जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको सबै क्षेत्रमा एक्लै पनि निर्वाचन लडन सक्षम रहेको बताएका छन्।
जसपा धनुषाले बिहिबार शहीद नगरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले पार्टीलाई कुनै वेशाखीको आवश्यकता नरहेको बताएका हुन् । यादवले विना कुनै वैशाखी सबै क्षेत्रमा चुनाव लडन जसपा सक्षम रहेको उल्लेख गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बेला जसपाकै पहलमा पाँच दलिय गठबन्धन निर्माण भएको जिकिर गर्दै अध्यक्ष यादवले मधेशी आदिवासी लगायतका उत्पिडित वर्गको सम्मान हुने गरि सिटको बाँडफाँड भए आफुहरु अझै गठबन्धनको पक्षमा रहेको जिकिर गरे। तर अहिले बजारमा आएको हल्ला जस्तो गठबन्धनमा सिटको बाँडफाँडमा कुनै सहमति नभएको उनले स्पष्ट पारे । उनले भने,’गठबन्धनमा अहिले सम्म कुनै सहमति भएको छैन, हल्लाको पछाडी नलागौ।’
आसन्न निर्वाचन अन्य दलहरुको लागि निर्वाचन मात्र भएपनि जसपाको लागि संघर्षको एउटा पहाड मात्र रहेको उल्लेख गर्दै अध्यक्ष यादवले संविधान सभाबाट जारी भएको त्रुटिपूर्ण संविधानलाई संशोधन मार्फत सही ट्रयाकमा ल्याउन संसदको उपयोग आवश्यक रहेकोले निर्वाचनलाई संघर्षको रुपमा लिन नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।
अहिलेको निर्वाचन प्रणालीले थुप्रै वेथितीहरु निम्त्याएको हुँदा खसी बोका जस्तो सांसदहरु विक्री हुने प्रणाली लाई अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान समेत संसदबाट संविधान संशोधन आवश्यक रहेकोले निर्वाचनलाई संघर्षको रुपमा लिएको उनको भनाई छ।
जनता समाजवादी पार्टी समाजवादको सच्चा सिपाही रहेको उल्लेख गर्दै उनले काँग्रेस कम्युनिष्टहरुले समाजवादको कुरा गरे पनि उनिहरुले नक्कली समाजवादमा मात्र रुम्मलिएको आरोप लगाए ।
अध्यक्ष यादवले धनुषा क्षेत्र नं.२ मा जसपाकै उम्मेदवार हुनेमा ढुक्क रहन आग्रह गर्दै छाता छापलाई जिताउने अभियानमा जुटन निर्देशन समेत दिए । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सल्लाहाकार परिषद सदस्य गंगाराम यादव सहित पार्टी प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई अध्यक्ष यादवले स्वागत गरेका थिए।
जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नव प्रवेशी गंगाराम यादव, प्रदेश सभा सदस्य शैलेन्द्र कुमार यादव, रामअशिष यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए।
Facebook Comment
Comment