सहरका गल्ली र गाउँ टोलसम्मै डेङ्गुको प्रकोप, स्थानीय तहलाई चासो न चिन्ता

डेङ्गु रोग नियन्त्रण गर्न मच्छड मार्नुपर्ने, पानी जमेका ठाउँ पुर्नुपर्नेजस्ता सामान्य तर बजेट खर्च नहुने कुरामा भने जनप्रतिनिधिले खासै ध्यान दिएका छैनन्। 

नेपालभ्युज

सहरका गल्ली र गाउँ टोलसम्मै डेङ्गुको प्रकोप, स्थानीय तहलाई चासो न चिन्ता
सांकेतिक तश्वीर

काठमाडौं।  नेपालमा आइतवार एकै दिन एक हजार ५१ जनामा डेङ्गु संक्रमण पुष्टि भयो । अहिलेसम्म २५ हजार पाँच सय ४३ जनामा डेङ्गु संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो एकै दिन डेङ्गु संक्रमणका कारण तीन जनाको ज्यान गएको छ । यो सहित नेपालमा डेङ्गु संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । यो विवरण गएको साउन महिनापछिको हो ।

देशका ७६ जिल्लामा डेङ्गु पुष्टि भएकोमा सबैभन्दा धेरै काठमाडौंमा आठ हजार आठ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ६ हजार दुई सय १८ र भक्तपुरमा आठ सय ८१ गरी काठमण्डौं उपत्यकामा डेङ्गी संक्रमितको संख्या १२ हजार ३५ जना पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार दुई सय ७५ जनामा संक्रमण देखिएको छ । धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुलामा दुई सय जनाभन्दा बढीमा डेङ्गु पुष्टि भएको छ ।

वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन। स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणमा स्थानीय तहले खासै काम गर्न सकेका छैनन्। बरु यो रोग नियन्त्रणलाई बेवास्ता गरेका छन्।

अधिकांश स्थानीय तहका टोल–टोलमा डेङ्गुका बिरामी भेटिँदा स्थानीय तहले भने डेङ्गु नियन्त्रणमा हालसम्म कुनै अभियान चलाएका छैनन्। नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सरसफाइ अभियान मात्र स्थानीय तहले चलाउने हो भने पनि डेङ्गु नियन्त्रणमा धेरै मात्रामा कमी हुने तर त्यस्तो अभियान स्थानीय तहले चलाउन नसकेको बताए। उनले भने, “डेङ्गु नियन्त्रण गर्न व्यापक रूपमा अभियान सञ्चालन गर्ने कुरामा स्थानीय सरकार चुकेको कुरा सत्य हो।”

स्थानीय तहले डेङ्गु अध्ययन, अनुसन्धानको अभियान सञ्चालन गर्न नसके पनि सरसफाइ, सचेतना, रोकथाम र नियन्त्रणको अभियान सञ्चालन गर्न सक्छन्। त्यसबाट पनि डेङ्गु नियन्त्रण हुन्छ। सो काम हालसम्म कसैले पनि गर्न सकेका छैनन्। कोरोना सङ्क्रमणको समयमा भने स्थानीय सरकारले विदेशबाट आउनेको तथ्याङ्क अद्यावधि, नियमित स्वास्थ्य अवस्थाको अनुगमन, क्वारेन्टाइनको व्यवस्थापन, पालिका प्रवेश गर्नेको आधारभूत स्वास्थ्य जाँच र हेल्थ डेस्क सञ्चालन गरेका थिए।

त्यस्तै घरधुरी स्तरमा मास्क तथा स्यानिटाइजर वितरण, साबुनपानीले हात धुन सचेतना अभियान सञ्चालनमा निकै ठूलो रकम खर्च गरेका थिए। कतिपय स्थानीय तहले खाद्यान्न वितरणसमेत गरेका थिए। ती कुरामा करोडौँ रकम खर्च भएको थियो। डेङ्गु रोग नियन्त्रण गर्न मच्छड मार्नुपर्ने, पानी जमेका ठाउँ पुर्नुपर्नेजस्ता सामान्य तर बजेट खर्च नहुने कुरामा भने जनप्रतिनिधिले खासै ध्यान दिएका छैनन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि डेङ्गु फैलिनबाट रोकथाम र नियन्त्रणमा स्थानीय तहले प्रभावकारी काम गर्न नसकेको जनाएको छ। कोरोना रोकथाम र नियन्त्रणमा जसरी स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गरेका थिए, डेङ्गु नियन्त्रणमा त्यस्तो अभियान सञ्चालन गर्न नसक्दा अहिले डेङ्गुका सङ्क्रमण बढ्दै गएको मन्त्रालयको जनाएको छ।

डेङ्गुका बिरामी एक हजारभन्दा माथि पुग्न थालिसकेका छन्। डेङ्गु सबैभन्दा बढी काठमाडौँ उपत्यकामा फैलिएको छ। मन्त्रालयले स्थानीय तहको समन्वयमा घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँहरू “खोजौँ र नष्ट गरौँ” भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गरे पनि सो अभियानको प्रभावकारी कार्यान्वयन नभएको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ। – गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved