मधेसमा एमाले प्रवेशको होड : जनलहर कि ‘खाली ठाउँ भर’ ?

मधेस केन्द्रित दल छाडेर कैयौं नेता एमालेमा प्रवेश गरिरहँदा चुनावी परिणाम प्रभावित होला ?

गत चुनावसम्म मधेसको मुड एमाले विरोधी थियो । तेस्रो मधेश आन्दोलन र भारतीय नाकाबन्दीको पृष्ठभूमिमा आमनिर्वाचन–२०७४ भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली मधेस विरोधी नेताका रूपमा चित्रित थिए । तर, स्थिति अहिले त्यस्तो छैन । मधेसमा ओलीविरोधी मुड बद्लिँदै गएको देखिन्छ । 

मधेसमा एमाले प्रवेशको होड : जनलहर कि ‘खाली ठाउँ भर’ ?

शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनुषाको तिनकौरिया पुगेर लोसपाका निवर्तमान सांसद उमाशंकर अरगरियालाई एमाले प्रवेश गराए । अरगरियाले गत आमचुनावमा धनुषा–२ बाट तत्कालीन संघीय समाजवादी फोरमको टिकटमा प्रतिनिधिसभा सदस्यमा जितेका थिए ।

संघीय समाजवादी फोरम, समाजवादी पार्टी, जनता समाजवादी पार्टी हुँदा उनी लोसपामा पुगेका थिए । ओली सरकारको अन्तिम चरणमा उनी १८ दिनको छोटो कार्यकालका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीसमेत भएका थिए ।

‘मधेसवादी दल’ कै निवर्तमान संसद् मधेस आन्दोलन विरोधी शक्तिको विम्ब बनेको नेकपा (एमाले) प्रवेश गर्न थालेपछि मधेसको राजनीतिमा नयाँ बहस सुरु  भएको छ । मधेसको मुड अब बद्लिएको हो ? भन्ने प्रश्न एकातिर छ भने अर्कोतिर ‘मधेस–केन्द्रित’ दलकै नेता, कार्यकर्ताको छनोटमा एमाले किन परेको छ भन्ने जिज्ञासा उत्पन्न भएको छ ।

मधेस आन्दोलन र मधेस केन्द्रित दलबाट आएका जनप्रतिनिधि एमाले प्रवेशको क्रम गत स्थानीय चुनाव अघि नै सुरु भएको थियो । वीरगञ्ज महानगरपालिकाका तत्कालीन मेयर विजय सरावगी निकै ठूलो होहल्ला र तामझामका साथ एमाले प्रवेश गरेका थिए ।

विश्लेषणको तेस्रो पाटो, यस्तो पार्टी प्रवेशले मधेसको भावी राजनीति र आगामी मंसिर ४ गतेको निर्वाचन परिणामलाई के कति प्रभावित गर्ला भन्ने हो ।

मधेस आन्दोलन र मधेस केन्द्रित दलबाट आएका जनप्रतिनिधि एमाले प्रवेशको क्रम गत स्थानीय चुनावअघि नै सुरु भएको थियो । वीरगञ्ज महानगरपालिकाका तत्कालीन मेयर विजय सरावगी निकै ठूलो होहल्ला र तामझामका साथ एमाले प्रवेश गरेका थिए । उनी तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित थिए । वीरगञ्जकै धनाढ्यमध्ये एक र बहालवाला मेयर सरावागी प्रवेश गर्दा एमालले निकै ठूलो अपेक्षा गरेको थियो ।

तर, निर्वाचन परिणाम भने एमालेले सोचेजस्तो आएन । महानगरपालिकोको मेयरमा जसपाका उम्मेद्वार राजेशमान सिंह दोब्बर बढी मतले विजयी भए । सिंहले ४६,२१५ मत ल्याउँदा सरावगीले २३,६७१ मत मात्र प्राप्त गरे । ३२ वडा रहेको  महानगरपालिकामा एमालेले ८ वटा मात्रै जित्न सक्यो।

अरगरिया एमाले प्रवेश गर्ने पहिलो निवर्तमान सांसद भने हैनन्। जसपाका रुही नाज र अमृता अग्रहरी केही दिन अघि एमाले प्रवेश गरेका थिए । यी दुवै समानुपातिक सांसद थिए । पर्साका प्रत्यक्ष तर्फबाट मधेस प्रदेशसभामा निर्वाचित प्रह्लाद गिरी गोस्वामी पनि एमाले प्रवेश गरेका छन्। त्यसैगरी, मधेस प्रदेशसभाका अञ्जु यादव र डा. रिना यादव पनि एमाले प्रवेश गरेका छन्।

नेतै नेताको गृहप्रदेश : नेतालाई नै ठेस 

नेपालको राजनीतिमा मधे;को विशिष्ठ महत्व छ । देशमा संघीयता, समानुपातिकता र समावेशीतालाई स्थापित गर्ने मधेस आन्दोलन यहीबाट उठेको थियो । अहिलेसम्म प्रदेशको पहिचान आधारित नामाकरण गर्ने एक मात्र प्रदेश मधेस नै भएको छ ।

मधेस भूगोलमा सबैभन्दा सानो र जनसंख्यामा सबैभन्दा ठूलो प्रदेश हो । यसको क्षेत्रफल ९६६१ वर्गकिमी मात्र छ तर २०७८ को जनगणनाअनुसार जनसंख्या ६१, २६, २२८ छ । साथै, मधेस एमाले बाहेक अन्य पार्टीका नेतै नेताको गृहप्रदेश हो । सबैभन्दा धेरै ठूला, शीर्ष वा ‘हेभीवेट’ उम्मेद्वारको निर्वाचन क्षेत्र भएको प्रदेश हो यो ।

नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र रौतहट–१ हो । काठमाडौं–२ मा बसोबास गर्दै आएका नेपाल कहिले रौतहट र कहिले काठमाडौंबाट चुनाव लड्दै आएका छन् । २०६४ को आम चुनावमा नेपाल रौतहट र काठमाडौं दुवै ठाउँबाट हारेका थिए । त्यसपछि उनी काठमाडौं– २ बाट चुनाव लड्दै आएका थिए । यसपटक भने उनी रौतहट जाने बताइएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी–२ हो । गत निर्वाचनमा उनी पहिलोपटक सप्तरीबाट विजयी भएका हुन । त्यसअघि, उनी प्रदेश–१ को मोरङ–५ र सुनसरी–४ बाट चुनाव लड्ने गरेका थिए । लोसपा अध्यक्ष महन्थ ठाकुरको गृह जिल्ला सर्लाही हो तर, गत निर्वाचनमा उनी महोत्तरी–३ बाट चुनाव लडेर जितेका थिए । ठाकुरको पुरानो निर्वाचन क्षेत्र भने सर्लाही–५ हो । यसपटक उनी महोत्तरी र सर्लाहीमध्ये कहाँबाट चुनाव लड्ने हुन् अहिलेसम्म  स्पष्ट भएको छैन ।

अन्य पार्टीका यतिका धेरै ठूला नेता भएको प्रदेशमा एमाले प्रवेशको क्रम बढ्दै जानुले मधेस राजनीतिको बद्लिएको मुडलाई संकेत गर्छ । मधेसमा एमालेका ठूला नेता भनेका रघुविर महासेठ मात्रै हुन्। तत्कालिन नेकपा विभाजन हुँदा एमालेतिर बसेका प्रभु शाहलाई एमालेले पूरक नेतृत्वका रूपमा स्थापित गर्न खोजिरहेको छ। 

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको गृहजिल्ला र निर्वाचन क्षेत्र जसपा अध्यक्ष उपेन्द्र यादवसँग जुध्छ । उनी सप्तरी–२ को महादेवाकै बासिन्दा हुन् । उपेन्द्र यादवको भने महादेवा जन्म गाउँ मात्रै हो, उनी सुनसरीको मधुवन हुँदै अहिले विराटनगरका स्थायी बासिन्दा हुन् ।

नेसपाका दुईमध्ये एक अध्यक्ष महेन्द्रराय यादवको निर्वाचन क्षेत्र सर्लाही– २ हो । यो निर्वाचन क्षेत्र लोसपा नेता राजेन्द्र महतोसँग जुध्छ । यही कारणले गर्दा गत निर्वाचनमा महतो धनुषाबाट चुनाव लडेका थिए । रमाइलो कुरा के छ भने महेन्द्र राय यादव जुनसुकै पार्टीबाट उठे पनि २०५१ यताका कुनै पनि चुुनावमा पराजित भएका छैनन् । पाँच दलीय गठबन्धनले टिकट दिएमा यसपटक उनी पहिलोपटक माओवादी केन्द्रको ‘हसियाँ हथौडा’ बाट चुनाव लड्नेछन् ।

लोसपाका अर्का नेता अनिलकुमार झाको निर्वाचन क्षेत्र मधेसमै पर्छ । उनको निर्वाचन क्षेत्र माधवकुमार नेपालसँग जुध्छ । लोसपाका अर्का प्रभावशाली नेता शरदसिंह भण्डारीको निर्वाचन क्षेत्र भने महोत्तरी–२ हो । माओवादीका मातृका यादव र गिरिराजमणि पोख्रेलको निर्वाचन क्षेत्र क्रमशः धनुषा र महोत्तरीमा पर्दछ । अन्य पार्टीका यतिका धेरै ठूला नेता भएको प्रदेशमा एमाले प्रवेशको क्रम बढ्दै जानुले मधेस राजनीतिको बद्लिएको मुडलाई संकेत गर्छ ।

मधेसमा एमालेका ठूला नेता भनेका रघुविर महासेठ मात्रै हुन । तत्कालिन नेकपा विभाजन हुँदा एमालेतिर बसेका प्रभु शाहलाई एमालेले पूरक नेतृत्वका रूपमा स्थापित गर्न खोजिरहेको छ।

यी कारणले बद्लियो मधेसको मुड 

गत चुनावसम्म मधेसको मुड एमाले विरोधी थियो । तेस्रो मधेस आन्दोलन र भारतीय नाकाबन्दीको पृष्ठभूमिमा आमनिर्वाचन–२०७४ भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली मधेसविरोधी नेताका रूपमा चित्रित थिए । उनले मधेस आन्दोलनको ऐक्यबद्धता साङ्ग्लोलाई ‘माखे साङ्ग्लो’ भनेकोमा चर्को आलोचना भएको थियो । मेची-महाकाली यात्राको क्रममा ओली सप्तरी पुग्दा हिंसात्मक झडपसमेत भएको थियो ।

मधेस राजनीतिका जानकारका अनुसार स्थिति अहिले त्यस्तो छैन । ओली बारम्बार जनकपुर जाने गरेका छन् । मधेसमा ओलीविरोधी मुड बद्लिँदै गएको देखिन्छ ।

यसो हुनुका मुख्य ४ कारण हुन सक्दछ ।

१– मधेस आन्दोलनको रापताप सेलाउँदै जानु, राजनीतिक कार्यकर्ताको ध्यान पद, टिकट, करिअर र सत्तातिर केन्द्रित हुनु ।

२– गत चुनावपछि मधेस केन्द्रित दलले संविधानप्रतिको असन्तुष्टिको पारो घटाउँदै लानु । संविधान संशोधन वा पुनर्लेखनको आवाज कमजोर हुन थाल्नु । उपेन्द्र यादव ओली सरकारमा सामेल हुनु र ठाकुर–महतो समूह असंवैधानिक संसद विघटनका समयमा ओली सरकारको बचाउमा लाग्नु । यी कारणबाट मधेसी जनतामा ती दल र नेताप्रतिको विश्वास कमजोर हुनु ।

३– मधेस केन्द्रित दलले ५ वर्ष चलाएको प्रदेश सरकारको काम सन्तोषजनक नहुनु । जसपा नेता मोहम्मद लालबाबु राउतको मुख्यमन्त्रीत्वमा ५ वर्ष चलेको सरकार मधेसी जनतमा खासै लोकप्रिय हुन सकेन । मधेस प्रदेशसभाका सांसदले प्रदेश सांसद कोषको रकम बाँड्दा ठेकेदार र उपभोक्ता समितिसँग १०–२५% सम्म खुलेआम कमिसन खाएको गुनासो जनतामा व्याप्त छ ।

४– गत चुनावमा मधेस केन्द्रित दलको गठबन्धन थियो । त्यतिखेरका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम मिलेर चुनाव लडेका थिए । तर, अहिले यी जसपा र लोसपा भएका छन् । यी दल फरक-फरक धारमा छन् ।
जसपा पाँच दलीय गठबन्धनमा छ । लोसपा एमालेसँग गठबन्धन बनाउने प्रयत्नमा छ । यस बीच यी दुवै दलमा व्यापक टुटफुट भएको छ । यताका कार्यकर्ता उता, उताका कार्यकर्ता यता पुगेका छन्।

समग्रमा भन्दा मधेस केन्द्रित दलप्रति वितृष्णा बढ्दै गएपछि त्यहाँको राजनीतिमा विकल्पहिनताको स्थित देखा पर्‍यो । र त्यसको धेरथोर फाइदा एमालेलाई हुन थालेको छ ।

किन विकल्प मानिएनन् सीके राउत ?

लोसपा र जसपाप्रतिको वितृष्णा बढ्दै गएका मधेसी जनताले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई विकल्पको रूपमा रोज्न सक्ने ठानिएको थियो । जनमत पार्टीले मधेसको वैकल्पिक शक्ति बन्ने प्रयत्न नगरेको हैन, अद्यपि प्रयास जारी छ । तर, पछिल्लो अवस्थामा राउतप्रति आकर्षण कमजोर देखिन्छ । यसो हुनका पनि निश्चित कारण छन्।

पहिलो कुरा त राउतको राजनीतिक निष्ठाबारे नै शंका उत्पन्न भएको छ । जुन नारा र माग बोकेर उनी राजनीतिमा आएका थिए, त्यसमा लामो टिक्न नसकेको हुँदा उनी अवसरवादी नै हुन् भन्ने परेको छ ।

दोस्रो, उनी प्रारम्भमा गान्धी र मण्डेलको जस्तो आर्दश राजनीतिको कुरा गर्थे । पछिल्लो चरणमा उनी लाठीमुङग्रे राजनीतितिर लागेका देखिन्छन । उनको दलले गर्ने गरेका कालो मोसो दल्ने, जुत्ताका माला लगाउने जस्ता क्रियाकलापले उनीप्रतिको बितृष्णा बढेको छ ।

तेस्रो, उनले मधेसमा ‘शुद्धता र पवित्रता’ को राजनीतिलाई महत्त्व देलान् भन्ने अपेक्षा थियो । त्यो बुझाई खण्डित भएको छ । छिटो ठूलो पार्टी हुने र चुनाव जित्ने होडमा उनले पनि उस्तै मानिसलाई पार्टीमा भित्र्याउने र टिकट दिने गर्न थालेका छन ।

कांग्रेस ‘लिमिटेड’ र ‘ओभर क्राउडेड 

मंसिर ४ को निर्वाचनमा टिकटका आकांक्षी नेपाली कांग्रेस प्रवेश गर्न चाहे पनि सहज थिएन । एकातिर कांग्रेस ५ दलीय गठबन्धनभित्र छ । अर्कोतिर गठबन्धनको घटक दल जसपासँग कांग्रेसले सबैभन्दा धेरै सिट संख्या बाँडफाँड गर्नु पर्ने प्रदेश यही हो ।

मधेसमा जम्मा ३२ संघीय र ६४ प्रदेशसभा सिट छन् । ३२ को आधा जति कम्तीमा १५ जसपा एक्लैले दाबी गरिरहेको छ । गठबन्धन दलभित्र प्रदेशको मुख्य दल जसपा भएको हुँदा यस्तो दाबी अस्वभाविक हैन । माओवादी केन्द्र र एकिकृत समाजवादीका मुख्य केही नेतालाई समेत केही सिट बाँड्नुपर्दा कांग्रेस संघीय निर्वाचन क्षेत्रको १० सिटमा मात्र सीमित हुन सक्दछ ।

काठमाडौं र अन्य प्रदेशमा वैकल्पिक, नयाँ र स्वतन्त्र भन्दै हल्ला गर्नेको प्रभाव मधेस प्रदेशमा भने शून्यप्राय: छ । 

हद से हद साझेदार दललाई सहमत गराउन सके कांग्रेसले १५ संघीय र ३० प्रदेशसभा सिट आफ्नो भागमा पार्न सक्नेछ । यसरी ‘लिमिटेड’ भएको कांग्रेसका लागि मानिस अगाडि देखि नै ‘ओभर क्राउडेड’ छन् । त्यसैले नवप्रवेशीले कांग्रेसलाई विकल्प मानेका छैनन्।

काठमाडौं र अन्य प्रदेशमा वैकल्पिक, नयाँ र स्वतन्त्र भन्दै हल्ला गर्नेको प्रभाव मधेस प्रदेशमा भने शून्यप्राय छ ।

एमाले प्रवेश : लहर कि ‘खाली ठाउँ भर’

एमालेका युवा नेता देवराज पोखरेल फेसबुकमा लेख्छन्, ‘ आज मधेसमा एमाले प्रवेशको लहर देखिएको छ ! तर, को प्रवेश गर्दैछन ? अधिकांश मधेसवादी दलका नेताहरू ! मधेसवादी दलमा नेता को छन् ? अधिकांश जमिन्दारहरू !

हो! लामो समय जमिन्दार र हरुवा/चरुवाबीचको सम्बन्ध नै मधेसको अर्थ-राजनीतिको मुल सवाल बन्यो ! स्वाभाविक ढंगले जमिन्दारहरू नै नेता भए ! उनीहरूले आफ्ना लागि गरे ! तर, अहिले जमिन्दार र हरुवा/ चरुवाबीचको सम्बन्ध मानसिक र भौतिकरूपमा भत्किँदै गएको छ।’
पोखरेल अगाडि थप्छन्,  ‘त्यहाँका शिक्षित र स्वाभिमानी युवाहरू हिजोका जमिनदारलाई नेता मान्न तयार छैनन् । बिस्तारै विकल्प खोज्दैछन् ! जसका कारण लामो समयदेखि कब्जा जमाएका भनिएका नेताहरू कमजोर हुदैछन र विकल्प खोज्दैछन्। मधेसले अहिले शिक्षित र युवा खोजेको छ । तर, हामी हिजोका डेट एक्स्पाएर नेताहरू भित्र्याएर टिकट बाड्दै छौं।यो घातक हुनेछ । यसले १/२ सिट ज्यादा जितिएला तर, मधेसमा संगठन बन्ने छैन।त्यसैले १० जना डेट एक्स्पाएर नेता भित्राउन भन्दा २ जना शिक्षित र स्वाभिमानी युवा भित्र्याऊ ! मधेसमा एमालेको भविष्य उज्ज्वल हुनेछ।’
तीन-तीन पटकको आन्दोलनपछि एमाले मधेसमा निकै कमजोर भएको थियो । तर, उसको पुरानो इतिहास, विरासत र संगठनको अस्थिपञ्जर भने छँदै थियो । मधेस केन्द्रित दल र अन्यत्रबाट भएको प्रवेशले एमाले संगठनको अस्थिपञ्जरमा मांसपेशी अवश्य थप्नेछ । यसले विगत चुनावमा भन्दा एमाले संगठन थप बलियो हुने सम्भावना त बढाउँछ तर, यतिकै आधारमा निर्वाचन परिणाम प्रभावित हुन्छ भन्न सकिन्नँ। 

एमाले प्रवेशको क्रम त्यो दलप्रतिको राजनीतिक, वैचारिक आकर्षण तथा जनलहर भनेर पत्याउन उक्त दलकै नेता कार्यकर्ता तयार देखिँदैनन् । मधेस एमालेमा पद र टिकटको सहज पहुँच हुन सक्ने कारणले नवप्रवेशी आकर्षित भएका हुन सक्दछन्। पाँच दलीय गठबन्धनको कारणले अन्य दलबाट टिकट पाउने सम्भावना धेरैका लागि सीमित भएको छ। तर, मधेसमा एमालेभित्र अन्यत्रजस्तो चर्को प्रतिस्पर्धामा छैन ।

तीन-तीन पटकको आन्दोलनपछि एमाले मधेसमा निकै कमजोर भएको थियो । तर, उसको पुरानो इतिहास, विरासत र संगठनको अस्थिपञ्जर भने छँदै थियो । मधेस केन्द्रित दल र अन्यत्रबाट भएको प्रवेशले एमाले संगठनको अस्थिपञ्जरमा मांसपेशी अवश्य थप्ने छ । यसले विगत चुनावमा भन्दा एमाले संगठन थप बलियो हुने सम्भावना त बढाउँछ तर, यतिकै आधारमा निर्वाचन परिणाम प्रभावित हुन्छ भन्न सकिन्न ।

अर्कातिर एमाले प्रवेश गर्नेहरू पोखरेलले भनेजस्तै अधिकांश डेट एक्स्पायर हुन लागेका नेताहरू नै छन् । आगामी चुनावमा एमालेले त्यस्तै नेतालाई टिकट दिने लगभग पक्का छ । जस्तो कि गत स्थानीय निर्वाचनमा बहालवाला मेयर प्रवेश गर्दा पनि वीरगञ्जको चुनावी नतिजा भने प्रभावित भएन ।

तर, मधेस राजनीतिका एक जानकार भन्छन–‘ एमाले प्रवेशको लहरले मात्रै मधेसको निर्वाचन परिणाम प्रभावित गर्दैन । त्यो मुख्य गरी पाँच दलीय गठबन्धनको स्प्रिटमा भर पर्छ । गठबन्धनमा सबैलाई समेटियो र घात अन्तर्घात ठूलो मात्रामा भएन भने मधेसमा अझै एमालेलाई गाह्रै छ । तर, पाँच दलीय गठबन्धनमा गठबन्धनको स्प्रिट कायम हुन सकेन भने एमालेले पहिले भन्दा धेरै राम्रो परिणाम ल्याउन सक्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved