प्रिय कथा

तन्नेरीको सपना

उसले आज यतिखेर बहिब मार्टिनलाई टाइम दिएको थियो। घुमाउनु थियो उसलाई। …तर ऊ गएन। जान चाहेन। उसका उज्याला सपना दौडिरहेका थिए घोडा जस्तै बेगमा। उसको उराठलाग्दो जीवन, सपनाको संसारमा इन्द्रेणी भएर रङ्गिरहेको थियो। त्यो सपना देख्न ऊ कैयौँ पल्ट निदायो र कैयौँ पल्ट ब्युँझियो।

तन्नेरीको सपना

(रचनागर्भ– ‘तन्नेरीको सपना’ जसरी भए पनि विदेश जान खोज्ने एउटा युवकको कथा हो। यो कथा आफूले लेखेका कथाहरूमध्ये राम्रो लागेको एक कथा हो। यो कथा लेख्दा डि.भी. भर्ने समय थियो। म काठमाडौँको न्यूरोडमा हिँड्दै थिएँ। वास्तवमा म किनमेल गर्न र बजार घुम्न निस्किएकी थिएँ। सामानहरू किन्दाकिन्दै असन, इन्द्रचोकतिर धेरै बेर घुमेँ।

साँघुरो गल्लीमा पनि दुई जना बच्चा गुच्चा खेल्दै थिए। यही सन्दर्भलाई लिएर केही लेखौँ जस्तो लागिरहेको थियो। घुम्दै गर्दा ‘ठमेल’ तिर लागेँ। पर्यटकलाई घुमाउन हिँडेका युवकहरू देखेँ। म सानो हुँदा, एक जना व्यक्ति यसै गरी टुरिस्ट गाइडको काम गर्नुहुन्थ्यो।

कहिलेकाहीँ उहाँको कोठामा विदेशीहरू आउँथे। उहाँकी दिदीसँग पनि मेरो परिचय भएको थियो। उहाँ गाउँमा बस्नुहुन्थ्यो। कहिलेकाहीँ मात्र काठमाडौँ आउनुहुन्थ्यो। यिनै कुराहरूले नयाँ कथा लेख्न उक्साएको थियो। युवाका चाहना, इच्छा, सोचाइलाई कथामा उतार्न प्रयास गरेँ। कथामा युवा–मनोविज्ञान प्रस्तुत भएको छ।)

युनाईटेड स्टेट्स र सुन्दरी दीपिका उसको अगाडि उत्तिकै महत्त्वपूर्ण भएर उभिए। झ्यालको पर्दाबाट हावा हल्लिँदै उसको शिरसम्म आइपुगेर उसकी आमाको तस्बिरमा अप्रत्याशित रूपमा ठोक्कियो। उसले फ्रान्सकी लिटिभालाई सम्झियो। लिटिभा उसको फोटोलाई कम्मरपेटीमा भुण्डिएको सानो पर्समा राख्ने गर्थी। र, उसको प्रेम लिटिभा र दिपिकासँग मात्र होइन युनाईटेड स्टेट्स्की मारियो मारियासम्म पुगेको थियो। मयुरको सौन्दर्यमा उभिएका हुन्थे सुन्दरी ठिटीहरू। उसले खुला झ्याललाई निरीक्षण गर्‍यो र फूलदानीमा रहेको कृत्रिम फूललाई सुँघ्यो। फूलमा सौन्दर्य थियो सुवास थिएन। बरु पुरानो भएकोले होला गन्हायो।

“यसपालि त पक्कै भिसा लाग्ला।” उसले सोच्यो। मसीका नीला चक्काहरू झैँ बनेर बसेका थिए तन्द्राका नीला फूलहरू र उसका सपनाहरू। उसकी आमा कोठाको तस्बिरमा झुण्डिराखेकी थिइन्। उनी सधैँ यसै गरी चुपचाप झुन्डिन्थिन्। गाउँको सानो सन्दुसमा बुहारीका लागि भनेर पुराना गहनाहरू सुरक्षित राखेकी थिइन् उनले।

“भिसा लाग्यो भने ती सबै गहनाहरू बेच्नुपर्छ, घर, खेत बेच्नुपर्छ।” उसले सोच्यो। यसरी नै उसकी आमाको सपना र उसका सपना बाझिन्थे र ऊ निष्कर्ष खोज्दै छट्पटाउँथ्यो।

उसले आज यतिखेर बहिब मार्टिनलाई टाइम दिएको थियो। घुमाउनु थियो उसलाई। …तर ऊ गएन। जान चाहेन। उसका उज्याला सपना दौडिरहेका थिए घोडा जस्तै बेगमा। उसको उराठलाग्दो जीवन, सपनाको संसारमा इन्द्रेणी भएर रङ्गिरहेको थियो। त्यो सपना देख्न ऊ कैयौँ पल्ट निदायो र कैयौँ पल्ट ब्युँझियो। विचित्रको थियो उसको सोच्ने क्रम—उपक्रम। टेबुलका दुई किनारा जिन्दगीको साम्राज्य घिसारेर नयाँ कोण खोजिरहेका थिए। उसको सपना चुलिएर कहिले विशाल पेगोडा शैलीको भवन बन्थ्यो र कहिले होच्चिएर माटोको कणमा अस्तित्वविहीन भएर बिलाउँथ्यो। ऊ हिटलर बन्थ्यो र यहुदी मनलाई पीडायुक्त अमानवीय यातना दिन पुग्थ्यो।

ऊ फेरि पन्ध्रौँ शताब्दीमा ओर्लन्थ्यो र मुगल सम्राट् शाह जहाँ भएर मुमताज महल ठड्याउँथ्यो। मात्र मुमताजहरू फेरिन्थे ताजमहलका। ऊ स्ट्राफोर्ड अपन एभन सिर्जन्थ्यो र शेक्सपियर बन्थ्यो आइसाको प्रेममा। आइसा प्रज्वलनशील पदार्थ बन्दै विस्फोट हुन्थी र एकाएक उसको प्रेम रङ्गविहीन, गन्धविहीन र स्वादविहीन बन्थ्यो। थुप्रैसँग सहमति भएको थियो उसको– आयुष्मा, जुलिका, उषा र निशासँग पनि।……तर अहँ कोही पनि टिकेनन् दीर्घकालसम्म। उसले रुचाएन अथवा उनीहरूले रुचाएनन्। सौभाग्यवश उसको शृङ्खलाबद्ध प्रेम कहिल्यै सार्वजनिक भएन। त्यसैले ऊ शान्त देखिन्थ्यो तर आँखाबाट अङ्कुशे फ्याँकेर आफैँभित्र उब्जिएको भुँइचालोलाई ग्रहण गरिरहन्थ्यो।

उसको प्रेम हाल आएर दिपिकामा अडिएको छ। अडिएको पनि के भनौँ निष्क्रिय हुने तयारीमा छ। प्रेम कुनै अर्की सुन्दरीमा हस्तान्तरण हुन नपाएर ऊ महत्त्वकी विषय बनेकी मात्र हो। उसको विशाल हृदयमा एनी जेन, अष्ट्रिना, आइन, जेनिसा ब्राउन, मारियो मारिया र लिटिभाले पनि अधिकार जमाएका थिए। तिनको पश्चिमेली संस्कारको सङ्गीतले उसकी आमाको शास्त्रीय झंकारमा खोटपूर्ण व्याकरणको सिर्जना गर्न सक्थ्यो। त्यसैले विदेशी युवतीहरूसँग उसको प्रेम अपुरो बन्थ्यो। मारियो मारियासँग बुनेको सपनाको रङ्ग महलले झन्डै उसलाई युनाईटेड स्टेट्स पुर्‍याएको थियो।

“उफ् यसपालि पनि डि.भि. परेन।” उसले नाक खुम्च्यायो, ओठ लेव्य्रायो र टेबुलमा बेस्सरी मुड्की बजार्यो। उसले ठमेलको गल्लीलाई सम्झियो, इन्द्रचोकमा गुच्चा खेलिरहेका स–साना बच्चालाई सम्झियो। बेलामौकाको जमघटमा उसले पिउने गरेको ब्यागपाईपर रक्सीलाई सम्झियो। फेरि आमाको तस्बिरलाई सम्झियो।

घरिघरि ऊ फाल्तु किताबका रङ्गिन पृष्ठहरूमा आँखा बिच्छ्याउँछ तर कलेजका मोटा किताबहरू देखि वितृष्णा फैलिसकेको छ। प्रत्येक तन्नेरीहरूमा जस्तै ऊभित्र पनि कमजोरी र निराशाहरू छन्। आशा र सपनाहरू छन्। भावनाको मुक्त आकाश र विधिको परिधि छ। ऊ हृदयको सानो टुक्राबाट विकेन्द्रित हुन्छ र फेरि संक्षिप्त बनेर आफैँभित्र अटाउँछ। सम्भ्रान्त वर्गमा विभाजित गर्छ आफूलाई र सिद्धान्तमा बाँधे झैँ गर्छ। कतिखेर–कतिखेर ऊ फुस्किन्छ बन्धनदेखि र आफूभन्दा धेरै भिन्न भएर निस्किन्छ।

घरिघरि ऊ फाल्तु किताबका रङ्गिन पृष्ठहरूमा आँखा बिच्छ्याउँछ तर कलेजका मोटा किताबहरू देखि वितृष्णा फैलिसकेको छ। प्रत्येक तन्नेरीहरूमा जस्तै ऊभित्र पनि कमजोरी र निराशाहरू छन्। आशा र सपनाहरू छन्। भावनाको मुक्त आकाश र विधिको परिधि छ। ऊ हृदयको सानो टुक्राबाट विकेन्द्रित हुन्छ र फेरि संक्षिप्त बनेर आफैँभित्र अटाउँछ।

काठमाडौँले उसका दस वर्ष बिना उपलब्धि यसै गरी लुछिदियो। न धन कमाउन सक्यो न पढाइलाई निरन्तरता दिन। उसले टेबुलमाथि वासिङ्टन टावर देख्यो। होटल ह्वाइट देख्यो। ऊ टुरिस्ट गाइड भएदेखि उसले भेटेका सम्पूर्ण विदेशीहरूलाई देख्यो। यु.एस.ए. की मारियो मारिया, स्विट्जरल्याण्डका हक्किन्स, फ्रान्सकी लिटिभा, कोरियाकी क्याम्रोन, इटालीकी रोजान आदि–इत्यादि। काठमाडौँमा ठूलो घर भएको भए आइशा ऊदेखि टाढा हुने थिइन।

ऊ दस वर्ष अमेरिका बसेको भए उसको बाबु–आमा काठमाडौँको महलमा हुन्थे। दीपिका उसको गरिबीदेखि तर्सिन्न थिई। न कुनै धनी युवकले उसकी दिपिकालाई आँखा लगाउँथ्यो। ऊ कमसल टुरिस्ट गाईडभन्दा बढी केही हुन सकेन। हुन सकेको भए– उसले आफ्नो प्रेम दिपिकाभन्दा सुन्दरी युवतीमा हस्तान्तरण गरेर त्यस युवकलाई चुनौती दिन सक्थ्यो। गाउँका युवतीहरू उसलाई मन पर्दैनथ्यो। शहरी युवतीहरू मुस्किलले उसलाई हेर्थे। अनेकौँ कन्या निरीक्षण गर्दा पनि उसले आमाको लागि सीता फेला पार्न सकेन।

उसले ठमेलको गल्लीमा यु.एस.ए. को सपना देख्यो त के गल्ती गर्‍यो ? असमयमै जागिर खायो र पढाई बिगार्यो त के गल्ती गर्‍यो ? देशले उसको तन्नेरी ऊर्जालाई ठम्याउन सकेन र ऊ विदेशिन चाह्यो त के गल्ती गर्‍यो ? उसले सोच्यो, “सके यु.एस.ए, नसके क्यानडा, अस्ट्रेलिया वा नेदरल्याण्ड। त्यो पनि नसके कुवेत, मलेसिया।” यस्तैयस्तै थिए उसका मनभित्र। कतिखेर–कतिखेर ऊ निदायो। उसका गरिबीले उसलाई घँचेटे। समस्याहरूले चिथोर्न थाले। उसले आफूलाई ‘आफू’ भएको घोषणा गर्न सकेन। समयले सर्लक्क निल्यो उसलाई। कोठा बाहिर गाडीको आवाज सुनिन्थे। रात परेको थिएन, पर्न आँटेको मात्र थियो। ऊ सपनामा थियो।

उसका अगाडि प्रतिशोध, निष्क्रियता र चुनौतीहरू थिए। छोरो हुनुको जिम्मेवारीले लखेट्यो उसलाई। उसको सपनामा विदेशी युवतीहरू आए, आइसा र दिपिकाहरू आए। आमाको हँसिलो अनुहार आयो। सपनामा अग्ला–अग्ला भवनहरू आए, वासिङ्टन डि.सी. आयो। ती सबै डरलाग्दा देखिए र एकीकृत भएर आँसुको ढिक्कामा बदलिए।

उसले आँसु चुहायो। उसका आँसु तन्द्राका नीला फूलहरूमा झरे। ऊ निन्द्रामै छट्पटायो। …… छट्पटाई नै रह्यो।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved