चाडपर्वमा सवारी दुर्घटना बढ्दै

नेपालभ्युज

चाडपर्वमा सवारी दुर्घटना बढ्दै

सुर्खेत । कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो । विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता कारणले दसैँ तिहारमा दुर्घटना हरेक बर्ष बढेको देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले पुष्टि गर्छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ । मङ्गलबार बिहान मात्रै सल्यानको कपुरकोटमा रा१ज ५६३ नम्बरको जीप दुर्घटनाबाट आठ जनाको निधन भएको छ ।

प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कलाई केलाउँदा गत वर्षको दसैँ तिहारमा मात्रै २१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी गत वर्ष दसैँका समयमा ३७ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए ।

दसैँमा ठूलो मानवीय क्षति हुनेगरी मुगुमा बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । यस्तै सुर्खेतमा नौ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र २२ जना घाइते हँुदा दैलेखमा चार सवारी दुर्घटनामा सात जना घाइते भएका थिए ।

त्यसैगरी सल्यानमा दुई सवारी दुर्घटनामा १६ जना घाइते भएका थिए भने जाजरकोट, रुकुमपश्चिम, जुम्ला र कालीकोटमा एक÷एक सवारी दुर्घटना हँुदा, दुई जनाको मृत्यु भएको तथ्याङ्क रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिनुभयो ।

चाडपर्वका बेलामा चालकले मादक पदार्थ सेवन (मापसे) को प्रयोग गर्ने, क्षमताभन्दा धेरै यात्रु राख्नेलगायतका कारण दुर्घटना बढेको श्रेष्ठले बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले आफ्नोतर्फबाट भरमग्दुर प्रयास गर्दै आएको भन्दै उहाँले प्रहरीले मात्रै प्रयास गरेर नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरीले आफ्नोतर्फबाट दुर्घटना न्यूनीकरण गर्न धेरै प्रयास गरेको छ, तर हाम्रो प्रयासले मात्रै केही हुँदैन । यसमा सबै पक्षको उत्तिकै भूमिका हुन्छ, अनि मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।”
–––


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved