प्रिय कथा

त्यो रात !

मेघाको पहिलो उपहारले रनन्न ज्वरो आएजस्तो बनायो मलाई। तातो रगत शरीरभरि दौडियो। सोचेँ, लोग्नेमान्छेको मन कति निर्बल ? कति सरल ? कति तरल ? एकैछिनमा हल्लियो। छछल्कियो। पोखियो। बग्यो।

त्यो रात !

(रचनागर्भ– मलाई लाग्छ, आकाशमा उडेको हवाईजहाज जस्तो हुन्छ कथा।

कल्पनाको गगनमा उडेको चरीजस्तो देख्छु म हवाईजहाजलाई। एउटा काल्पनिक यन्त्रजस्तो। त्यो आफैँ उडेको छ। तर यसलाई उडाउने तन्तुहरू वास्तविक हुन्छन्। आकाशमा जति उडे पनि त्यो धरतीबाटै उड्छ र धरतीमै आएर अवतरित हुन्छ।
कथा पनि हवाइजहाजस्तै उड्नु पर्छ तर कथाले पनि वास्तविकताको धरती टेकेर उड्नु पर्छ। अन्त्यमा कथा पनि वास्तविकताको त्यही धरतीमा अवतरित हुनुपर्छ। कल्पनाका पखेटालाई वास्तविक पार्टपुर्जाले चलाएको हुनुपर्छ।
मेरो ठम्याइमा कल्पनाशीलता कथाको शरीर हो भने यथार्थता प्राण हो।

पढेका र सुनेका विषय–वस्तुका भूमिमा लेखिएका कथा भन्दा देखेका, भोगेका र बेहोरेका विषय उनिएका कथा बलिया हुन्छन् जस्तो पनि लाग्छ। मेरा कथामा मैले मेरै वरिपरिका देखाइ, भोगाइ लेखेको छु। यो कथा पनि त्यही भाव–भूमिमा लेखिएको हो। यद्यपि मैले धेरै कथा लेखेको छैन।

धेरै नेपालीजस्तै श्री र मेघा पनि नेपालबाट अमेरिका आएका हुन्। दुवै विवाहित हुन्। श्रीमती छोडेर श्री आएको छ। श्रीमान् छोडेर मेघा। दुवैबीच हिमचिम बढ्दै जान्छ। दुवै भोकको एउटा सीमान्त रेखामा उभिन पुग्छन्। श्री त्यो रेखा नाघ्न चाहन्छ तर मेघा मेट्न चाहन्छे। श्रीभन्दा धेरै कुरामा धेरै हतारो मेघालाई छ।

नेपालबाट धेरै वर्ष टाढिएपछि मेघाले श्रीसँगै घरजम गर्नेसम्म सोच्न थालेकी छे। तर एकाएक मेघा आफैँ रोकिन्छे ! भोक मेट्न सम्बन्धका हरेक सीमा पार गर्छ, मान्छे। मेघा पनि त्यो सीमा पार गर्न तयार थिई। उसले श्रीमान् पनि त्यागिसकेकी छ। तर पनि ऊ आफैँलाई रोक्न बाध्य भई ? मेघालाई केले रोक्छ ? कथाले यही कथा बोकेको छ।
यही घटना कथाको क्रम बन्न थाल्छ। यो कथा लेख्छु भनेर मैले सोचेको थिइनँ। जब सम्बन्धले अर्कै बाटो समायो, त्यसपछि यो कथा लेखियो। यो कथा सुखान्त र दुःखान्तको मध्यरेखामा उभिएको छ।

यो कथा श्री र मेघाको भए पनि यी प्रतिनिधि मात्र हुन्। हजारौँ पात्रहरूको कथा हो, यो। नेपाली र नेपालीजस्तै धेरै देशबाट अमेरिका भित्रिएका धरै आप्रवासीको कथा हो। आम आप्रवासीभित्र लुकेको भोकको कथा हो।)
००

त्यसपछि उसले के गरी ? मलाई आजसम्म थाहा छैन। त्यसअघि म त्यहाँ पुग्दा साँझ झमक्क थियो।
निख्रँदो सेप्टेम्बर। घडी हेरेँ, ठीक पाँच बजेको छ। मेघाले दिएको समय। पाइला नापेर हिँडेजस्तो ठ्याक्कै समयमै आइपुगेको छु।
धरतीमा अँध्यारो पोतिइसकेको छ। फोन गरेँ, उठेन। मन चिसो भयो, ‘कोठाभित्र कतै बत्तिको उज्यालो कैद भएको छ कि ?’ झ्यालतिर आँखा दौडाएँ, छैन।

झन् चिसो भयो मन, ‘केही अनर्थ त भएन ?’
संसारमै सबैभन्दा बढी अपराध हुने देश हो अमेरिका। लिटिलटनको एकान्तमा छ उनको डेरा। बोस्टनबाट तीस¬–बत्तीस माइल टाढा बसेको एउटा सानो बस्ती।

डोरबेल थिचेँ। ढोका खुल्यो। हुलुक्कै उम्लियो मेरो त्यो चिसो मन। मन तात्न कतिबेर पो लाग्दो रहेछ र ! ‘मनको तापक्रम जस्तो छिटो आकाश र पाताल गर्ने अर्को के होला ?’ मनमै एउटा प्रश्नको फोको निस्कियो फुट्यो।
आँखाले इसारा गरी। म भित्र पसेँ। मेघाले बत्तिको स्विच थिची, टिक्क आवाज आयो तर सिलिङ लाइट हैन, टेबुल लाइट बल्यो। कोठामा फिक्का दूधिलो उज्यालो पोतियो।

बत्तिको उज्यालोभन्दा मेघाको छातीको उज्यालो तेजिलो थियो। अनुहार उस्तै, उज्यालो छातीजस्तै ! कसिएको कम्मर। लोभी आँखा लोभिने कारण पुग्दो थियो। मेरा लोभी आँखा त्यो उज्यालो छातीको कञ्चन पहिरोमा चिप्लेटी खेल्न थाले।
लिभिङ रुममा पुग्ने बित्तिकै मेघाले अंग्रेजीमा भनी, ‘एउटा उपहार छ। विश्वास छ, पक्कै मन पर्छ।’
‘मलाई पनि तिम्रोजस्तै विश्वास छ।’ मैले पनि अंग्रेजीमा जवाफ दिएँ।

एकछिन एकटकले हेरी। आँखामा आँखा मिसिए। आँखा चिम्लने आदेश आँखाले दिई। मैले आँखा चिम्लिए। सालिक भए, उभिएँ। उपहार समाउन मेरा हात आतुर थिए।
मेघाले गम्लङ्ग अँगालो हाली। एकछिन करप्प कसी।

समयको अन्तःरेखा पार गरेर अनन्तमा हराएजस्तो लाग्यो। समय एकछिन शून्य भएजस्तो भयो। कालनिरपेक्ष भएँ म।
मेरो गाला र गर्धनमा ओठका डाम बसे। न्यापकिनले पुछी। म हेरिरहेँ। ऊ मुसुक्क हाँसी।

मेघाको पहिलो उपहारले रनन्न ज्वरो आएजस्तो बनायो मलाई। तातो रगत शरीरभरि दौडियो। सोचेँ, लोग्नेमान्छेको मन कति निर्बल ? कति सरल ? कति तरल ? एकैछिनमा हल्लियो। छछल्कियो। पोखियो। बग्यो।

मौनता थियो कोठामा तर मौनतामा पनि कति ठूलो अशान्ति ? त्यो अशान्तिको रापमा मेघाको मुहार पनि रातोपिरो भयो। डल्ले खोर्सानी खाएजस्ती भई गोरी मेघा। अगेनो बलेजस्तो भयो मेरो मन।

मौनता थियो कोठामा तर मौनतामा पनि कति ठूलो अशान्ति ? त्यो अशान्तिको रापमा मेघाको मुहार पनि रातोपिरो भयो। डल्ले खोर्सानी खाएजस्ती भई गोरी मेघा। अगेनो बलेजस्तो भयो मेरो मन।

‘पाँच वर्ष नाघिसकेछ नेपाल छोडेको।’ कपाल मिलाउँदै धारिला नजरले हेरी।
‘म अलि कान्छो परेछु।’ म हाँसेँ।

‘कति भो ?’ कमला ओठमा मीठो मुस्कान फुल्यो। त्यो फूललाई चुप्प पारूँ जस्तो भो।
‘चार वर्ष।’ बाँकी केही भनिन।
मजस्तै ऊ पनि निकैबेर केही बोलिन। मुसुक्क मुस्कुराई मात्र। बोल्नभन्दा मुस्कुराउन बढी जानेकी छ। उसको मुस्कानमा मोनालिसा बसेकी छ ! हुरुक्क हुन्छु म।

‘आऊ ….बस्…..!’ हत्केलो समाई।
मेघाका मुखबाट खसेका दुई शब्दसँगै आकाशबाट उल्का खसेजस्तो लाग्यो। बिहानसम्म हामी ‘तपाईँ’ थियौँ, अहिले एक्कासि ‘तिमी’ कसरी भयौँ ? थाहा छैन ! तर ‘तिमी’ शब्दको त्यान्द्रोमा बाँधियौँ हामी।
‘हग’को दुई हाते पासोभन्दा बलियो भयो तिमी शब्दको त्यो त्यान्द्रो।

म पनि उस्तै अरू धेरै मान्छे जस्तै ! प्रायः सधैँ दुई मन बोकेर हिँड्छु। एक मनले भन्यो, ‘आज पक्कै मेघाको जिब्रो चिप्लियो !’ अर्को मन मानेन, ‘हग पनि त कहिल्यै थिएन ! आज के उनका हात पनि चिप्लिएका हुन् ?’ दुवै मन एकछिन मनोवादमा अल्झिए।
‘मैले तपाईँलाई तिमी भने माइन्ड त गर्नु हुन्न नि हगी ?’ बोलीमा शालीनता र मधुरता उस्तै छ अरू दिन जस्तै। मेरा दुवै मनले स्विकारे, ‘मेघाको जिब्रो चिप्लिएको हैन। मनको दूरी मनले छोट्याएको हो।’

‘कहिल्यै गर्दिन।’ अप्ठ्यारो लागे पनि देखाइन, स्विकारेँ।
म काउचको एक छेउमा बसेँ। अर्को छेउमा ऊ बसी। पुतली जस्ता मेरा आँखा ! मेघाको उज्यालो छातीमा फेरि गाडिए। बिस्तारै पाखुरातिर ओर्लिए। खँदिलो जिउँ। जिउँमा टिमिक्क कसिएको कालो स्लिभलेस। नौनीको मूर्तिजस्तो गोरो शरीर। रहर लाग्दी देखिएकी छ, मेघा। लोभी आँखालाई अरू के चाहियो ?
मेघालाई यति उदार कहिल्यै देखेका थिइनन्, मेरा आँखाले। ठाने, ‘आँखाको बदमासी पक्कै हैन ! नत्र फूलमा माहुरी किन टाँसिन्छन् ?’
‘श्री… केही… !’ बाँकी केही भनिन। दुई औँलाले इसारा गरी, ‘अलिकति …. !’

बोलीमा उस्तै अनौठो शालीनता। शालिनतामा कामनाको अर्को मगमग वासना। फूलको वासनाभन्दा फरक। लाग्यो, मनमा फक्रेको अर्कै फूलको अर्कै वासना हो, त्यो।

मेघाले मलाई श्री भन्न थालेको तीन महिनामात्र भएको थियो। एकदिन बोस्टन कमनतिर घुम्दै गर्दा भनेकी थिइन्, ‘म तपाईँलाई श्री भन्छु है।’ कारण सोधेँ, पछि बताउँला भनी। मैले स्विकारेँ। नस्विकार्ने सबै कारण समाप्त भइसकेका थिए। म उसका हरेक आग्रह स्विकार्न थालिसकेको थिएँ। कारण थियो, नारीप्रतिको पुरुषजन्य सरल र असल स्वभाव !
रुपरङ र जिउडाल त थियो नै। मलाई पराजित गर्ने अरू बलिया अस्त्र थिए पनि ऊसँग– शालीनता, सौम्यता र सुहाउँदो हल्का मेकअप।
हुन त मेरो न्वारानको नाउँ पनि श्री नै थियो रे। बाले भनेको श्री प्रकाश।

मेघालाई भेटेको तीन वर्ष भइसकेको थियो। पहिलो भेटमै हाम्रो आत्मीयता फक्रियो। दुवैको मनमा मग्मगायो त्यो आत्मीयता। यसका सायद तीन कारण थिए। पहिलो, विचारको बन्धन। हामी एउटै राजनीतिक विचारमा विश्वास गर्थ्यौँ। दोस्रो, दुवैले घर छोडेको केही वर्ष भइसकेको थियो। हामी अमेरिकामा एकल नारी र एकल पुरुष मित्र थियौँ।

तेस्रो कारण अमूर्त थियो, आ–आफ्नै मनले बुझ्ने। अमूर्त कारण नै सायद अरूभन्दा मूर्त बनेर आउँदै थियो। र, सबैभन्दा बलियो बन्दै थियो, हाम्रो मन जोड्ने।

पहिलो भेटमै उसले भनेकी थई्, ‘मलाई जी भन्नुस् है, अर्थात् मेघा राजभण्डारीजी।’ सोध्नै नपाई खुलस्त पारी। मेरो मनले ठहर ग¥यो– ‘पढेलेखेका भद्र मान्छेलाई अनेक साइनो र विशेषण मन नपर्न सक्छ।’
हल्का मेकअप, फिक्का पोशाक। पहिलो भेटको त्यो हल्का र फिक्का रङ नै मेरो मनमा गाढा लेप बनेर पोतिएको थियो।
आज मात्र हैन, पहिले पनि धेरै पटक आइसकेको थिएँ मेघाको डेरामा। करिब एक घण्टाको ड्राइभ पनि केही लाग्दैनथ्यो। आज झन् छोटो लाग्यो।

मेघा ड्राइभ नगर्ने। बसको ‘रुट’ थिएन। सधैँ मै जान्थेँ। मेरा एक्लो निरसतामा ऊ रस भर्थी। उसको निरसतामा म स्वाद छर्थेँ। तै पनि हामी सागरमा तिर्खाएका माछाजस्ता थियौँ। भेट्थ्यौँ। हाँस्थ्यौँ। बोल्थ्यौँ। घुम्थ्यौँ। छुट्टिन्थ्यौँ।
मेरा लागि मेघाको डेरा दारू पिउने अड्डा त हैन तर पिउन मन लाग्दा फोन गर्थेँ। विश्वासले जितेको थियो। मौका मिलाएर जान्थेँ। भ्याउँदिन र नाइँ कहिल्यै भनिन उसले। म आउने कुराले खुसी हुन्थी, सायद ऊ पनि। मौका मिलाएर पनि बोलाउने पनि गर्थी। उसको खुसी बोली–व्यवहारमा झल्किन्थ्यो।

भेट्ने बित्तिकै भन्थी, ‘तपाईँलाई भेट्दा अर्कैखाले खुसी हुन्छ।’ बोलीमा सधैँ उस्तै विनम्रता र मधुरता ! त्यसमा भावुकताको महक मिसिन थालेको थियो। त्यसपछि बोलीसँगै मिसिएको त्यो मोहक मुस्कान। म संसार बिर्सन्थेँ !
मेघाको मुस्कानको डुङ्गा खियाउँदै भोकको तलाउमा तैरन्थेँ म। कहाँ पुग्थे मलाई नै थाहा हुँदैनथ्यो।
आज पनि गएँ तर आज धेरै कुरा फरक छ। मेघाको ‘ल्याङ्ग्वेज’ उस्तै भए पनि ‘बडी ल्याङ्ग्वेज’ फरक छ। मान्छे उस्तै भए पनि पहिरन–पोशाक फरक छ। कोठा उही भए पनि सजावट फरक छ।

लिभिङ् रुममा नयाँ शो केश। शो केशमा ‘अल्कोहल’का पनि केही नयाँ ‘आइटम’ ! दुई हप्तामै निक्कै ठूलो परिवर्तन ! बत्ती झन् फरक छन् ! उज्याला बत्तीले आज विश्राम लिएका छन्।
कोठा भित्रको मधुरो दूधे उज्यालोले बाहिर चिहाउन पाएको छैन। सबै उज्यालो झ्यालका पर्दाले कैद गरेका छन्। हुन त कोठामा उसको शरीरको उज्यालो नै काफी छ। फिक्का लाग्छ, बत्तिको उज्यालो !

बेडरुमको ढोका खुला छ। पहिले पनि कहिलेकाहीँ खुलै हुन्थ्यो तर आज त्यो पनि फरक छ। बेडको दुवै साइडमा फूलदानी ! फ्रेस लाग्छन् ती फूल। वासना कोठाभरि डुलिरहेको छ। मनमा अर्कै फूल फुलेका छन्। ती फूलको बासनामा मनका फूलको वासना झन् बढी घोलिएको छ।
मौसम एकाएक बदलियो। आकाश कालो–मैलो भएर आयो। झन् अँध्यारो भयो बाहिर। मेघ गर्जन थाल्यो। मेघ गर्जँदा वनमा मयुर नाच्छ। मेघा घरमा नाच्न थाली। नाच्दै भान्सातिर गई। मेघाले नाच्न पनि जानेकी छ ? सपना हो कि बिपना ! छुट्टाउन गाह्रो भो मलाई। तर त्यो सपना थिएन तै पनि सपनाजस्तै थियो।

फ्रिजबाट आइस लिएर आई। प्लेटमा काँचका सफा दुई गिलास घोप्टिएका छन्। ह्विस्की र वाइनका बोतल दर्शक बनेर छेउमा उभिएका छन्।
मेघा ठाउँ सरी। छेउमा आई, ‘अघि गरेको इसारा यही हो क्या ! अलिकति… !’ भन्दै दुई औलाले उस्तै इसारा गरी।
बाहिर आकाशमा बिजुली चम्कियो। मेघाका नाङ्गा पाखुराका स्पर्शले मेरो मनको आकाशमा अर्को बिजुली चम्कियो।
गोरा, बाटुला पाखुरा। खिरिला औँला। कोमलता र सुन्दरताको रहस्यमय फ्युजन ! तर त्यो कोमलताको झट्का कति कठोर ! म झनन्न भएँ।
एकै छिनमा आकाश वर्षिन थाल्यो। मेघाले दुवै गिलासमा ह्विस्की वर्षाई्, ‘मलाई यस्तै दिन मन पर्छ। आहा… आज वेदर पनि कस्तो रमाइलो भएर आयो।’

केबाट के भइन मेघा एकैछिनमा ? लजालु मेघा ! बोल्नभन्दा मुस्कुराउनमात्र जान्ने मेघा !
अनुहारतिर हेरेँ। उसको तेजिलो अनुहार र चम्किला आँखामा धेरै बेर टिकेनन् मेरा आँखा। कमजोर आँखा टेबुल ल्याम्पतिर गएर टाँसिए एकछिन।
‘तपार्इँ पनि आज ह्विस्की ?’ मैले तिमी भन्न अझै सकिन।
‘हो, एक सट मात्र ! तर को तपाईँ ? कसलाई तपाईँ ? किन तपार्इँ ?’ बोली झम्टुँला जस्तो भयो। तर आँखा नाचिरहेका थिए।
कोपिला बन्न धेरै समय लाग्छ तर फक्रन समय लाग्दैन। लाग्यो, ‘मेघा त्यही कोपिला हो। हेर्दाहेदै फक्रिई ?’ मनमा केहीबेर जैमली चलमलाई।
‘सरी, अब तिमी भन्छु।’ क्षमा मागेँ। हाँसेँ।

‘अर्थात् तिमी दऽऽअऽऽ..मा.. ई ! मतलब परिऽऽऽ या…र….! सुचिकार….! कपाली… ! कुस्ले…..! ‘आ‘म् सरी। श्री प्रकाश !’
मेघा बेडबाट जुरुक्क उठिन्। ड्रयरबाट सफा सेतो टावल लिएर बाथरुम छिरिन्। सावरको आवाज बेडरुमसम्मै आयो। केहीबेरपछि तपतप पानी चुहिँदै गरेको कपाल पुच्छै भनिन्, ‘मलाई सन्चो नभए जस्तो भयो। म सुत्छु। तपाईँ जानुस्।’

‘बुद्धु !’ ऊ उन्मुक्त हाँसो हाँसी। मेरो देब्रे गालाले फेरि सजाय पायो। अर्को डाम बसाई मेघाले।
पहिलो पटक उसको मुखबाट बुद्धु शब्द सुनेँ। साह्रै प्रिय लाग्यो। अरूले भनेको भए कति रिस उठ्दो हो ! एक तमासले हेरेँ फेरि मेघाको अनुहार ! त्यो अनुहारमा बलियो आत्मविश्वास देखेँ ! बलियो हुँदै आएँ, म पनि।
एक पेगपछि शुरु भयो अनेक कुरासँगै खानेकुरा। आइटममा मःमः पनि !
‘मलाई थाहा छ तिमी के मन पराउँछौ ? मौसम र मःमः मिल्यो कि मिलेन, मिस्टर ? नेवारकी छोरी हुँ।’
‘मिस्टर !’ सोचेकै थिइन मेघा यसरी खुलेर कुरा गर्छे, मिस्टर पनि लगाउँछे भनेर। त्यसमाथि उसको त्यो अनौठो आत्मीयता ! मेरा लागि सबै ढोका खुल्ला भएजस्तो भो !

तर मःमको वाफभन्दा बाफिलो प्रश्नले मेरो मनमा डेरा जमाएको थियो। त्यो डेराबाट त्यो प्रश्न निकालौँ कि ननिकालौँ ? दोधारमा थियो मन।
देवकी र पार्वती आउने समय भइसकेको छ। ती दुवै मेघाका ‘रुममेट’ हुन्। दुवै बेबीसिटर। मेघा भने नजिकैको ‘डे केयर’मा काम गर्छे।
उसैले भनेको सम्झिए, ‘देवकी र पार्वती कहिलेकाहीँ साहुकै घरमा रात बिताउँछन् !’ किन हो थाहा छैन, किनभने मैले कहिल्यै सोधिन। जे होस्, ढुक्क भएँ। मनको गाँठो नफुकाउँदै राम्रो, ‘आज पक्कै आउँदैनन्।’
मेरो बुझाइमा मेघा पढेलेखेकी नारी। नेपालमा नारी आन्दोलनलाई थोरबहुत हाँकेर हिँडेकी नारी। बौद्धिकतामा सरदर तर धेरै नारीभन्दा माथि। सोच, विचार र व्यवहार निक्कै फरक !
बाहिर वर्षासँग हुरीबतास चल्न थाल्यो। भित्र कोठामा मनको हुरी झन्झन् वेगवान् हुँदै थियो।
‘डियर, थपौँ है !’
मिस्टरपछि डियर ! डियरसँगै आधा गिलास स्वाट्टै पारी मेघाले। यदाकदा वाइन पिउँथी तर आज ह्स्किी। ‘वाइल्ड’ भएको कहिल्यै देखेको थिइनँ। सधैँ उसको बोली र व्यवहारमा भद्रता र कुशलताको गाढा मिश्रण हुन्थ्यो। लजालु स्वभावले पनि बुर्को उघारेको छ। धेरै कुरामा फरक देख्दै छु। कुराको सुरुवात नै अनौठा र फरक। एकदमै फरक।

‘नेपालमा हुँदा पनि पिउन त पाउँथे तर स्वतन्त्रता थिएन। आज मस्त पिउन मन लागेको छ।’
‘पाउनु र स्वतन्त्र हुनुको फरक बेग्लै हुन्छ।’ मेरो जवाफसँगै रक्सीको समाजशास्त्र सुरु भयो।
‘कहिलेकाहीँ ‘एक्स्टेसी अफ लाइफ’ पनि त चाहिन्छ।’ उसको तर्क बलियो लाग्यो।
‘पैसा र सुखसुविधाले समाधान गर्न नसक्ने समस्या रक्सीले समाधान गर्छ। रक्सीमा अनौठो ‘सेन्स अफ प्लेजर’ पनि त हुन्छ।’ मैले पनि स्वाट्ट पारेँ।

‘नोटेबल पोइन्ट।’ सहमति जनाई मेघाले, ‘रक्सीले संसार बिर्सने साहस र शक्ति दिन्छ। त्यो साहस क्षणिक नै किन नहोस्। त्यो शक्ति भ्रामक नै किन नहोस्।’ मेघाका रसिला आँखा मेरा आँखामा मिसिए।
‘कमजोरलाई साहस दिन्छ रक्सीले। रक्सीमा मिसिएको शक्तिशाली कमजोरी नै त्यही हो।’ मैले थपेँ।
‘जुन काम होसमा गर्न सकिँदैन, त्यसका लागि बेहोस हुन आवश्यक छ।’ यो रक्सीको रन्को हो कि मेघाको दार्शनिकताको ऐना हो ? मेरो हृदयमा कुँदियो तर छुट्टाउन सकिनँ।

‘कुनै कुरा भत्काउन जरुरी छ भने त्यो भत्काउनु पर्छ तर भत्काउने साहस छैन भने के गर्ने ?’ मेरो भोकको सेती बग्यो।
‘रक्सी पिउने।’ मेघाको उत्तर कर्णालीजस्तो सिधा र सफा थियो।
रक्सी मीमांसासँगै हामी बेपरवाह हाँस्यौँ। बर्लिनको पर्खाल ढलेजस्तै औपचारिकताका सम्पूर्ण पर्खाल ढल्न थाले। आखिर मनै त हो। मन मिलेरै दुई जर्मनी मिले।

‘रक्सी मान्छेको ठूलो शत्रु हो तर हाम्रै धर्मशास्त्रले भन्छ, शत्रुलाई पनि माया गर। बुद्धवाणी पनि मिल्छ।’ मैले रक्सीका बारेमा तर्कपूर्ण बहस आजसम्म कसैसँग गरेको थिइनँ। त्यसमाथि एउटी नारीसँग, सोचेको पनि थिइनँ ! लामै भयो रक्सी मीमांसा।
‘एनी वे, मेरो बेडरुम हेर्न जाऊँ।’ अंग्रेजीमा उनको राम्रो दख्खल छ तर मीठो नेपाली बोल्छिन्। अहिले भने अङ्ग्रेजी–नेपाली ‘ककटेल’को छ। भाषासँगै अनौठा प्रश्न र प्रसङ्गको ‘ककटेल’ पनि उस्तै छ।

मेघाका पछि लागेँ। चटक्क मिलाएको बेड। हल्का गुलाबी रङ्गको बेडसिट। मेघाको मनको राप आँखामा झल्किएको छ।
‘लेट्स गो वियोण्ड द वाउण्ड्री’ मेघाले हात फैलाउँदै भनिन्, ‘बस मेरो प्रिय श्री।’
छेउमा बसेँ। लागिरहेको थियो, मैले धरती छोडिसकेको छु। मसँगै मेघाले पनि। हामी हजारौँ मिटरमाथि उडान गर्दै छौँ। धरतीभन्दा धेरै माथि कतै ताराहरूको बगैँचामा प्रेमपर्व मनाउन खोज्दै छौँ। धरतीमा यस्तो हुँदैन।

‘मेरा रुममेट मुभ हुँदै छन्। तिमी यहाँ सिफ्ट हुन्छौ ?’ मसँग उत्तर थिएन। एक छिन् आँखा एकोहोरिए। विचार गर्छु भनेँ।
‘वाइ द वे, धेरै दिनदेखि एउटा कुरा पनि सोध्न मन लागेको छ। सोधौँ ?’
‘सोध, सोधिहाल। भित्रभित्रै गुम्स्याएर मनमनै कुहाउनु हुँदैन कुरा। ’
‘ओ के, प्रकाश भनेको के हो ?’
अनौठो लाग्यो मेघाको प्रश्न। तै पनि उत्तर दिएँ, ‘नेपालीमा उज्यालो, ज्योति, बत्ती, किरण आदि। अंग्रेजीमा लाइट, रे, फोकस, फ्लास, डन, रेडिएण्ट आदि–इत्यादि।’
‘तिमी ती सबै हौ ?’
‘के लाग्छ ?’
‘भन्न सक्दिन तर मैले सोधेको अर्कै हो।’
‘अर्कै के ?’
‘सिधा अर्थमा प्रकाश भनेको के जात हो ? मतलब, तिम्रो जात के हो ?’
मेघाको अनौठो प्रश्नले मनमनै हँसायो मलाई। मेघा जस्तै मुस्कुराउँदै भने, म नेपाली ! मेरो जात नेपाली !
हरेक कुरामा प्रायः मुस्कुराउने मेघाको अनुहार एकाएक गर्जिन लागेका मेघ जस्तो भयो– कालो–मैलो–अँध्यारो ! हेर्दा हेर्दै कहिल्यै नदेखेको मेघाको अर्को रूप देखेँ। एक छिन् अघि अर्कै रूप। अहिले अर्कै रूप।

‘अर्थात् तिमी दऽऽअऽऽ..मा.. ई ! मतलब परिऽऽऽ या…र….! सुचिकार….! कपाली… ! कुस्ले…..! ‘आ‘म् सरी। श्री प्रकाश !’
मेघा बेडबाट जुरुक्क उठिन्। ड्रयरबाट सफा सेतो टावल लिएर बाथरुम छिरिन्। सावरको आवाज बेडरुमसम्मै आयो। केहीबेरपछि तपतप पानी चुहिँदै गरेको कपाल पुच्छै भनिन्, ‘मलाई सन्चो नभए जस्तो भयो। म सुत्छु। तपाईँ जानुस्।’
एक घण्टा अघि ढलेको पर्खाल ठडियो। युगोस्लाभिया टुक्रिए जस्तो टुक्रिए हाम्रा मन। म हिँडेँ।

गाडी स्टार्ट गरेर झ्यालतिर हेरेँ, कोठामा ‘ब्ल्याकआउट’ भइसेकेको थियो। मेघाको मनको आगो सावरको चिसो पानीले निभायो कि निभाएन ? थाहा भएन !
त्यसपछि के भयो मलाई आजसम्म थाहा छैन। डेरामा आएर पल्टिएँ। सोचेँ, सोचको मातसामु रक्सीको मात के मात ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved