिदिने कि !’’
आफ्नो पेसासँग सम्बन्धित विषय भएकाले होला उनी कुरा सुन्नासाथ जुरूक्क उठे। सँगै भित्रै गए। मिसिनको टाउको झिके। खुट्टा चलाए र फ्यारर तीन चारचोटि घुमाए।

श्रीमतीलाई पनि कतिखेर उठौँ भन्ने भएको रहेछ। श्रीमान् पस्नासाथ जुरूक्क उठिन्। श्रीमान श्रीमतीले मजासँग मिसिन सुमसुम्याए। बाहिर निकाले र उज्यालोमा हेरे। ठीक छ ठीक छ भन्दै भित्रै लगेर राखिदिए। मेरो घरको वायु बौलाएन, कुल रिसाएन। जातको झिनो त्यान्द्रो सियोमा उनिएको धागोजस्तै चुँडियो।

टीका लगाउने बेला भयो। निधार ठाडो पारेर दुवै जनाले तर पसिना बगेर लगाउनै मिलेन। मेरी श्रीमतीले छेउमा झुन्डाएको आफ्नो सल दिइन्, पसिना पुछ्न। सललाई डल्लो पारेर अनुहार सोहोरे दुवै जनाले। जजमाने ब्राहमणी मेरी आमा, पण्डित कुलकी मेरी श्रीमती र मैले मजासँग घुमाइघुमाई उनीहरूको निधारमा टीका लगाइदियौँ। जमरा सिउरी दियौं। पच्चीस पच्चीसका नयाँ नोट हातमा राखिदियौँ। भावनाले श्रीमतीलाई कोसेली दिइन्। त्यति बेला जात धर्मको कुरा हैन बरू मानवीयता, वर्गीयता र मित्रताले वातावरण सुगन्धित भयो।

टीकाको काम सकेर थालभरि खसीको मासु र चिउरा दियौँ। उनीहरूले खपाखपी खाए। बिदा हुने बेलामा मैले भनेँ–
‘ल, हरेक वर्षको लागि आजै निम्तो भयो। पहिले ससुरालीमा टीका लगाउन आउनू।’’
कुरा यत्ति हो।

मैले यसलाई कुनै तक्मा पाउने काम ठानिनँँ। होइन पनि। पत्रकार बोलाइनँ। समाचार लेखाइनँ। परियारका जोईपोइको निधारबाट टीकाको उद्घाटन गरेपछि दिदीभिनाजु, बहिनीज्वाइँ, भान्जाभान्जी सबैलाई तीनै कुर्सीमा राखेर त्यही थालको टीका लगाइदियौँ।

मैले यसलाई कुनै तक्मा पाउने काम ठानिनँँ। होइन पनि। पत्रकार बोलाइनँ। समाचार लेखाइनँ। परियारका जोईपोइको निधारबाट टीकाको उद्घाटन गरेपछि दिदीभिनाजु, बहिनीज्वाइँ, भान्जाभान्जी सबैलाई तीनै कुर्सीमा राखेर त्यही थालको टीका लगाइदियौँ।
खेम नेपाली मेरा अनन्य मित्र। उनी पनि तथाकथित अछूत परियार जातका। उनको र मेरो मित्रता धेरै पुरानो। विराटनगर जाँदा म उनकोमा पाहुना लाग्छु। उनी मेरोमा आउँछन्।

दशमीको पर्सिपल्ट खेमजी हाम्रा घरमा आए। मैलै उनलाई अस्तिको कुरा सुनाएँ। ‘हँ। हो र।’ भन्दै निधार खुम्च्याएँ। ‘हो हो, सत्य हो, मसँग क्यामेरा थिएन, नत्र अहिले नै फोटो देखाइदिने थिएँ’ भनेँ।
खेमजीलाई यो घटना छापामा पनि आउनुपर्छ भन्ने लागेछ, बिदा हुने बेलामा भने–
‘ल अनिलजी, म भोलि क्यामेरा र एक जना पत्रकारलाई लिएर आउँछु। तपाईँको परिवारले हाम्रो अगाडि त्यो कुरो प्रमाणित गरेर देखाउन सक्नुपर्छ।’

साँच्चै भोलिपल्ट खेमजी क्यामेरा र पत्रकार लिएर आए। उनलाई अघि लगाएर म मणिरामका घर गएँ फेरि टीका लगाउन आऊ भनेर निम्ता दिएँ। केही समयपछि उनीहरू आइपुगे। हामीले अस्ति जस्तै गरी टीका लगाइदियौं। खेमजीले भटाभटी फोटा खिचे। पत्रकारले पहिले उनीहरूसँग र त्यसपछि हामीसँग कुराकानी गरे।
पर्सिपल्ट ‘पौडेल परिवारले अछूत जातिलाई टीका लगाइदिए’ भनेर समाचार छापियो।

ओहो ! एक्काइसौँ शताब्दीमा मान्छेले मान्छेलाई टीका लगाइदिएको यो सामान्य घटनालाई केही मान्छेले ओखर टोकेझैँ गरेर पढे। केही मान्छेले मिस्री चुसेझैँ चुसेर पढे। एक जना पाठकले त तुरून्तै त्यही पत्रिकामार्फत एक थाल बमिट पनि गरे। अर्का लेखकले ‘सतीले सरापेको देशमा राम्रो कामलाई पनि नराम्रो भनिन्छ’ भन्दै बान्ता गर्नेलाई सिस्नुपानी लगाए।
मैले के जितेँ ?

मलाई लाग्छ, यति सानो काम गरेर केही जितिनँ। केही कुम्ल्याइनँ। न दूषित, सामाजिक संरचना भत्काउन सकेँ। न छुवाछूतविरोधी प्रथाको प्रथम बहादुर नै हुन सकेँ। कविता पौडेलले उहिल्यै हलो जोतिसकिन्। मलाई र मेरो परिवारलाई केही मान्छेले समाजमा सबैभन्दा माथिल्लो जातको भनेर चढाएका र दर्जी, विश्वकर्मा, पोडे, चमार आदि भनेर कसैलाई लडाएका हुनाले चढ्नेले ओर्लिनुपर्छ, लड्ने उठ्नुपर्छ, मान्छे ठूलो सानू हुन्छ भने कामले हुन्छ, मेहनतले हुन्छ, जन्मेको आधारले हुँदैन, राणाशासनमा राणाकी श्रीमतीले पेटमै जर्नेल बोकेजस्तो जन्मिँदै तल्लो जात र माथिल्लो जात बोकिनु हुँदैन भनेर भन्न खोजेको मात्र हुँ।
मान्छे भएर जन्मेपछि समाजमा मान्छेको इज्जत त हुनुपर्‍यो नि।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved