बालेनको बुल्डोजर र महानगरीय विकासको मोडेल

काठमाडौंका मेयरले गरेका कामको लेखाजोखा र सुझाव

बालेन आफूलाई ‘ब्रान्डिङ’ गर्न खप्पिस युवा हुन् भन्नेमा अब कुनै शंका रहेन । संसदीय लोकतन्त्रमा राजनीतिक संघर्ष, आक्रमण र प्रत्याक्रमणको आफ्नै व्यूह हुन्छ । यस्तो व्यूहमा धेरैको ‘राजनीतिक हत्या’ महाभारतका अभिमन्युको जस्तो हुन्छ । यस्तो जटिल चक्रव्यूहभित्र पनि बालेन यसरी उदाए कि पुराना दल र शक्तिकेन्द्रले यसको अनुमान नै गर्न सकेनन् । बालेन यसरी सबैका लागि ठूलो राजनीतिक चुनौति बन्ने पूर्वानुमान भएको भए उनलाई रोक्न सायद धेरै ठूला योजना र षडयन्त्र बुनिन सक्थे ।

बालेनको बुल्डोजर र महानगरीय विकासको मोडेल

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र धरानका मेयर हर्क साम्पाङ राईको चर्चा मूलधारका सञ्चार माध्यम र सामाजिक संजाल दुवैतिर यति धेरै छ कि त्यसले कयौं नीतिगत प्रश्नलाई ओझलमा पारेको छ ।

उनीहरू ‘जिम्मेवार राजनीतिकर्मी’ भन्दा ‘पोलिटिकल सेलिब्रेटी’ जस्ता देखिन थालेका छन्। स्मरणीय कुरा के छ भने बालेन र हर्क जननिर्वाचित मेयर हुन् । हिन्दी सिनेमा नायकका अनील कपुर हैनन् । सिनेमा होस् वा साहित्य, कलाका कुनै पनि विधामा सत्यको अतिरञ्जना स्वाभाविक मानिन्छ । तर, शासकीय सम्बन्ध र राजकीय प्रवन्धनको व्यवहारिक यथार्थ अतिरञ्जनातिर गयो भने त्यसले दुर्घटना निम्त्याउन सक्छ ।

मेयर उच्च महत्वको सार्वजनिक पद हो । संसारका कतिपय देशमा मेयरहरू भावी प्रधानमन्त्री वा राष्ट्रपतिका संभावित उम्मेद्वार मानिन्छन् । संघीय मुलुकमा मेयर, मुख्यमन्त्री वा गभर्नरबाट मुलुकको भबिष्यको नेतृत्व आकलन गरिन्छ ।  बेलायतका निवर्तमान प्रधानमन्त्री बोरिस जोन्सन् सन् २००८–२०१६ बीच लण्डनको मेयर थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री हुँदा कमाएको लोकप्रियताले प्रधानमन्त्री हुन सहज भएको हो । मोदीको ‘गुजरात मोडेल’ लाई ब्रान्डिङ गरेर भारतीय जनता पार्टीले सन् २०१४ मा पहिलो पटक बहुमत हासिल गरेको थियो ।

बालेन र हर्क मात्र हैन, देशका ७५३ वटै पालिका प्रमुखलाई भबिष्यमा देशको सम्भावित नेतृत्वकर्ता मान्न सकिन्छ । तर, बालेन र हर्कको यति धेरै चर्चा भइरहँदा बाँकी ७५१ पालिका प्रमुख के कसरी, कस्तो काम गर्दैछन् भन्ने तिर भने कसैको पनि ध्यान गएको छैन ।

चुनावी रणनीतिको ह्याङओभर

बालेन आफूलाई ‘ब्रान्डिङ’ गर्न खप्पिस युवा हुन् भन्नेमा अब कुनै शंका रहेन । संसदीय लोकतन्त्रमा राजनीतिक संघर्ष, आक्रमण र प्रत्याक्रमणको आफ्नै व्यूह हुन्छ । यस्तो व्यूहमा धेरैको ‘राजनीतिक हत्या’ महाभारतका अभिमन्युको जस्तो हुन पुग्छ ।

यस्तो जटिल चक्रव्यूहभित्र पनि बालेन यसरी उदाए कि पुराना दल र शक्तिकेन्द्रले यसको अनुमान नै गर्न सकेनन् । बालेन यसरी सबैका लागि ठूलो राजनीतिक चुनौति बन्दै उदाउने छन् भन्ने पूर्वानुमान भएको भए उनलाई रोक्न सायद धेरै ठूला योजना, षडयन्त्र बुनिन सक्थे । ठूलो आकारका राजनीतिक तानाबाना र रणनीति बन्न सक्थे ।

बालेनले आफूलाई यसरी जोगाएर प्रस्तुत गरे कि उनको चुनावी रणनीति आफैमा एक नयाँ प्रयोग थियो । डिजिटल मिडियामा एक सेलिब्रेटी व्यक्तिको इमेजबाहेक उनको उदयका आधार थिएनन् । तथाकथित मूलधारका राजनीतिक दल र नेताप्रतिको वितृष्णाले बालेनको उदयलाई ‘फेवर’ गर्‍यो भन्दा उपयुक्त होला ।

राजनीतिमा आफ्नो क्षमता भन्नु र विरोधीको असक्षमता भन्नु फरक कुरा हो । विरोधीको असक्षमताले फाइदा नहुने हैन, तर, राजनीतिमा लामो यात्रा गर्नु छ भने आफ्नै क्षमता पनि चाहिन्छ, विरोधीको असक्षमता सधैं उपयोगी भइरहँदैन ।तसर्थ, अब बालेन चुनावी रणनीतिको ह्याङओभरबाट बाहिर निस्केर एक जिम्मेवार पदाधिकारीको भूमिकामा प्रस्तुत हुन जरूरी छ ।

अब उनी विरोधीले पूर्वानुमान गर्नै नसक्ने कुनै ‘लुकेको व्यक्तित्व’ रहेनन् । बालेनले कुनै गल्ती गरे वा पार नलाग्ने खालका कुनै अतिरञ्जित कदम चाले भने त्यसको नोक्सानी पनि उनलाई नै हुने छ ।

कतिपय मान्छे त उनका गल्ती पर्खेर बसेका होलान । मौका पाए उनीहरूले छोड्ने छैनन् । एमालेले महेश बस्नेतमार्फत् त्यसको संकेत गरिरहेको छ । उनको मूल्यांकन अब उनका कामबाट हुन थाल्नेछ अथवा थालिसकेको छ ।

बालेन र बुल्डोजर

यतिखेर बालेन र बुल्डोजर एकअर्काको पर्यायजस्तो भएका छन्। बालेनले अनधिकृत संरचना भत्काउने कामलाई उच्च महत्व दिएका छन् । निसन्देह अनधिकृत संरचना भत्काइनुपर्दछ तर, यो प्रोपागण्डा गरिएजस्तो बिल्कुलै नयाँ कुरा भने हैन ।

२०५४ सालको स्थानीय चुनावपछि मेयर केशव स्थापितले पनि नभत्काएका हैनन् । स्थापितले माइतीघर मण्डालालाई नयाँ रूप दिएका थिए, त्यो बेला खुबै चर्चा र प्रसंशा भएको थियो । डा. बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा काठमाडौंका सडक विस्तारमा उल्लेखनीय योगदान गरेका छन् भन्ने सबैलाई थाहा छ ।

तर, भत्काइएका संरचना कै कारणले स्थापित र भट्टराईको राजनीतिक जीवनलाई सुरक्षित गर्न सकेको देखिन्न । पहिलो संविधानसभा निर्वाचनमा उखरपात मच्चाएको त्यतिबेलाको भट्टराईको दल माओवादी आज उपत्यकाभरि नै शून्यजस्तो भएको छ । त्यो बेला आफूले मेयर हुँदा गरेका काम नै यसपटक मेयर जित्नका लागि सहयोगी हुन्छन् भन्ने स्थापितको आशा अर्थहीन सावित भएको छ ।

तसर्थ, बालेनले आफूलाई ‘डोजरे मेयर’ का रूपमा मात्र सीमित गर्नु हुँदैन । ‘ध्वंसात्मक’ क्रियाकलापको स्मृति अभिलेख असाध्यै छोटो हुन्छ । मुख्य कुुरा त सिर्जना नै हो । कसैले के भत्कायो भन्दा पनि के नयाँ बनायो भन्ने कुरा झनै महत्वपूर्ण हुन्छ । बालेनले बनाएको वा बनाउन चाहेको काठमाडौंचाहिँ के हो ? त्यो अझै स्पष्ट छैन । यद्यपि यो पाटोको मूल्यांकन गर्ने बेला भइसकेको छैन ।

महानगरीय विकास मोडेलको प्रश्न

आधुनिक युगको राजधानी सहर, देशकै सबैभन्दा ठूलो र महत्वपूर्ण महानगर कस्तो हुनु पर्दछ ? यसको विकास प्रारूप कस्तो हुनु पर्दछ ? यो अहं विषय हो । काठमाडौं यतिधेरै बिग्रिसकेको छ, चाहेर पनि कसैले राम्ररी सुधार्न सक्दैन ।  महानगरीय विकासको रणनीति दीर्घकालिन प्रकृतिको हुनु पर्दछ ।

त्यसका लागि भौतिक र संरचनात्मक मात्र हैन, मानवीय जीवन दृष्टि र आचरणगत परिवर्तन समेत जरुरी हुन्छ । ‘बाग्मति सफाइ अभियान’ सुरुवात भएको दुई दशक भइसक्यो, खै सफाइ भएको ? बालेनले टुकुचा खोजेर निकाल्लान् ठीक छ । निकालेर के गर्ने ? बाग्मति, विष्णुमति, धोबी खोला र हनुमन्ते जस्तै खुल्ला र फोहोर बनाएर राख्ने ?

संसारमा धेरै त्यस्ता सहर छन, जसको बीचबीचबाट अंजुलीले उगाएर पानी पिउँ जस्तो लाग्ने सफा नदी बग्दछन, बालेनले कुनै एक नदीबाट त्यो सपनालाई साकार पार्ने योजना बनाएका छन् त ? अझै स्पष्ट हुन सकेको छैन ।

सहर धनीको मात्रै हैन

कुनै बेला यस्तो सोच थियो– सहर धनी र शक्तिशालीहरूको मात्रै हो । महंगो जमिन किनेर ठूला पक्का घर बनाउन सक्नेहरू सहरमा बस्ने हुन । गरिब र भूमिहीन गाउँमा बस्नु पर्छ । सहर त गरिबहरू घुम्न, डुल्ल, हेर्न आउने ठाउँ मात्रै हो ।
आज यो सोच संसारभरि कहिँ बाँकी छैन ।

अर्थतन्त्र र वातावरणीय चक्रले स्थिति उल्टो हुँदै गएको छ । सहरमा कोचिएर, निसासिएर बस्नु बाँच्नु अब धनीहरूका लागि गौरव वा शान भन्दा बाध्यताको विषय जस्तो भइसक्यो । आज गाउँमा भन्दा सहरमा गरिब र भूमिहीनको संख्या धेरै भइसकेको छ। त्यसको मुख्य कारण भनेको सेवासुविधामाथिको पहुँच र रोजगार नै हो । गाउँमा नभेटिने भबिष्य र सपना खोज्न मान्छे सहर आउने हुन् । तसर्थ, सहरको व्यवस्थापन गर्दा– धनी र गरिबका साझा विषय के हुन र फरक सरोकार के हुन भनेर महानगरले सोच्नै पर्दछ ।

नेपालको ग्रामिण अर्थतन्त्रमा यतिखेर कुनै गति, सम्भावना र भविष्य बाँकी छैन । मानिस या त सहर पस्ने हुन या विदेश जाने हुन । गाउँकै मान्छेलाई रोक्ने हो भने बिल्कुलै फरक खालको विकास रणनीति र अर्थतन्त्रको ढाँचा चाहिन्छ । जो, अहिलेसम्म बनेको छैन ।अहिलेसम्मको विकास रणनीति र अर्थतन्त्रको ढाँचाले मान्छेलाई गाउँबाट सहर तिरै खेद्ने हो । सहरले मान्छेलाई गाउँ लखेट्न थाल्यो भने देशले त्यसको भिन्नै मूल्य चुक्ता गर्नुपर्नेछ ।

‘स्ट्रिट’ व्यवसायको कुरा

बालेनले सडक पेटीमा हुने गन्जागोलपूर्ण व्यवसाय रोक्न खोज्दैछन, त्यो नराम्रो हैन । अनि बिल्कुलै नयाँ काम पनि हैन । २०४६ सालपछि यसरी नगर प्रहरीले मान्छे लखेटेको, सडक व्यापारीका सामान खोसेको दृष्य बारम्बार देखिएका हुन्, तर, त्यो दीर्घकालीन प्रवृति किन बनेन ? यसको विश्लेषण गर्न जरुरी छ ।

सडक व्यवसायसँग सस्तो अर्थतन्त्र जोडिएको हुन्छ । भारतको राजधानी सहर नयाँ दिल्लीमा सडक पेटीमा बेचिने २० रुपैयाँको एक बोहोता भात खाएर छाक टार्ने मजदुर लाखौं हुन्छन् । होटल वा रेस्टुँरामा जाँदा त्यति नै भातका लागि १० गुणा बढी २०० रूपैयाँ तिर्नुपर्ने हुन्छ । मजदुर र निम्न आय वर्गले त्यो धान्न सक्दैनन् ।

सड्कमा ५०० रूपैयाँमा किन्न सकिने सर्ट, पैन्ट वा ज्याकेट ठूला पसलमा गएर किन्दा २००० सम्म पर्न सक्छ । निम्न आय वर्गको आर्थिक जीवनमा यसले ठूलो असर पर्छ । तसर्थ, सडक व्यवसाय पूरै समाप्त गर्ने हैन, यसलाई आम रूपमा जताततै हुन नदिने तर, अलिक फराकिला सडक र पार्कको छेउछाउ निश्चित समय तोकेर हुन दिने हो भने त्यसले कसैको नराम्रो गर्दैन । २ घण्टा मै साना व्यापारीले दिनभरिको व्यापार गर्न सक्दछन् । बाँकी श्रम उनीहरूले अन्यत्र लगाएर थप आय गर्न सक्छन्।

सार्वजनिक शिक्षा सुधारको प्रतिबद्धता 

बालेनको चुनावी प्रतिबद्धतामा २ विषय बढी महत्वपूर्ण थिए । सम्पदा संरक्षण र सार्वजनिक शिक्षा सुधार । यी दुवै सवाल बालेनले ठीक उठाएका हुन् । तर, सम्पदा संरक्षण एक दीर्घकालिन र समन्वयात्मक बिषय हो । महानगरभित्रका सरकारी स्कुललाई नयाँ जीवन दिन भने बालेनलाई कसैले रोक्न सक्दैन ।

भारतको नयाँ दिल्लीमा ‘केजरीवाल क्रान्ति’ को सबैभन्दा बलियो आधार सार्वजनिक शिक्षा नै हो । स्कुलहरूको भौतिक पूर्वाधार, सरसफाई र शैक्षिक गुणस्तरमा बद्लाव ल्याउन सके त्यो काठमाडौंमा ‘बालेन क्रान्ति’ को सबैभन्दा बलियो आधार हुनेछ ।

यससम्बन्धी प्रगति विवरण महानगरपालिकाले समय समयमा सार्वजनिक गरिरहनु राम्रो हुन्छ । बालेनले अब यसतिर पाईला अघि बढाउन ढिला गर्नुहुँदैन । जसले लाखौं बालबालिकाको भविष्यमा कायापलट गर्न सक्छ ।

बालेनलाई केही सुझाव 

मेयरमा निर्वाचित भएपछि बालेनले नेता, थुप्रै विज्ञ र पूर्व प्रशासकसँग सल्लाह लिएका खबर सार्वजनिक भएका थियो । सम्भवत त्यो बेला धेरैले उनलाई दिएको एउटा महत्वपुर्ण सुझाव नेपालमा रहेका कानूनी र न्यायायिक अड्चनको पाटो थियो । त्यतिबेला बालेनले यसलाई सामान्य रुपमा लिएका थिए ।

तर अहिले उनको स्प्रिटमा यहि विषय नै मुख्य बनेर आएको छ । बल्ल बालेनलाई लागेको हुनुपर्छ यो विषय सामान्य थिएन । टुकुचा उत्खनन् होस वा अनधिकृत संरचना भत्काउने मामिला होस न्यायालय चुप लागेर बस्दैन भन्ने देखिइसकेको छ । त्यसैले बालेनले आगामी दिनमा कुनै ‘एक्सन’मा जानु अघि यि विषय पनि ख्याल राख्नुपर्नेछ ।

अपवादलाई छाडेर अहिलेसम्मका बालेनका काममा प्रश्न उठाउनुपर्ने देखिदैन । तर अहिलेसम्म उनले जे गरिरहेका छन् त्यो एउटा पाटो मात्रै हो । काठमाडौं महानगरलाई देख्नलायक सहर बनाउने उनको सोच पक्कै छ । त्यसका लागि भने उनले धेरै विचार गरेर योजनावद्ध रुपमा पाइला चाल्नुपर्ने देखिन्छ ।

उदाहरणका लागि बागमती, विष्णुमति जस्ता नदी पनि अहिले अतिक्रमणमा परेका छन् । अतिक्रमण हटाएर ति नदिहरुमा स्वच्छ पानी बगाउन ठुलो योजना आवस्यक छ । टुकुचा पनि धेरै ठाउँमा अतिक्रमणमा परेको पुष्टि नै भइसकेको छ । संघीय सरकारसँग पनि समन्वय गरेर बालेनले यी काम अघि बढाउन सक्छन् ।

शिक्षा, स्वास्थ्य जस्ता विषय महानगरका बासिन्दाका लागि महत्वपुर्ण छन् । शिक्षाको बारेमा माथि नै चर्चा भइसक्यो । स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तनको खाँचो देखिन्छ । डेंगी रोगले नै अहिले महानगरलाई अस्तव्यस्त बनाइसकेको छ । तर यस विषयमा न त संघीय सरकार जिम्मेवार देखिन्छ न त महानगरले नै कुनै ठोस कदम चालेको देखिन्छ ।

यी सबै अवयवहरुको समग्रतामा नै महानगरको विकास हुने हो । त्यसैले बालेनको नजर अब प्राथमिकताका आधारमा सबैतिर जान जरुरी छ र प्राथमिकता निर्धारण गर्दा यहाँका बासिन्दाका तत्कालका आवस्यकतालाई पनि ध्यान दिन सक्यो भने राम्रो हुनेछ ।

महानगरको समग्र विकासको खाका सार्वजनिक गरेर एक्सनमा जाँदा बालेनका लागि आगामी दिन सहज हुनेछन् ।

‘हिरोइज्म’ हैन, सुसंगत सोच र कार्यशैली

अहिलेको कार्यशैली र तरिका हेर्दा मेयर बालेनलाई ‘हिरोइज्म’ तिर लागेको आरोप लाग्न सक्छ । युवा उमेरमा त्यो अलिअलि आवश्यक पनि हुन्छ । कुनै आकांक्षा र हुटहुटी नभएको मानिसले केही गर्नै सक्दैन । बालेनमा त्यस्तो हुटहुटी देखिन्छ ।

तर कसैले आफूलाई ‘विधाता’, ‘उद्धारक’ वा ‘विशेष’ ठान्न थाल्यो भने त्यहीनेरबाट असन्तुलन र व्यक्तित्व विघटन सुरू हुन थाल्छ । संसारमा न कोही कसैको उद्धारक छ न विधाता । हरेक मान्छे निश्चित समयका उपज हुन् । भलै, निक्कै प्रतिभाशाली किन नहुन् ।

अहिलेसम्मको गतिविधिबाट बालेन एक आकर्षक र प्रतिभाशाली व्यक्तित्व नै लाग्दछन् । तर, नलुकाई भन्दा उनमा हिरोइज्मको भावना पनि प्रष्टै देखिन्छ, त्यसले ल्याउन सक्ने नकारात्मक पक्षबारे भने उनी होसियार हुनै पर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved