दुई लघुकथा

म अधिकृत नभएर के भयो ? गाउँदेखि तपाईँ खोज्दै आउनुभयो, भन्नुहोस् म तपाईँलाई के सहयोग गर्न सक्छु ?’ यो सुनेर सुरेशले रातोमुख पार्दै सुरेनलाई हेरिरह्यो।

दुई लघुकथा

संयोग !

प्रमुख जिल्ला अधिकारी लहडी स्वभावका थिए। अरूले भन्ने गर्थे ‘नाम नरेशप्रसाद भए पनि लहडीप्रसाद’। तर सामुमा होइन पछाडि। बिहानदेखि पानी परिरहेको थियो। सानो काम परेर लहडीप्रसादले निकुञ्ज वार्डेनलाई फोन लगाए। आवाज अलि मिलेन पहिलेको जस्तो र प्वाक्क भने– “होइन वार्डेनसाब दारुसारुको झारु लगाइन्छ कि के हो ?’’

वार्डेन तराइबासी थिए। उनको मन डरायो। आवाज सुन्दै थरर्र काँपे। मोबाइल फ्याट्ट भुईँमा झर्यो। मीठो समय–संयोगचाहिँ उताबाट यसअघि नै राखिसकेको थियो।

हतार हतार मोबाइल उठाएर उही लर्बर आवाजमा वार्डेनले भने– “होइन हजुर पिएको छैन।’’ आवाज केही आएन अझ डराए उनी।

उनी अर्थात् वार्डेनलाई छटपटी भयो। उनले साँझ छ बजे पिएलाई फोन गरे र भने– “होइन हो पिए साब ! बुढालाई कसरी थाहा भयो मैले दारु पिएको ? साँच्चै मैले पिएकै बेला उनको फोन आयो, मलाई बचाऊ है !’’
पिएले सानसँग भन्यो– “या हजुर किन डराइराख्या ? म बँचाइहाल्छु नि।’’

यस मानेमा ऊ ढुक्क थियो दिनरात। जति बेला पनि उसको हाकिम प्रमुख जिल्ला अधिकारीलाई लेवलका लेवल, भिन्न भेराइटीमा टक्राउने ऊ नै त थियो।

रातोमुख

सुरेश सरासर मन्त्रालय पुग्यो।
गाउँमा सुनेअनुसार सुरेन अधिकृत थियो र सुरेशलाई लोकसेवा परीक्षाको लागि प्रमाणपत्रहरूमा प्रमाणित गर्न सजिलो पर्ने थियो। उसले मन्त्रालयका सबै कोठाहरू चहार्यो। सुरेनको नेमप्लेट पनि देखेन र उसलाई पनि भेटेन।

सुरेश उपसचिवको कोठामा पस्यो र नमस्कार गर्दै सोध्यो– ‘सर अधिकृत सुरेन सरको कोठा कता होला ?’
उपसचिवले भन्नुभयो– ‘तपाईँलाई भ्रम भएछ। उहाँ अधिकृत होइन खरिदार हो।’

उनले सहयोगीलाई बोलाएर सुरेनलाई भेट्न पठाइदिए। सुरेन कुनै सहसचिवका पी.ए. थिए। सुरेशले भेट्यो र भन्यो– ‘तपाईँ अधिकृत सुरेन होइन र ?’ यो सुनेर सुरेनको मुख रातो भयो।

तैपनि ऊ सहज भएर बोल्यो– ‘गाउँमा मलाई उट्पट्याङ् केटाहरूले उडाए होलान्। तपाईँलाई भ्रम भयो। यसरी भ्रम पाल्ने जीवनको परीक्षामा सफल हुँदैन।

म अधिकृत नभएर के भयो ? गाउँदेखि तपाईँ खोज्दै आउनुभयो, भन्नुहोस् म तपाईँलाई के सहयोग गर्न सक्छु ?’ यो सुनेर सुरेशले रातोमुख पार्दै सुरेनलाई हेरिरह्यो।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved