राष्ट्रिय दिवसका अवसरमा यसरी सिँगारियो बेइजिङ (फोटोफिचर)

हरेक वर्ष अक्टोबर १ तारिखभन्दा अगाडि बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमन चोकमा विशाल फूलको टोकरी राखिन्छ। एक महिनासम्म सजाइने उक्त फूलको टोकरीले धेरै पर्यटकलाई लभ्याउँछ। टोकरीको अगाडि उभिएर फोटो खिच्ने र भिडिओ बनाउने पर्यटकहरू पालो कुरेर बसेका हुन्छन्। टिकटक बनाउनेहरू पनि ट्राइपोडमा क्यामरा अड्याएर बसेका हुन्छन्।

राष्ट्रिय दिवसका अवसरमा यसरी सिँगारियो बेइजिङ (फोटोफिचर)

बेइजिङ। यतिबेला बेइजिङ बेहुली सिँगारिएजस्तै चिटिक्क परेको छ। अक्टोबर १ तारिखमा पर्ने चिनियाँ राष्ट्रिय दिवसका अवसरमा बेइजिङ सिँगारिएको हो।

हरेक वर्ष अक्टोबर १ तारिखभन्दा अगाडि बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमन चोकमा विशाल फूलको टोकरी राखिन्छ। एक महिनासम्म सजाइने उक्त फूलको टोकरीले धेरै पर्यटकलाई लभ्याउँछ। टोकरीको अगाडि उभिएर फोटो खिच्ने र भिडिओ बनाउने पर्यटकहरू पालो कुरेर बसेका हुन्छन्। टिकटक बनाउनेहरू पनि ट्राइपोडमा क्यामरा अड्याएर बसेका हुन्छन्।

अक्टोबर १६ तारिख (असोज ३०) देखि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को बिसौँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ। यसपटकको सजावटमा सीपीसीको आसन्न बिसौँ महाधिवेशनलाई पनि समेटिएको छ। थिआनआनमन क्षेत्रको केन्द्रमा राखिएको फूलको टोकरीमा उत्तरपट्टि ‘सीपीसीको बिसौँ राष्ट्रिय महाधिवेशनलाई स्वागत’ लेखिएको छ।

उक्त टोकरीको दक्षिणपट्टि ‘मातृभूमिलाई शुभकामना’ लेखिएको छ। यही नाराको मुनिपट्टि सन् १९४९–२०२२ लेखिएको छ। सन् १९४९ अक्टोबर १ तारिख जनगणतन्त्र चीन स्थापना भएको हो। त्यसपछि हरेक वर्षको अक्टोबर १ तारिखलाई चीनमा राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। यस अवसरमा तीन दिन सार्वजनिक बिदा हुने गर्छ।

चीनमा हरेक दस वर्षको अन्तरालमा राष्ट्रिय दिवसलाई भव्य रूपमा मनाइन्छ। सन् १९४९ मा स्थापित जनगणतन्त्रपछिका हरेक १० वर्षमा ठूला उत्सव आयोजना हुने गरेका हुन्। सन् २०१९ को अक्टोबर १ तारिखमा यहाँ नयाँ चीन स्थापनाको ७० औँ वार्षिकोत्सव भव्य रूपमा मनाइएको थियो। यस्ता उत्सवहरू थिआनआनमन क्षेत्रमा खुलामञ्च बनाएर आयोजना गरिन्छ। त्यसैगरी चीनका ठूला उत्सवहरू पनि यही ठाउँमा आयोजना गरिन्छन्।

थिआनआनमन क्षेत्र मात्र होइन उक्त क्षेत्रदेखि डेढ किलोमिटर पश्चिममा पर्ने सितान र डेढ किलोमिटर पूर्वमा पर्ने तोङतान चोकलाई पनि सजावट गर्ने गरिन्छ। यसपटक पनि सितान र तोङतान दुवै चोकलाई भव्य रूपमा सिँगारिएको छ।

चोकको चार कुनामा फरक फरक कला र आकृति निर्माण गरिन्छ। यसरी हेर्दा सितान र तोङतान दुई चोकका चार कुना गरी आठ कुनामा चीनले अहिलेसम्म प्राप्त गरेको प्रगतिका द्योतकहरु बनाइएका छन्। यस्ता बिम्बहरू बनाउँदा सक्कली फूल प्रयोग गरिन्छ। फुलेका फूलका गमला र बोटहरू राखेर आकर्षक चित्र बनाइएको हुन्छ।

फोटोमा देखिएका फरक बिम्बहरूले चीनको कृषि क्रान्तिदेखि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरेको देखिन्छ। त्यसै गरी चीनले खेलकूद क्षेत्रमा गरेको प्रगति र अन्तरिक्ष क्षेत्रमा प्राप्त गरेको उपलब्धिलाई पनि फूल तथा वनस्पतिमार्फत बनाइएका चित्रले व्यक्त गरेका छन्।

विज्ञान र प्रविधिमा चीनले गरेका चमत्कारहरूलाई सिपालु तरिकाले व्यक्त गरिएको छ। बालबालिकाको हँसिलो अनुहार, ज्येष्ठ नागरिकका अनुहारमा चम्किएको खुशी, विद्यार्थीको अध्ययन, कृषकको प्रगति, वैज्ञानिकको आविष्कार आदि कुरालाई सबैले बुझ्ने गरी आकर्षक कलाकृति निर्माण गरिएको छ। चीनको यातायात र भौतिक पूर्वाधार विकास, आधुनिक सहरीकरण, वातावरण संरक्षण, चीनको आर्थिक प्रगति, विश्वव्यापी रूपमा चीनका पहिचान, चिनियाँ मान र प्रतिष्ठालाई चित्रमार्फत सजाइएको छ।

सहरमा हुने यस्तो सजावटले एकातिर नागरिकमा उत्साह र हौसला थपिन्छ भने अर्कातिर पर्यटन विकास पनि हुने गर्छ। सबैभन्दा ठूलो कुरा त स्वदेशले गरेको प्रगति र उन्नतिलाई आफ्ना नागरिकका सामु राख्ने यो राम्रो तरिका पनि हो।

चिनियाँ राष्ट्रिय दिवसका लागि सिँगारिएको बेइजिङलाई तस्वीरमा हेर्नुहोस्।

 


Comment

2 thoughts on “राष्ट्रिय दिवसका अवसरमा यसरी सिँगारियो बेइजिङ (फोटोफिचर)

  1. यस वर्षको चिनिया राष्ट्रिय दिवस अन्य कारणहरूको साथसाथै अक्टोवर १६ देखि सुरूहुने चिनियां कम्यूनिष्टपार्टीको २०सौं महाअधिवेसनको परिप्रेक्ष समेतले गर्दा विषेश महत्व राख्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved