९ औँ राष्ट्रिय खेलकुदको तयारी : बजेट कम दिइएको संघहरुको गुनासो, समन्वय गर्न मन्त्रीको निर्देशन

राखेपले संघका प्रतिनिधिलाई बसोवासबापत दैनिक भत्ताका रूपमा २ हजार रुपैयाँ दिनेछ । प्रतियोगिता स्थल र होटलबीचको गाडीभाडाको खर्च भने संघले नै हाल्नुपर्नेछ । अधिकांश संघले रकम अपुग भएको बताएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले २ लाख रुपैयाँले १ खेल मात्रै आयोजना गर्न सकिने बताए ।

नेपालभ्युज

९ औँ राष्ट्रिय खेलकुदको तयारी : बजेट कम दिइएको संघहरुको गुनासो, समन्वय गर्न मन्त्रीको निर्देशन

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन करिब दुई साता मात्रै बाँकी रहँदा राखेपको विभिन्न सदस्य संघसँग समन्वय अभाव देखिएको छ ।

३६ खेल समावेश प्रतियोगितामा ७ प्रदेशका, ३ विभागीय र एनआरएनए गरी ११ टोली सहभागी हुँदैछन् । मंगलबार प्रतियोगिताको सचिवालयले तयारी र व्यवस्थापनबारे जानकारी गराउँदा विभिन्न गुनासो आएका छन् । भदौ १० गते सरकारले प्रतियोगिताका लगि ६० करोड बजेट छुट्याएको थियो । यसमा ३ करोड थपिने अनुमान राखेपको छ ।

तर, धेरै संघले बजेट अभाव भएको गुनासो गरेका छन् । राखेपले हरेक सङ्घलाई मात्र २ लाख रुपैयाँ बजेट छुट्याएपछि यस्तो गुनासो आएको हो । तर राखेपले थप सुविधा उपलब्ध नराउने स्पष्ट पारेको छ । स्टेसनरी, मसलन्द, टेन्ट, कुर्सी, अतिथि सत्कार, चुना, डोरी, रिङ्ग, साउण्ड सिस्टम जस्ता सामग्री संघले नै व्यवस्थापन गर्नुपर्ने राखेपको निर्णय छ । 

राखेपले संघका प्रतिनिधिलाई बसोवास बापत दैनिक भत्ताका रुपमा २ हजार रुपैयाँ दिनेछ । प्रतियोगिता स्थल र होटलबीचको गाडीभाडाको खर्च भने संघले नै हाल्नुपर्नेछ । अधिकांश संघले रकम अपुग भएको बताएका छन् । 

अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले २ लाख रुपैयाँले १ खेल मात्रै आयोजना गर्न सकिने बताए । ‘यो संकुचित बजेटमा फुटबल प्रतियोगिता गर्न सकिँदैन । २ लाख रुपैयाँको बजेटले एउटा खेल खेलाउनु नै मुस्किल हुन्छ । त्यसैले खेलको प्रकारअनुसार बजेट विनियोजन हुन आवश्यक देखिन्छ ।’ एन्फाका एक प्रतिनिधि भन्छन् ।

नेपाल तिरन्दाजी संघका प्रतिनिधिले भने राखेपले प्रतियोगिता छनोटको बजेट तथा अन्य खेल सामग्री नदिएको गुनासो गरेका छन् । ‘५ महिनाअघि आवश्यक सामग्रीको सूची राखेपलाई बुझाएका थियौँ ।  टार्गेट स्टाण्ड, टार्गेट बोर्ड आदि सामाग्रीको उपलब्ध बारे केही पनि जानकारी पाएका छैनौ ।’ संघका एक प्रतिनिधिले बताए ।

राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीले पनि तयारी व्यवस्थित नभएको र खेलाडी छनोट पनि विवादास्पद रूपमा सम्पन्न भएको गुनासो गरे । 

नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले खेलकुदलाई आउट डोर र इन डोरमा विभाजन गरी बजेट मिलाउन  सुझाव दिएका छन् ।  

नेपाल कब्बडी संघका अध्यक्ष विनोद प्रजापतिले अफिसियलको सङ्ख्या घट्दा समस्या हुने बताए । ‘हामीले छनोट खेलमा नै ३० जना निर्णायक प्रयोग गरेका थियौँ । जबकि प्रतियोगिताको लागि २९ निर्णायक मात्र राखिएको छ ।’ उनले भनेका छन् ।

नेपाल प्याराग्लाईडिङ संघले पनि वाकिटकी तथा वीन्ड चिटरको अनुरोधबारे राखेपबाट कुनै जानकारी नपाएको गुनासो गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भने सबै समस्या सुनेको र बजेटको अभाव नहुने आश्वासन दिएका छन् । ‘खेलकुद ऐन बनेपश्चातको यो पहिलो खेलकुद प्रतियोगिता हो । सबै संघले आफ्नो खेलाडीलाई नपुगेको सामग्रीबारे राखेपसँग सकारात्मक छलफल गर्नुस । हामीसँग बजेटको अभाव छैन ।’ मन्त्री गहतराजले भने ।

संघहरूको विवादका कारण खेलाडी सहभागी नहुने अवस्था आउन नहुने तर्फ पनि मन्त्रीले सजग गराएका छन् । प्रतियोगिता सम्पन्न गर्न सबै संघ एक भएर लाग्नुपर्ने मन्त्री गहतराजको आग्रह छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले सबै सुझावलाई व्यविस्थत रुपमा समाधान गर्ने प्रतिबद्धता जनाए । ‘तपाईंहरूको गुनासोलाई सूचीकृत गरेको छु । यस समस्याबारे सकारात्मक प्रक्रिया अपनाइनेछ ।’ सदस्य सचिव घिसिङले भने ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved