अदालतको पूर्ण पाठ

उजुरीकर्ताले बयान फेरेकै कारण पल शाहले पाए झन्डै आठ वर्ष कैद छुट

लोकप्रियता कमाएका अभिनेतासँग नजिक हुन र उसलाई चाहनु पीडितको गल्ती नभएको भन्दै जिल्ला अदालतले बरु पलले आफ्नो रिल लाइफको क्रेजलाई वास्तविक जीवनमा गलत रूपमा प्रयोग गर्नु गलत भएको ठम्याएको छ।

नेपालभ्युज

उजुरीकर्ताले बयान फेरेकै कारण पल शाहले पाए झन्डै आठ वर्ष कैद छुट

काठमाडौं। अभिनेता पल शाहविरुद्धको बलात्कारको मुद्दामा उजुरीकर्ताले बयान फेरेकै कारण उनीमाथिको कैद सजाय घटेको अदालतको पूर्ण पाठमा भनिएको छ। जिल्ला अदालत, नवलपुरले २१ भदौमा पल शाहलाई बलात्कार मुद्दामा निर्दोष ठहर गर्दै बाल यौन दुरुपयोग मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाएपछि पूर्ण पाठमा सजाय घट्नुको कारण उल्लेख गरेको छ।

बलात्कार आरोपकै अर्को मुद्दा तनहुँमा विचाराधीन छ। सो मुद्दाको फैसला हुन बाँकी छ। बिहीबार तयार भएको नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठमा पीडित किशोरीले बयान फेरेकै कारण पललाई बलात्कार मुद्दामा दोषी ठहर गर्न नसकिने उल्लेख छ। पलविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको थियो। १५ फागुनमा नवलपुरमा त्यही आरोपमा अर्को जाहेरी पर्‍यो। जिल्ला अदालत, नवलपुरले शाहलाई बलात्कारको आरोपमा सफाइ दिएको त्यही मुद्दामा हो।

पीडितले ‘मौकामा कागज गर्दा प्रस्ट रूपमा किटान नगरी कागज गरे पनि अदालतसमक्ष आई बकपत्र गर्दा शुरुमा गरेको कागजको ब्यहोरा आफ्नो होइन, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन’ भनेका कारण जबरजस्ती करणीको कसूरको प्रत्यक्ष प्रमाण पीडित स्वयम् रहेकाले पल आरोपित निर्दोष देखिएको फैसलामा भनिएको छ। यदि उजुरीकर्ताले पहिला गरेकै बयानलाई निरन्तरता दिएको भए नाबालिका बलात्कार मुद्दामा भए १० देखि १२ वर्षसम्मको जेल सजायसम्म हुनसक्ने थियो। तर, बयान फेरेपछि प्रतिवादीले अनुसन्धानका क्रममा पीडितसँग कुराकानी भएको, म्यासेज आदानप्रदान भएको विषय हेर्दा बाल यौन दूरुपयोग भएको देखिएको भन्दै साढे २ वर्ष कैद सजाय ठहर गरिएको फैसलामा भनिएको छ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तयार पारेको फैसलाको पूर्णपाठमा भनिएको छ– ‘‘कुनै अपवादमा बाहेक जबरजस्ती करणीका घटनाहरूमा पीडित र पीडक बाहेक अन्य व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेको हुँदैन। त्यसैले सामान्य अवस्थामा करणीको कसुरमा प्रत्यक्षदर्शी भनेको नै पीडक र पीडित नै हुन्। जबरजस्ती करणको कसूरको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने हुन्छ।’’

पल शाहमाथि लगाइएको आरोप किशोरीको तर्फबाट शंकारहित रूपमा पुष्टि गरिएको हुनुपर्ने भन्दै फैसलामा भनिएको छ— ‘प्रतिवादको इन्कारी बयानलाई जाहेरवाला एवं स्वयं पीडितको अदालतसमक्षको बकपत्रबाट समेत पुष्टि भइसकेको अवस्थामा पल शाहमाथि लगाइएको अभियोग बाहेक किशोरी पक्षले शंकारहित तवरबाट करणीको वारदात स्थापित भएको हो भनी अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाण अदालतसमक्ष पेस गर्न सकेको देखिँदैन।’’ यसरी हेर्दा पीडित किशोरीले अदालतमा उपस्थित भएर दिएकै बयानका कारण पलले सफाइ पाएको प्रस्ट हुन्छ ।

अदालतमा पेस भएको अडियो क्लिपमा रहेको अश्लील संवाद र प्रेमी प्रेमिकाबीच हुने वार्तालाप जस्तो देखिएको भन्दै फैसलामा भनिएको छ— ‘प्रतिवादीलाई अनुसन्धानको क्रममा जबरजस्ती बयान कागजमा सहीछाप गर्न लगाइयो भन्ने अनुमान गर्न मिलेन ।’

बरु ‘बलात्कार’को घटनामा पनि पीडित र प्रतिवादीबीच निरन्तर एसएमएस आदानप्रदान र फोन सम्पर्क हुँदै आएको भन्दै फैसलामा भनिएको छ— ‘त्यसैक्रमको सिलसिलामा मध्यबानेश्वरमा पीडित र प्रतिवादहरूका बीचमा संवाद एवं छलफलको अडियो क्लिप बनाइएको समग्र अवस्थाले प्रतिवादी र पीडित प्रेमी–प्रेमिका जस्तो सम्बन्धमा रहे बसेको देखिन्छ ।’

लोकप्रियता कमाएका अभिनेतासँग नजिक हुन र उसलाई चाहनु पीडितको गल्ती नभएको भन्दै जिल्ला अदालतले बरु पलले आफ्नो रिल लाइफको क्रेजलाई वास्तविक जीवनमा गलत रूपमा प्रयोग गर्नु गलत भएको ठम्याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved