ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणमा पर्याप्त बजेट विनियोजन भएको छः पर्यटन मन्त्री महतो

नेपालभ्युज

ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणमा पर्याप्त बजेट विनियोजन भएको छः पर्यटन मन्त्री महतो

जनकपुरधाम । मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले मधेश प्रदेश सरकारले प्रदेशको ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणमा पर्याप्त बजेट विनियोजन गरेको बताएका छन् । उनले कोरोनाका कारण शिथिल बनेको पर्यटन क्षेत्रको विकासका लागि सरकारले पर्याप्त लगानी गरेको बताएका हुन् ।

४३ औँ विश्व पर्यटन दिवसको अवसरमा जनकपुरधामको जनक चोकमा आयोजना गरिएको प्रभातफेरि कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेश प्रदेशको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाको जानकी मन्दिर, महोत्तरीको रौजाबजार, सिरहाको सलहेश फूलबारी, सप्तरीको छिन्नमस्ता, बाराको गढीमाई तथा पर्सा जिल्लाको गहवा स्थानको विकासमा पर्याप्त मात्रामा बजेट विनियोजन गरेको जानकारी दिए ।

पर्यटनमन्त्री महतोले पर्यटन क्षेत्रको विकास विना मुलुक तथा प्रदेशको विकास कठिन भएकाले प्रदेश सरकारले पर्यटनलाई उच्च प्राथमिकतामा राखेर विभिन्न जिल्लाहरूमा पर्यटन कार्यालय स्थापना गरेको बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जनकपुरधाममा आउने धार्मिक पर्यटकलाई बढोत्तरी दिन १५ दिने मिथिला परिक्रमा मार्गमा पर्ने ११ वटा विश्राम स्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको बताए । उनले यसका लागि ११ वटा पालिकाहरूसँग सहकार्यसहित उपमहानगरपालिकाले अगाडी बढाएको बताए ।

जनकपुरधामको रेल्वे स्टेसनबाट शुरु भएको प्रभातफेरि नगरको विभिन्न भागहरूको परिक्रमा गर्दै जनक चोकमा पुगेर सम्पन्न भएको थियो ।

मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, होटल व्यवसायी संघ, जनकपुरधाम उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले प्लेकार्ड, ब्यानर तथा झाँकी सहित नगरको परिक्रमा गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका अतिरिक्त विद्यालयका विद्यार्थीहरू, नागरिक समाज, होटल व्यवसायी तथा सामाजिक क्षेत्रका अगुवाहरूको सहभागिता रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved