प्रिय पात्र

यी पात्रहरू जो एकान्तमा मसँग भलाकुसारी गर्छन्

बीपी कोइरालाको कथा ‘मधेशतिर’ मा बास बसेको रोमाञ्च घटनाको परिवेश सिन्धुली जिल्लाको प्रसिद्ध गढीको आडजस्तो लाग्छ। लहरै सुतेका पात्रहरूमध्ये विधवाले गोरेलाई मन पराउनु, दिउँसो खाजामा उसैलाई चिउरा र सिलाम खान दिँदा अरूलाई भन्दा अलि बढी भाग हाल्दिनु जस्ता घटनाले मलाई निक्कै छुन्छ।

यी पात्रहरू जो एकान्तमा मसँग भलाकुसारी गर्छन्

१. वीरबहादुर

‘नासो’ कथासङ्ग्रह भित्रका सबै ११ वटै कथाहरू क्याम्पस जीवनको विद्यार्थी कालमा २०४४ सालअघि नै पढिसकिएको हो। उहिले विद्यार्थी भएर पढ्दा पास हुनका लागि र केही जान्नका लागि पढियो। बुझेका कोणबाट जाँचमा लेखियो। पास पनि भइयो तर आज मैनालीको ‘सहिद’ कथा पढ्दा मलाई कसोकसो कोसी नदी पूर्व सुनसरीको भन्टाबारी परिवेशको याद आउँछ। कथाको एक घटनामा युद्धको वर्णन छ। हो, त्यो वर्णन त्यहीँ कोसी नदी पूर्व घटेको जस्तो लाग्छ। आज पनि म त्यो कथा सम्झने बित्तिकै नोष्टाल्जिक भइहाल्छु।

कथाको प्रमुख पुरुष पात्र वीरबहादुर राणा राज्य ढाल्नका लागि राणाको सेनासँग निर्ममतापूर्वक लडेको छ। ऊ घाइते अवस्थामा जब अस्पतालमा उपचार गराइरहेको हुन्छ त्यो बेला देवता बाबुले उसकी पत्नी डल्लीलाई चिठी लेख्ने जिम्मेवारी प्राप्त गर्छन्। यो परिवेश पढ्दा मेरो मन अझै कस्तो कस्तो एक तमासको भएर आउँछ। संवत् २००७ सालको क्रान्तिमा त्यसरी लड्ने वीर योद्धाहरूको भावनाको कुनै सम्मान नै हुन सकेन। २०३६ साल, २०४६ साल र २०६२/०६३ सालको आन्दोलनमा समेत धेरै मानिसहरू मरे÷मारिए। सहिद भए तर तिनीहरूको रगतको कुनै महत्त्व भएन।

नेता र बाँचेका मानिसहरूले नेपालमा प्रजातन्त्रको हुर्मत लिएको र गरिब तथा गरिखाने मानिसहरूका जीवन तबातबा बनाएको देख्दा अझै क्रान्तिको आवश्यकता महसुस हुन्छ। के नेपालमा अझै व्यवस्था परिवर्तनका लागि क्रान्ति होला र भन्ने पनि मनमा विचार आउँछ।
म फुर्सद भएका बेला ‘सहिद’ कथाको नायक वीरबहादुरसँग एकालाप गरिरहेको हुन्छु।

२. लालबहादुर

गोविन्दबहादुर मल्ल ‘गोठाले’ को कथा ‘लक्ष्मीपूजा’ बाल मनोवैज्ञानिक कथा हो। म अझै यो कथा कक्षामा विद्यार्थीहरूलाई पढाइरहेको छु। कहिलेकाहीँ परीक्षामा समेत ‘यदि तिमी लक्ष्मीपूजा कथाको पात्र लालबहादुर उर्फ लाल भएको भए कस्तो व्यवहार गर्दथ्यौ ?’ भनेर तर्कशील प्रश्नसमेत विद्यार्थीहरूलाई हल गर्न दिन्छु। कसैले लक्ष्मीपूजाका लागि सामान चोर्नु हुँदैनथ्यो र कसैले चोरेर भए पनि पूजा गर्नु हुन्थ्यो भनेर उत्तर दिन्छन्। म दुवै उत्तरलाई सम्मान गर्छु।

तर यतिले मात्र मेरो चित्त बुझ्दैन। लालले त्यहाँ जसरी भए पनि लक्ष्मीपूजा गरेको देखेर मेरो मन अझै आफ्नो समयको बालापनमै फर्कन चाहन्छ। ‘बालकको रहरलाई नमार’ भन्दै म कक्षामा विद्यार्थीहरूलाई शिक्षा दिइरहेको हुन्छु तर एकान्तमा रहँदा र फुर्सद हुँदा म लालसँग भलाकुसारी गरिरहेको हुन्छ।

त्यो कथाको प्लट मलाई अति मन पर्छ। बिरामी आमा र छुक्छुके लालको कम्बिनेसन कस्तो राम्रो र गज्जबको लाग्छ। गोठालेको यो महान् कथा हो। कथाले सहरी श्रमिकहरूको अशक्तता र निरीहतालाई मनोवैज्ञानिक रूपमा कथामा प्रकट गरेको छ।

इन्द्रबहादुर राईको कथा ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’ कथाकी पात्र जयमाया हुन्। यो कथा द्वितीय विश्वयुद्धको घटनामा आधारित कथा हो। जापानले बर्मामा आकाश मार्गबाट बम वर्षा गर्न थालेपछि जीवन रक्षाका लागि धेरै बर्मेलीहरूले बर्मा छाड्छन्। सुरुमा युद्धको विभीषिकाबाट जीउज्यान बचाउनका लागि आफ्नो भएको हाँडोभाँडो, सिरीखुरी, खसीकुख्रा र धन सम्पत्ति पोको पारी गोरु गाडीमा हालेर उनीहरू जङ्गलको बाटो भाग्छन्।

३. गोरे

बीपी कोइरालाको कथा ‘मधेशतिर’ मा बास बसेको रोमाञ्च घटनाको परिवेश सिन्धुली जिल्लाको प्रसिद्ध गढीको आडजस्तो लाग्छ। लहरै सुतेका पात्रहरूमध्ये विधवाले गोरेलाई मन पराउनु, दिउँसो खाजामा उसैलाई चिउरा र सिलाम खान दिँदा अरूलाई भन्दा अलि बढी भाग हाल्दिनु जस्ता घटनाले मलाई निक्कै छुन्छ।

अहिले पो गाडीको सुविधा छ। मानिसहरू गाडीमा मज्जाले बसेर यात्रा गर्न सक्छन्। हामी चालीस र पचासको दशकसम्म मन्थली–सिन्धुलीको यात्रा गर्दा करिब २७ किलोमिटर बाटो याने ७ कोस हिँडेरै यात्रा गर्दथ्यौँ। मलाई मन्थलीबाट सिन्धुली पुग्न पूरै १ दिन लाग्थ्यो। आड भन्न ठाउँमा पुग्दा दही चिउरा खाने दिउँसो मात्र राख्ने केही पसल थिए। हामी १०/२० रुपियाँमा दही चिउरा खान्थ्यौँ। खाजा खाएको बेला मलाई मधेशतिर कथाका पात्रहरू लहरै यहीँ यतैतिर सुतेका थिए होलान् जस्तो लाग्छ।

भोलिपल्ट बिहान निद्राबाट बिउँझिँदा गोरे विधवाका गहना गुरियाहरू सबै लिएर फरार भइसकेको हुन्छ। त्यो घटनालाई मैले खाजा खाने र केही क्षण आराम गर्ने आडमै घटेको पो हो कि भन्ने भान पर्दथ्यो।

४. आसलाल

वासु शशीको ‘बाँसुरीमा नअटाएका धुनहरू’ नाटकको पात्र आसलाल नाटकको नायक हो। ऊ वास्तवमा विन्दास पाराको छ। मनले सहयोगी, साँचो बोल्ने, अलि लाटो रिसको तर परिश्रमी हृदयको आसलालले आफ्नी छोरी सानी वेश्या वृत्तिमा लागेको केही थाहा पाउँदैन।

ऊ कान्छीलाई माया गर्छ। जबजब आफ्नो कुरा कान्छी र सानीले सुनेर भनेको मान्दैनन् अनि भित्रबाट लाटो रिस देखाउँछ। नाटकमा घटेको एउटा घटनामा उसले तत्काल उठेको रिसमा कान्छीलाई झ्यालको खापाले हानेर मार्दछ। पछि आफ्नो मनको पीडा शान्त पार्न बाँसुरी बजाएर समय कटाउँछ।

नाटक पढ्दा यो घटनाले मेरो मन हुँडल्छ। म कामबाट जबजब फुर्सद पाउँछु तबतब आसलाललाई सम्झन्छु।

५. जयमाया

इन्द्रबहादुर राईको कथा ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’ कथाकी पात्र जयमाया हुन्। यो कथा द्वितीय विश्वयुद्धको घटनामा आधारित कथा हो। जापानले बर्मामा आकाश मार्गबाट बम वर्षा गर्न थालेपछि जीवन रक्षाका लागि धेरै बर्मेलीहरूले बर्मा छाड्छन्। सुरुमा युद्धको विभीषिकाबाट जीउज्यान बचाउनका लागि आफ्नो भएको हाँडोभाँडो, सिरीखुरी, खसीकुख्रा र धन सम्पत्ति पोको पारी गोरु गाडीमा हालेर उनीहरू जङ्गलको बाटो भाग्छन्। धेरै दिनको भगाइपछि जबजब खानेकुराको अभाव हुँदै जान्छ, रोग लागेर मान्छेहरू मर्न थाल्छन् अनि कथामा बिजोगका घटना देखिन्छन्।

मलाई त्यो युद्धमा नदीहरू तरेर जयमाया, उनका बा सुबेदार राई र आमा हिँडेको देख्दा धेरै दुःखको महसुस हुन्छ। म आफूले केटाकेटीमा झापामा गाईबस्तु चराउन जाँदा आटव्यका जंगलमा निसा लागेर बाटो बिराउँदा भएको डरलाई त्यहाँ मानवीकरण गरेर कथाको घटना बुझ्ने कोसिस गर्छु।

अन्त्यमा जयमायाकी आमाको बाटैमा मृत्यु भएपछि बाउछोरी केही दिनसँगै बाटो काट्छन्। फेरि टकाब नदी तर्ने सिलसिलामा सुबेदार राईलाई नदीले बगाएर जयमाया रुँदै र कराउँदै भाग्नेहरूको हूलमा मिसिएर आसामको लिखापानी आइपुगेको घटना सम्झँदा जीवनको अत्यासलाग्दो परिवेशलाई सम्झन्छु।

जीवनका जतिसुकै दुःखद् घटना किन नहुन त्यो मानिसले एक्लैले भोग्नु पर्छ भन्ने शिक्षा दिने महान् कथाकी पात्र जयमाया आसाम आएर के गरी होलिन् भन्ने सन्देश अझै मेरो मनमा घुमिरहन्छ।

यी पाँचवटा कथाका मूल पात्रहरू म एक्लै दिन बिताउनु पर्दा मेरा एकान्तवस्थाका साथी भइरहन्छन्। अरूलाई कस्तो लाग्छ कुन्नि मलाई चाहिँ गहिरो गरी बुझेर पढेका यस्ता आख्यान र नाटकका पात्रहरूले धेरै सन्तुष्टि दिन्छन्।

संवत् २०६६ सालतिर हुनुपर्छ ठ्याक्कै साल र महिना चाहिँ बिर्सिएँ। साहित्यकार बिर्ख क्रान्ति संयोजक भएको दोलखाको चरिकोटमा एकपटक एउटा गोष्ठीको आयोजना भयो जसको शीर्षक थियो –‘नेपाली साहित्यमा पात्रहरूको पदोन्नति’। सो गोष्ठीमा रामेछापबाट हामी कथाकार माधव सयपत्री र म पेशल आचार्य दुईजना बोलाइएका थियौँ। सो गोष्ठीमा मैले जिज्ञासापूर्वक यिनै दृष्टान्तहरू दिएर पात्रहरूलाई उनीहरूकै स्थानमा छोडिदिने कि ? नयाँ आख्यान लेख्दा फेरि प्रमोसन गरेर आधुनिक पात्र बनाई लेख्ने ? भन्ने खालका प्रश्न राखेको थिएँ। कार्यक्रममा कसैले सो प्रश्नका चित्तबुझ्दा उत्तर दिन सकेका थिएनन्।

आज यतिका कुरा लेख्न पाएर एक प्रकारले मेरो मन हलौं भएको छ। मनमा जमेर बसेका कुराहरू बाहिर आएपछि मानिस हलुको हुन्छ कि क्या हो ?
वीरबहादुर, लालबहादुर, गोरे, आसलाल र जयमायाजस्ता पात्रहरू मेरा मनका राज्यका अन्तरमा सदा जीवित रहिरहने पात्रहरू हुन पुगेका छन्।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved