कांग्रेसमा इतर समूहको आक्रोश बढ्दै, संस्थापन भन्छ, ‘योग्यले टिकट पाउँछ’

आरजु र मन्जुलाई समानुपातिक सूचीमा राखेपछि कोइराला समूह थप रुष्ट बनेको छ । जीवनभर पार्टीमा लागेकालाई बेवास्ता गरेर सधै सत्तामा रहेकाको नाम सिफारिस गरिनु गलत भएको कोइराला समूहका नेता बताउँछन् ।

कांग्रेसमा इतर समूहको आक्रोश बढ्दै, संस्थापन भन्छ, ‘योग्यले टिकट पाउँछ’

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूह यतिबेला विद्रोहमा छ । मङ्सिर ४ गते हुने चुनावमा समानुपातिकतर्फको बन्दसूचीमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बेवास्ता गरेको भन्दै नेता शेखर कोइरालाको नेतृत्वमा विभिन्न कार्यक्रम गरिरहेको छ ।

यो समूहले बिहीबार चियापानका नाममा छुट्टै भेला गर्‍यो । यस्तो भेला दिनहुँ भइरहेका छन् । पार्टीको केन्द्रीय कार्यालमा धर्ना समेत दिइएको छ । उम्मेदवारी मनोनयनको समय नजिकिँदै जाँदा इतर समूहको दबाब पनि चर्कँदो छ ।

विरोध चर्काउँदा पनि संस्थापन पक्षले भने खासै वास्ता गरेको छैन । जसका कारण इतर समूहका नेता झन आक्रोशित छन। समानुपातिक सूची सच्चाउने र प्रत्यक्षमा आफ्ना तर्फका धेरै भन्दा धेरै नेतालाई टिकट दिलाउने यो समूहको उदेश्य देखिन्छ ।

निर्वाचनमा आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा अधिकांश पार्टी सभापति शेरबहादुर देउवा पक्षको नामावली छ । सूचीमा प्रतिनिधिसभातर्फ पुरुषमा विमलेन्द्र निधि पहिलो नम्बरमा छन् भने महिलामा डा आरजु राणा देउवा पहिलो नम्बरमा छिन्।

आरजु कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन्। गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाणको नाम आरजु लगत्तै राखिएको छ । त्यसैगरी बन्दसूचीमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको नाम पुरुषतर्फ चौथो नम्बरमा छ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादवको नाम पुरुषतर्फ छैटौं नम्बरमा छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारको नाम पनि बन्दसूचीमा परेको छ । सूचीमा रहेका १०९ मध्ये १३ जना मात्रै कोइराला समूहबाट परेका छन्।

कांग्रेसमा हामीले मात्र त्याग गर्नुपर्ने हो ?

आरजु र मन्जुलाई समानुपातिक सूचीमा राखेपछि कोइराला समूह थप रुष्ट बनेको छ । जीवनभर पार्टीमा लागेकालाई बेवास्ता गरेर सधै सत्तामा रहेकाको नाम सिफारिस गरिनु गलत भएको कोइराला समूहका नेता बताउँछन् ।

इतर समूहका नेता अर्जुन नरसिंह केसीले समानुपातिकमा सिफारिस भएका केही नामले सशंकित बनाएको बताए । उनले भने ‘हामी भित्र नै सहमति गरेर परिस्थितिको समीक्षा गर्न सकेनौँ  गम्भीर समस्या निम्तन सक्छ ।’

यस्तै इतर समूहका नेताले आफूहरुको त्यागको मूल्यांकन गर्न पार्टी नेतृत्वलाई भनेका छन् । नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियारले पार्टीभित्र त्यागको हरण भएको बताए ।

उनले भने ‘सभापति देउवाले अहिले सम्म कहाँ त्याग गर्नुभएको छ । उहाँले पार्टीका लागि त्याग गर्न सक्दै सक्नुहुन्न । आफु सधै सत्तामा रहिरहने अनि अरुलाई त्यागको पाठ पढाउन मिल्छ ?’

कोइराला समूहका नेता धर्म परियारले राजाको विरोध गर्नेहरू नै आज पार्टीका राजा बनेको आरोप लगाए । नेता पत्निलाई समानुपातिक सूचीमा राखेकोमा पनि आक्रोश व्यक्त गरे ।

नेतृत्वले नसुने कार्यकर्ता बाटो लाग्छन्

नेता गुरुराज घिमिरेले पार्टीभित्र सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनमा टिकट वितरण हुनुपर्ने बताए। ’पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण गर्नुपर्छ, न्यायोचित टिकट वितरण नभए विद्रोह गर्न बाध्य हुन्छौँ’, घिमिरेले भने।

उनले एकजनाले मात्रै गुनासो गरे पनि त्यसको सम्बोधन गर्नुपर्ने बताए । घिमिरेले भने, ‘हामीले बुझेको प्रजातन्त्रमा एउटा पनि कार्यकर्ताले गुनासो गर्‍यो भने पार्टी नेतृत्वले सुन्नुपर्छ । अहिले देशभरिका साथीले गुनासो गरिरहेका छन् कसैले सुन्ने तदारुकता देखाएको छैन यो कस्तो प्रजातन्त्र हो ?’

भागबन्डाको राजनीति पनि देउवाले नै सुरु गरेको उनको आरोप  छ । ‘यो सूत्रका परिकल्पनाकार, यसको प्रतिपादक सबै हाम्रो सभापति ज्यु हो । हिजो गिरिजा बाबुसँग पनि उहाँले भाग खोज्नुभयो सुशीलदासँग पनि उहाँले छोड्नुभएन’ घिमिरेले भने, ‘आज आफूले दिनुपर्दा लुक्न मिल्दैन । पार्टी एकताका लागि सबैलाई न्याय गर्न जरुरी छ । यदि, अन्याय भयो भने कार्यकर्ताले आफैँ बाटो खोज्छन् ।’

योग्य व्यक्तिले टिकट पाउँछ

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले भने गठबन्धनमा सहमति भएपछि मात्रै पार्टीभित्र छलफल गर्ने बताएका छन् । उनले सहमतिकै आधारमा पार्टीले उम्मेदवार छनोट गर्ने बताए ।

नेपाल भ्युजसँग कुरा गर्दै उनले समानुपातिकको बन्दसूचीमा भएका त्रुटी सच्याएर अघि बढ्ने समेत बताए । प्रवक्ता महतले भने, ‘पार्टीका सबै नेताको सल्लाहमा नै उम्मेदवारको टुङ्गो लगाएका हौँ तर पनि केही तलमाथि परेको भए सच्चिन्छ ।’

योग्य र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउने भन्दै उनले थपे ‘यो गुट त्यो गुट भन्दा पनि जो सक्षम र योग्य छ जनतामाझ को भिजेको छ उसैलाई पार्टीले उम्मेदवार बनाउँछ ।’

संसदीय समितिमा देउवाको बहुमत

नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय संसदीय समितिले उम्मेदवार चयन गर्छ । २५ सदस्यीय समितिमा पदाधिकारी पदेन सदस्य हुने व्यवस्था छ ।

पदाधिकारी बाहेक अहिले रामचन्द्र पौडेल मात्र समितिमा छन् । पदाधिकारी मध्ये कोषाध्यक्ष मनोनीत गर्नै बाँकी छ ।
विधानअनुसार संसदीय समितिले सकेसम्म सर्वसम्मत, नभए बहुमतले निर्णय गरेर उम्मेदवार छान्न सक्ने व्यवस्था छ । हाल रहेको १४ सदस्यीय समितिमा कोइराला समूहबाट चारजना मात्रै छन् ।

विधान अनुसार महाधिवेशन भएको एक महिनाभित्र समिति गठन गरिसक्नुपर्ने थियो, तर सभापति शेरबहादुर देउवाले तदारुकता नदेखाउँदा १० महिनासम्म पनि समिति अपूरै छ । संसदीय समितिमा समेत बलियो भएकाले देउवाले कोइराला समूहलाई बेवास्ता गरेको कतिपय नेताले बताउने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved