अन्तर्वार्ता

डेंगु तत्काल नियन्त्रण हुने संकेत देखिएन, दशैंमा बढी असर पार्न सक्छ : डा. निरज शर्मा

गाउँ-गाउँमा झनै फैलने खतरा छ । काठमाडौंबाट पुगेका संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ्य व्यक्तिलाई टोकेमा यसले संक्रमण फैलाउँछ । एउटा लामखुट्टेले आठ जनासम्मलाई संक्रमित गराउन सक्ने भएकाले जोखिम छ ।

नेपालभ्युज

डेंगु तत्काल नियन्त्रण हुने संकेत देखिएन, दशैंमा बढी असर पार्न सक्छ : डा. निरज शर्मा

काठमाडौं। डेंगु संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ । यो सिजनमा मात्रै अहिलेसम्म करिब २६ हजारमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मुस्ताङबाहेक सबै जिल्लामा संक्रमण पुगिसकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका मेडिकल अफिसर डा. निरज शर्माले काठमाडौंमा संक्रमित केही घटे पनि गाउँ-गाउँमा संक्रमण भयावह हुनसक्ने सम्भावना  देखिएको बताए ।

प्रस्तुत छ डा. शर्मासँग नेपाल भ्युजका लागि प्रकाश बस्यालले गरेको कुराकानी : 

डेंगुको फैलावट  कस्तो छ  ?

नेपालका लागि डेंगु नौलो होइन । केही वर्ष अघि पनि नेपालमा यसले महामारीको रूप लिएको थियो । तर, यो वर्ष भने इतिहासकै उच्च विन्दुमा पुगेको छ । हाम्रै आनिबानीले संक्रमण फैलिरहेको छ । अव्यवस्थित सहरीकरण र फोहरमैला व्यवस्थापन प्रभावकारी नहुँदा लामखुट्टे वृद्धि भइरहेको छ । पानि पर्ने मौसम छ लामखुट्टे पनि बढिरहेकाले डेंगु संक्रमण अझै बढ्न सक्ने देखिन्छ । 

अहिलेको अवस्था पनि जोखिमकै हो । हामीले डेंगु नियन्त्रणमा धेरै गर्न बाँकी छ । यसको नियन्त्रण नै नभएकाले यो अझै बढ्ने देखिन्छ ।

डेंगुजस्ता किटजन्य रोग हिमाली क्षेत्रमा पनि देखिन थाल्यो, यसको कारण के होला ?

पहिले तराई क्षेत्रमा किटजन्य रोगको प्रकोप बढी देखिन्थ्यो, तर अहिले मानिसको  मुभमेन्टले लामखुट्टे पनि एक ठाउँबाट अर्को ठाउँमा सरेको देखिन्छ । हिमाली क्षेत्रमा पुगेका लामखुट्टे पनि सोहीअनुसार विकसित भए । उनीहरू चिसो मौसममा पनि बाँच्न सक्ने भएका छन् । जसको परिणाम अहिले हामीले भोगिरहेका छौँ । अझ यसलाई जलवायु परिवर्तनको असर पनि भन्न मिल्छ ।

टेकु अस्पतालको इमर्जेन्सीमा दैनिक कति संक्रमित आउँछन् ?

 दैनिक एक सय ९० जनासम्म बिरामी हेरेको रेकर्ड छ । तर, पछिल्लो एक हप्ता भयो बिरामीको चाप अलि घटेको छ । अहिले दैनिक सरदर एक सय २०, कहिले एक सय ३० जना बिरामी आइरहनुभएको छ ।

अस्पतालमा बिरामी केही घटे भन्नुको अर्थ संक्रमण कम हुँदै गएको हो ?

अहिले नै संक्रमण घट्यो भन्नु उचित नहोला । हामीले काठमाडौंको मात्र कुरा गरिरहेका छौँ । त्यसो त अहिले दशैँ लागिसकेकाले हजारौं नागरिकले उपत्यका छाडिसक्नुभएको छ ।

काठमाडौंबाट बाहिरिने क्रम बढेकाले पनि अस्पतालमा चाप कम भएको होला । यहाँ कम भए पनि गाउँगाउँमा झनै फैलने खतरा छ । काठमाडौंबाट पुगेका संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ्य व्यक्तिलाई टोकेमा यसले संक्रमण फैलाउँछ ।

एउटा लामखुट्टेले आठ जनासम्मलाई संक्रमित गराउन सक्ने भएकाले जोखिम छ । धेरै जना बिरामी घरमै आराम गरेर बसिरहनुभएको छ । अलि धेरै नै समस्या भयो वा गाह्रो भयो भने मात्रै अस्पताल आउने भएकाले चाप केही कम देखिएको हुनसक्छ । 

बिरामीमा कस्तो लक्षण छ  ?

डेंगु लागेर हामीकहाँ आएका करिब ९५ प्रतिशत बिरामीमा उच्च ज्वरो देखिएको छ । घरमा सिटामोल खाँदा पनि ज्वरो नियन्त्रणमा आउन नसकेपछि उहाँहरू अस्पताल आउनुभएको रहेछ ।

यस्तै, टाउको दुख्ने , वाकवाकी हुने, वान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएको छ । हामीकहाँ आउने सामान्य लक्षण भएका बिरामीलाई औषधि दिएर पठाएका छाैँ । उहाँहरूलाई समस्या हुनासाथ खवर गर्न भनेका छौँ । यता शरीरमा पानीको मात्रा कम छ, रगत पनि आवश्यक छ भने भर्ना गरेर निगरानीमा उपचार गराइरहेका छौँ ।

डेंगु कति दिनमा निको भएको पाइएको छ ?

सामान्य लक्षण देखिएका बिरामीलाई तीन, चार घण्टा निगरानीमा राखेर पठाएका छौँ भने, जटिल समस्या भएका जसको शरीरमा पानी र रगतको मात्रा कम छ उहाँहरूको अवस्था हेरेर चार पाँच दिनमा डिस्चार्ज दिएका छौँ । अझ बढी जोखिममा रहेकालाई भने आईसीयू मा राखेर पनि उपचार गरिरहेका छौँ ।

तर कतिपय अवस्थामा डिस्चार्ज भएको सात आठ दिनपछि पनि निको नभएको भन्दे फेरी अस्पताल आउनुभएको छ । टाउको दुख्ने , वाकवाकी लाग्ने समस्या नहटेपछि उहाँहरू फेरिअस्पताल आइपुग्नुहुनछ । डेंगुको उपचार यही हो भन्ने पनि छैन हामीले जे लक्षण देखिन्छ सोही नुसार उपचार गरिरहेका छौँ । अहिसम्मको अवस्था हेर्दा सात देखि १० दिनमा निको भएको पाइएको छ ।

डेंगु नियन्त्रणका लागि के गर्नुपर्ला ?

डेंगु संक्रमण फैलिएको पनि धेरै नै भइसक्यो । यो हाम्रो लागि नयाँ भएन । यसको संक्रमण रोक्न स्थानीय, प्रादेशिक र संघीय सरकार मिलेर पहल गर्न जरुरी छ । यसको उत्तम उपाय भनेको लामखुट्टे नियन्त्रण नै हो । आम नागरिक पनि चनाखो हुनुपर्‍यो ।

घरमै बसेर पनि यसको उपचार गर्न सकिन्छ । त्यसका लागि स्थानीय तहले टोल-टोलमा स्क्रिनिङ गर्न सक्यो भने घरबाटै पनि चिकित्सकको परामर्षमा धेरै सुधार गर्न सकिन्छ । परीक्षणको सुविधा टोलमा पुग्यो भने अस्पतालमा चाप घट्छ जसले गर्दा आवश्यक हुनेले मात्रै सहजरूपमा सेवा लिन सक्छन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved