इरानमा धार्मिक तानाशाहविरुद्ध महिलाको शसक्त विद्रोह

प्रहरी यातनाबाट २२ वर्षीया युवतीको मृत्युपछि उठेको आन्दोलन

सामाजिक सञ्जालमा आएका भिडिओमा इरानका कैयौं सहरमा हिंसाको ज्वाला फुटिरहेको छ । सुरक्षाबलले सिधै गोली चलाएका दृष्य पनि आएका छन् । कतिपय तस्वीरमा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि पेट्रोल बम फालिरहेको पनि देख्न सकिन्छ । 

नेपालभ्युज

इरानमा धार्मिक तानाशाहविरुद्ध महिलाको शसक्त विद्रोह

इरानमा भड्किएको हिजाब आन्दोलनका दृष्य विश्वभरि भाइरल भइरहेका छन् । दृष्यमा इरानका सडकमा युवायुवतीको भीडले हिजाब प्रदर्शन गर्दै त्यसको विरोध गरिरहेको देखिन्छ ।

कतिपय दृष्यमा सार्बजनिक चोकमा हिजाब जलाइएको छ । हिजाब आन्दोलन चर्किदै गएपछि त्यहाँको इस्लामिक सरकार, संविधान र कानुन व्यवस्था संकटमा पर्दै गएको छ ।

सेप्टेम्बर १६, शुक्रबार इरानको नागरिक नैतिकता अनुगमन तथा पालना गराउने ‘गस्त ए–इरसाद’ अर्थात् ‘मोरालिटी पुलिस’ ले नियन्त्रणमा लिएकी २२ वर्षीया युवती महसा अमिनीको हिरासतमै रहेको अवस्थामा तेहरान नगर अस्पतालमा मृत्यु भएपछि यो आन्दोलन भड्किएको हो ।

उनलाई प्रहरिले हिजाब राम्ररी मिलाएर नलगाएको आरोपमा पक्राउ गरेको थियो । उनी उत्तरपश्चिमी सहर साक्वेजबाट तेहरान आएकी थिइन् । प्रहरीले प्रक्राउ गर्दा उनी आफ्ना दाजुसँग सहर डुलिरहेकी थिइन् । हिरासतमा उनलाई निर्मम यातना दिएको र उपचारको क्रममा नगर अस्पतालमा उनको मृत्यु भएको बताइएको छ ।

उनी कुर्दिश मूलकी मुस्लिम महिला थिइन् । यातनाका कारण मृत्यु हुनुअघि उनी ३ दिनसम्म कोमामा थिइन । यो समाचार बाहिरिएपछि इरानका सबैजसो सहरमा हिजाब विरोधी प्रदर्शन सुरु भएको थियो ।

आन्दोलन अहिले झन् फैलिँदै गएको छ । प्रदर्शनकारीका अनुसार अहिलेसम्म १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । सरकारले भने ३५ जनाको मात्रै ज्यान गएको तथ्यांक दिएको छ ।

बुधबार राति मात्रै १९ जनाको मृत्यु भएको बताइएको थियो । जहाँ ३ जना बालबालिका पनि थिए । हजारौंलाई पक्राउ गरिएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार संस्था तथा निकायले घटनाको निन्दा गर्दै इरान सरकारको विरोध गरेका छन् ।

संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगकी कार्यबाहक उच्च आयुक्त नादा अल– नसिफले ‘घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र पीडितको परिवारले न्याय पाउनुपर्ने’ माग गरेकी छन्।

इरान प्रहरीले भने महसा अमिनीको मृत्यु ‘आकस्मिक हृदयघातबाट’ भएको बताएको छ । तर, सरकार र प्रहरीको प्रष्टिकरण कसैले विश्वास गरिरहेको छैन ।

सोमबार इरानका सर्वोच्च नेता आयतुल्ला अली खुमेनी अमिनीको परिवारलाई भेट्न भएका थिए । उनले ‘अधिकार उल्लघंन गर्नेलाई कारबाही गर्ने’ आश्वासन दिए ।

के हो हिजाब ?

हिजाब ‘इस्लामिक पोसाक मर्यादा’ अनुृसार महिलाले टाउकोमा बाँध्नुपर्ने एक प्रकारको बर्को हो । यसले कपाल, घाँटी र छातिको भाग छोप्दछ तर, निधारदेखि चिउँडोसम्मको अनुहार भने खुल्ला हुन्छ ।

हिजाब बुर्का वा नकाबभन्दा फरक प्रकारको हुन्छ । नकाबमा अनुहार पूरै छोपेर आँखा मात्रै खुल्ला राखिएको हुन्छ भने बुर्काले आँखाको भागमा जाली राखेर पूरै अनुहार छोपिएको हुन्छ ।

कट्टर इस्लामिक ‘ड्रेस कोड’ अनुसार मुस्लिम महिलाले टाउको र अनुहारको भागमा नकाब, हिजाब र बुर्का लगाउनु पर्छ । यी मध्ये कुन उपयुक्त हो भन्ने विषयमा मुस्लिम समुदायमै विवाद रहँदै आएको छ। इरानमा भने हिजाब लगाउनुपर्ने कानुन छ ।

सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानमा महिलालाई हिजाब लगाउन अनिवार्य गरिएको थियो । यो कानुनअनुसार हिजाब नलगाउने महिलालाई १० दिनदेखि २ महिनासम्म थुन्न सकिने नियम छ । इस्लामिक क्रान्ति अघि हिजाब लगाउन अनिवार्य थिएन ।

हिजाब विरोधी आन्दोलन

विभिन्न सर्वेक्षणका अनुसार अधिकांश इरानी महिला हिजाबको विरुद्ध रहँदै आएका छन्। इरानमा हिजाब विरोधी आन्दोलन नयाँ घटना भने हैन ।

सन् २०१४ पछि हिजाब विरोधी आन्दोलन बारम्बार हुँदै आएका थिए । हिजाबको सार्वजनिक विरोध गर्ने महिलालाई त्यहाँ ‘गर्ल्स अफ इंगेलाब’ अर्थात् ‘क्रान्तिकारी केटीहरू’ भन्ने गरिन्छ।

हिजाब विरोधी आन्दोलनलाई इरानी लोकतान्त्रिक आन्दोलनको एक महत्त्वपूर्ण हिस्सा मान्ने गरिन्छ । आन्दोलनको सुरुवातकर्तामध्ये एक भिदा मोभहेदका अनुसार–‘ हिजाब लगाउनु वा नलगाउनु व्यक्तिको स्वतन्त्र अधिकार हो । हिजाब विरोधी आन्दोलन स्वतन्त्रता र लोकतन्त्रको आन्दोलन हो ।’

उनले भनेजस्तै अहिले इरानमा हिजाब विरोधी आन्दोलन लोकतान्त्रिक अधिकारसँग जोडिएको छ । प्रदर्शनमा महिलाको उल्लेख्य संख्या देखिन्छ । पुरुष पनि साथमा उत्रिएका छन् ।

कट्टरपन्थी धारका इब्राहिम रइसी राष्ट्रपति बनेपछि इरानमा महिलामाथिको अत्याचार झन् बढेको छ ।

राष्ट्रपतिले दिए कडा कारबाहीको आदेश 

इरानका राष्ट्रपति रइसीले विरोध प्रदर्शनमा उत्रनेलाई कडा कारबाही गर्न निर्देशन दिएका छन् । प्रदर्शन अहिलेसम्म ३१ भन्दा बढी प्रान्तसम्म फैलिएको छ ।

बीबीसीका अनुसार प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ । हिंसा  बढ्दै गएपछि राष्ट्रपति रइसीले प्रदर्शनकारीलाई कडाइपूर्वक नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका छन् ।

उनले घटनाको छानबिन गर्ने आश्वासन पनि दिएका छन् । राष्ट्रपतिको निर्देशनपछि पनि प्रदर्शन भने रोकिएको छैन ।

 ड्रेस कोड ख़ारेज गर्न माग 

सामाजिक संजालमा आएका भिडिओमा इरानका कैयौं सहरमा हिंसाको ज्वाला फुटिरहेको छ । सुरक्षा बलले सीधै गोली चलाएका दृष्य पनि आएका छन् ।

कतिपय तस्वीरमा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि पेट्रोल बम फालिरहेको पनि देख्न सकिन्छ ।

यसैबीच सुधारवादी समूह यूनियन अफ इस्लामिक इरान पीपल्स पार्टीले ड्रेस कोड खारेज गर्न माग गरेको छ । उसले शान्तपूर्ण प्रदर्शन गर्ने अनुमति दिन पनि माग गरेको छ ।

एमनेस्टी इन्टरनेसनलले इरानी सुरक्षाबलले बेहिचक र गैरकानुनी रूपमा नागरिकमाथि हतियार प्रयोग गरिरहेको प्रमाण आएको भन्दै निन्दा गरेको छ ।

हिरासतमा लिइएका नागरिकमाथि पनि खानासमेत नदिई कुटपिट गरिएको पाइएको छ । सरकारले स्वतन्त्र मिडिया र अभियानकर्मीविरुद्ध अभियान चलाउन थालेको छ ।

अहिलेसम्म ११ जना पत्रकारलाई पक्राउ गरिएको एक अमेरिकी संस्थाले जनाएको छ ।

पश्चिमी सीमामा पर्ने ओश्नावीह सहर प्रदर्शनकारीले कब्जा गरेको बीबीसीले बताएको छ । त्यहाँबाट सुरक्षाकर्मीलाई लखेटिएको छ ।

यो आन्दोलन यत्तिकै साम्य हुने संकेत देखिएको छैन । धार्मिक तानाशाहविरुद्ध इरानी महिलाले देखाएको साहसको अहिले विश्वभरमा नै प्रशंसा भइरहेको छ । उनीहरूको समर्थनमा विश्वका विभन्न मुलुकमा पनि प्रदर्शन भइरहेको छ । तर, इरानी सरकार भने जसरी पनि आन्दोलन दमन गर्ने योजनामा देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved