दशैंमा मधेस: भूत मेलादेखि मन्दिरमा महिला प्रवेश नदिनेसम्मका अन्धविश्वास

वर्षौदेखि दुष्टात्माले सताएकालाई मुक्ति दिलाउन भन्दै दशैंका बेला भूतमेलाको आयोजना गरिन्छ। महोत्तरीको सोनामाई मन्दिर प्राङ्गणमा कतिपय बिरामीले आफै हाँस्ने, खेल्ने, वक्ने लगायतका गतिविधी देखाउँछन् । उनीहरू त्यहाँबाट निको भई फर्कने अन्धविश्वास छ।

दशैंमा मधेस: भूत मेलादेखि मन्दिरमा महिला प्रवेश नदिनेसम्मका अन्धविश्वास

जनकपुरधाम। मधेस प्रदेशमा दशैमा केही अनौठा कु प्रचलन हेर्न पाइन्छ। कथित जादु र टुनामुना त झन् दशैंका बेला अत्यधिक देख्न पाईन्छ । सहरी क्षेत्रमा क्रमिकरूपमा यस्ता काम हट्दै गएका छन्। तर, ग्रामीण भेगमा अझृ जादु टुना जस्ता क्रियाकलापहरू कायमै छन्।

२१औं शताब्दीमा आइपुग्दासमेत हाम्रो समाजमा यस्तो अन्धविश्वासले जरा गाडेको छ। मधेस प्रदेशको ग्रामीण क्षेत्रमा दशैं अवधिभरि गरिने केही अनौठा परम्परा यस्ता छन्।

१) कोखिया गुहायर गर्नु – रात्रीको समयमा निःसन्तानको कुलदेवतालाई गुहारेर गरिने क्षमापूजालाई कोखिया गुहायर भनिन्छ। सन्तान प्राप्तिको निम्ति धामी झाँक्रीले घरमै गई यो पूजा लगाउँछन् । सन्तान पाउने आशमा दशैं अवधिभरि निःसन्तान दम्पती यस्ता पूजामा व्यस्त हुन्छन् ।

२) डिगडिगीया पिट्नु- दशैंको घटस्थापनादेखि दशमी तिथिसम्म माता भवानीलाई स्वागत गर्न साँझको समयमा ढोल पिट्नुलाई डिगडिगिया पिट्नु भनिन्छ। खासगरी, चमार समुदायले टोलटोलमा गएर यस्ता कार्य गरेको पाइन्छ। यो रिवाज अहिले ग्रामीण क्षेत्रमा कायमै छ।

३) बच्चालाई हिंङ्ग/लसुन लगाउनु – दशैंको अवधिमा बालबालिकामाथि कसैको कुदृष्टि नपरोस् भनेर हिंङ्ग/लसुन लगाउने गरिन्छ। यसो गर्दा नजर नलाग्नुको साथै देवीमाताले कृपा राख्ने लोकविश्वास छ। पछिल्लो समय शहरीक्षेत्रमा भने यो चलन हट्दै गएको छ ।

४) मूलगेटको छेउमा कालो रंगको चिन्ह लगाउनु – घरपरिवार र बालबच्चालाई बचाउन भन्दै यसो गरेको पाइन्छ। गृहणीले घटनास्थापनाको दिन लगाइएको कालो रंगको चिह्न नवमी तिथिका दिन एकाबिहानै हटाउने गरिन्छ। नवमी तिथिका दिन देवी दुर्गा घर-घरमा जाने भएकाले उनलाई स्वागतका निम्ति कालो रंगको निशाना हटाएको बताइन्छ ।

५) तान्त्रिक विधि सिद्ध गर्नु – सिकारु धामी-झाँक्रीले दशैंको अवधिभरि गहवर (पूजाकोठा) भित्र परीक्षा दिने गर्दछन्। वर्षभरि सिकेका मन्त्रको परिक्षण यसै समयमा गर्ने गरिन्छ। भनिन्छ, यस कार्यले देवी दुर्गा प्रसन्न भई आशीर्वाद दिन्छन्।

६) झिझिया नृत्य गर्नु – घरपरिवार र गाउँलाई कुदृष्टिबाट बचाउन भन्दै महिलाहरू दशैं अवधिभरि झिझिया नृत्य गर्ने गर्छन्। गाउँको ब्रह्मस्थान मन्दिरको प्राङ्गणमा रातिको समयमा समूहगत रुपमा गीत गाई नृत्य गरिन्छ। यसो गर्नाले कुदृष्टि हट्नुको साथै ब्रह् बाबाले गाउँको रक्षा गर्ने अन्धविश्वास छ ।

७) भूतमेला – वर्षौदेखि दुष्टात्माले सताएकालाई मुक्ति दिलाउन भन्दै दशैंका बेला भूतमेलाको आयोजना गरिन्छ। महोत्तरीको सोनामाई मन्दिर प्राङ्गणमा कतिपय बिरामीले आफै हाँस्ने, खेल्ने, वक्ने लगायतका गतिविधी देखाउँछन् ।

उनीहरू त्यहाँबाट निको भई फर्कने अन्धविश्वास छ। सोनामाई मन्दिरमा दसैंको पञ्चमी तिथिदेखि सप्तमी तिथिसम्म भूत मेला लाग्ने गदर्छ। जहाँ हजारौको संख्यामा मानिस सहभागी हुन्छन् ।

८) खोइछ भर्नु – निःसन्तानले पहिलो सन्तान पाएको खुशीमा हरेक वर्ष देवी दुर्गालाई श्रृंगार, पूजा सामग्री राखि खोइछ भर्ने चलन छ। सन्तानको दीर्घायु एवं घरपरिवालको कल्याणका लागि भन्दै यस्ता गतिविधि गर्दै आएको पाइन्छ। देवी दुर्गाका प्रतिमा रहेको स्थानमा एकसाथ शुभसाइत पारि खोइछा भर्ने गरिन्छ।

९) मन्दिरमा महिला प्रवेश निषेध – जनकपुरको प्रसिद्ध राजदेवी मन्दिरमा दशैंको अवधिभरि महिलालाई प्रवेशमा  निषेध गरिन्छ। परापूर्वकालमा पूजा गर्न गएकी महिला एकाएक वेपता भएपछि मन्दिरभित्र छिर्न निषेध गरिएको अन्धविश्वासका आधारमा यसो गरिएको हो । मन्दिरभित्र महिला प्रवेश गरे अनिष्ट हुने  पुरोहितले दाबी गर्छन् ।

१०) दशद्वार खुल्ला -बडादशैको दशौ दिनलाई शुभसाइत मानिन्छ। यस दिनलाई स्थानीय भाषामा दशद्वारा खुल्ला भएको दिनको रूपमा लिने गरिन्छ। यसदिन कुनै पनि कार्य गर्नका निम्ति साइत हेर्न नपर्ने समाजिक मान्यता रहेको छ।

विश्व २१औं शताब्दीमा प्रवेश गरेता पनि तराई मधेसमा भने यस्ता पुराना रितिरिवाज कायमै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved