दसैँ: दुई कविता

युगौँदेखि
विनागति विनागन्तव्य
हाम्रो दिलको बीच बाटोबाटै
एकोहोरो घस्रिरहेको चिप्लेकीरा दसैँं
यो वर्ष पनि त्यसरी नै घस्रिरहेको छ

नेपालभ्युज

दसैँ: दुई कविता

दसैँ

–देवान किराती

युगौँदेखि विनाहलचल घस्रिरहेको
त्यो बूढो–कुप्रो अहङ्कार
यो समय आएर पनि का छौँ ?
यो आधुनिकताको शिखरबाट तल–तल
त्यसरी नै चुपचाप एकतमास घस्रिरहेको छ
जसरी चिप्लेकीरा।

इतिहासकै किल्लामाथि उभिएर इतिहास
भोलि–पर्सिहरूलाई जितेर आजै
उत्सवका घोडाहरू कुदाइरहेको यो घडी
हामी कुन कालखण्ड जित्न खोजिरहे ऽऽऽऽऽल हेरेर
या विनादूरीको
विनागतिको घस्राइसँग
हामी कुन विजयोत्सव धानिरहेका छौँ ?
निधारभरि पोस्टर बनाएर चिप्लेकीरा।

हामी सप्पैलाई राम्ररी थाहा छ
यहाँ कुनै सुन्दर चाहनाहरू
–कुनै स्वस्थ सम्बन्धहरू
–कुनै शुभकामनाहरू
–कुनै आशीर्वादहरू
गोहोरो–अन्डाको बोक्रा मात्र हो
र बोक्रामा टाँसिएको चिप्लेकीरा
केशमा÷कानमा सिउरिएर
छातीभित्र दुःखको गोहोरो घस्रिएको
सद्भाविलो पीडा हाँसिरहेका छौँ हामी।
जसरी चिप्लेकीरा बाँचिरहेका छौँ हामी।

अस्तित्व थन्क्याएर कालान्तरको कन्तुरमा
सुदूर कथाको विजयी आत्मरतिमा
हामी निधारभरि छापिरहेका छौँ
शुभ–मङ्गलम् !
आत्म–मङ्गलम् !
जय ! जय ! जय !
र पनि हामी वर्तमान हारिरहेका छौँ
चिच्याएर पनि चुपचाप मरिरहेका छौँ
जसरी चिप्लेकीरा।

युगौँदेखि
विनागति विनागन्तव्य
हाम्रो दिलको बीच बाटोबाटै
एकोहोरो घस्रिरहेको चिप्लेकीरा दसैँं
यो वर्ष पनि त्यसरी नै घस्रिरहेको छ
र घस्रिरहनेछ युगौँसम्मै
जसरी चिप्लेकीरा।

 

दसैँ

–हेमनाथ घिमिरे

दसैँ होस् खुसीको सबै नै रमाउन्।
बिपत्मा परे क्वै छिमेकी समाउन्।।
सबै तर्फ लागोस् खुसीकै उकेरा।
छ यै कामना है सबै बन्धु मेरा।। १।।
नहोस् यो दशा नै नहोस् यो विपत्ति।
नरोउन् कतै क्वै नहुन् क्वै विरक्ति।।
नयाँ घाम झुल्कोस् हटोस् मेघ कालो।
सबै तर्फ छाओस् खुसीकै उज्यालो।। २।।
सबै मालश्रीको मिठो धून गाउन्।
सबै एक सङ्गै खुसी भै रमाउन्।।
हटाएर बाधा र पीडा सबैको।
दसैँ यो बनोस् चाड हामी सबैको।। ३।।

(छन्दः भुजङ्ग प्रयात)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved