चन्द्रागिरि- दुई कविता

प्रिय चन्द्रागिरि !
प्रतिदिन मीठो अनुभूतिपूर्ण
तिमीसितको यो मौन संवादलाई
अब म अमिट शब्दहरूमा कोर्नेछु
तिमी र मेरो बीचको
यो अटुट र अन्तरङ्ग मधुमय सम्बन्धलाई
अब म मनको शिलामा कुँद्नेछु

नेपालभ्युज

चन्द्रागिरि- दुई कविता

चन्द्रागिरि म तिमीलाई हेरिरहने गर्छु

–कृष्ण सेन ‘इच्छुक’

कृष्ण सेन ‘इच्छुक’

प्राचीमा घाम उदाउनुअघि
प्रभाती स्वर्णिम किरणहरूले
धर्तीमा रक्तिम आभा फैलाउनुअघि
प्रतिदिन चरीहरूको चिरबिरसँगै
म सबेरै उठ्ने गर्छु
र तिमीलाई हेरिरहने गर्छु।
अस्ताचलमा घाम अस्ताउनुअघि
गोधूलि प्रकाशमा उदास मुस्कान छरेर
तिमीले विदाइमा हात हल्लाउनुअघि
प्रतिदिन म
सुदूर क्षितिजमा नियाल्ने गर्छु
र तिमीलाई हेरिरहने गर्छु।
प्रिय चन्द्रागिरि !
भद्रगोलको साँघुरो पटाङ्गिनीबाट
एक जुग जस्तै एक दशकअघि
तिमीलाई देखेको थिएँ
एक जुग जस्तै एक दशाब्दीअघि
पुनः म तिमीलाई देखिरहेको छु
र यो चार पर्खालभित्र बन्द
सानो आँखीझ्यालबाट
हरेक दिन पर्खाल बाहिरको
खुला र निर्बन्ध संसार चिहाउँदै
तिमीलाई एकटक हेरिरहने गर्छु।
प्रतिदिन साँझ–बिहान
चञ्चल हावा जस्तै
अधीर मन र बेचैन भावले
मैले तिमीलाई सप्रेम हेर्नु
र, प्रत्युत्तरमा लज्जाले मुस्कान खोज्दै
तिमीले मलाई हेरेर टोलाइरहनु
एउटा नित्यक्रम बनिसकेको छ
र, यसरी शुरु भएको
हाम्रो गाढा परिचयको स्नेहबन्धन
दिन प्रतिदिन
झन् बलियो भएर कसिँदै गएको छ
प्रिय चन्द्रागिरि !
बन्दी जीवनका पीडा र विषादमय घडीमा
तिम्रो आत्मीय उपस्थिति मलाई
मध्यान्हको चर्को गर्मीमा
डाँडाको शीतल चौतारी जस्तै भएको छ
तिम्रो एक झलक मीठो मुस्कान
मरुभूमिको थकित पथिकलाई
मनको तृष्णा मेटाउने
मनोरम हरियाली जस्तै भएको छ।

मेरा खुसीका हरेक क्षणमा मसँग
लाग्छ तिमी मन्दमन्द मुस्कुराइरहेकी हुन्छ्यौ
मेरा पीडाका हरेक पलमा
लाग्छ तिमी मर्माहत भएर
मलाई कोमल स्नेहले सुम्सुम्याइरहेकी हुन्छ्यौ
घामसँग छाया जस्तै
मेरा सुकुमार भावनाहरूसित
तिमी एकाकार भएर
लाग्छ मलाई प्रेमालिंगनमा कसिरहेकी हुन्छ्यौ।
भद्रगोलको साँघुरो पटांगिनीमा उभिएर
विकल मनको गहन भावमा डुबेर
मेरो भागको एक टुक्रा खण्डित आकाशमुनि
मौन, उदास र चुपचाप
प्रतिदिन दूर क्षितिजमा तिमीलाई नियालिरहनु
सधैँ भेटका निम्ति व्यग्र भए झैँ
मौन र निर्विकार उभिइरहेकी तिमीसँग
सजल संवेदनाका सरल पलहरू साटेर
प्रतिदिन निःशब्द गुनगुनाइरहनु
एउटा नियमित दिनचर्या बनिसकेको छ
हाम्रो दैनिक जीवनमा बाधक बनेर
विशाल पर्खाल ठिङ्ग उभिए पनि
चल्दा शीतल बतास सिरसिर
प्रतिक्षण तिमीले सुम्सुम्याइरहे झैँ लाग्छ
पातहरू जब फिरफिर गर्दै
डालीहरूमा नाच्न थाल्छन्
मलाई तिमीले इशाराले बोलाए झैँ लाग्छ
जब भँगेराहरूका सुन्दर बथानहरू
मेरै वरिपरि उड्दै चिरबिराउन थाल्छन्
तिमीले मीठो स्वरमा
तिम्रो हालचाल सुनाइरहे झैँ लाग्छ
प्रिय चन्द्रागिरि !
प्रतिदिन मीठो अनुभूतिपूर्ण
तिमीसितको यो मौन संवादलाई
अब म अमिट शब्दहरूमा कोर्नेछु
तिमी र मेरो बीचको
यो अटुट र अन्तरङ्ग मधुमय सम्बन्धलाई
अब म मनको शिलामा कुँद्नेछु
हामी बीचको घट्दो यो मौन दूरी
र, हाम्रो बढ्दो आत्मीय सामीप्यताको प्रिय कथालाई
मैले काव्यको सुन्दर रूप दिनेछु।
मैले लेख्नेछु
हामीले भोगेको गतिशील वर्तमानलाई
मैले लेख्नेछु
हामीले देखेको जीवनशील यथार्थलाई
मैले लेख्नेछु वर्तमान युगको
गहन र नवीन भाव अनुभूतिहरूलाई
त्यहाँ सच्चा जीवन हुनेछ
त्यहाँ सच्चा स्पन्दन हुनेछ
प्रेम हुनेछ
संघर्ष हुनेछ
सन्देश हुनेछ
आशा र आकांक्षाहरूले भरिपूर्ण
सुन्दर र मृदुल सपना हुनेछ
बिपना हुनेछ
प्रिय चन्द्रागिरि !
समयको यस मोडसम्म
मैले कहिल्यै चाहिन निरुद्देश्य जीवन
उमेरको यस खण्डसम्म
मैले कहिल्यै बिताइन निष्क्रिय जीवन
काँडाको अँगालोमा पनि
मुस्कुराइरहने फूलहरूभित्र
मैले जीवनको सौन्दर्य विम्ब देखेँ
समुद्रको छातीमाथिबाट
उठिरहने अशान्त ज्वारभाटाहरूभित्र
मैले जीवनको यथार्थ प्रतिविम्ब देखेँ।
मैले चाहेँ सधैँ आँधी र हुरीमय जीवन
मैले चाहेँ सधैँ सार्थक र गरिमामय जीवन
मैले कुरुपताहरूबीच पनि सधैँ
जीवनको सुन्दरता खोजेँ
अर्थ खोजेँ महत्त्व खोजेँ
र, सधैँ नीचता र दुष्टताहरूलाई
हरपल घृणाले पिच्च थुकेँ।
मलाई वसन्तसँगै आउने
झञ्झावात् र उल्कापात प्रिय लाग्छ
कहाँ हुन्छ जीवन सपाट सुक्खा बगर जस्तो
मलाई वेगवान् पहाडी नदी
र जलप्रपात प्रिय लाग्छ।
म चाहन्छु जीवन
सुनछहरी जस्तै
स्वर्णिम बनोस्
म चाहन्छु जीवन सुनगाभा जस्तै
सुन्दर बनोस्
उत्कट प्रेम र उल्लासले भरिपूर्ण बनोस्
म सधैँ सत्यको पक्षपाती बनूँ
मेरो जीवन न्यायको हिमायती बनोस्।
उदात्त यिनै भावहरूमा
कारागारका कष्टकर नारकीय पलहरूलाई समेटेर
प्रिय चन्द्रागिरि !
म तिमीसित सधैँ–सधैँ मुस्कुराइरहेको हुन्छु
बन्दी जीवनका कटु एकाकी घडीहरूमा
फूलको सौन्दर्यसित जस्तै
तिमीसँग रागात्मक सम्बन्ध गाँसेर
मैले तिमीलाई अभिन्न सखा ठानिरहेको हुन्छु
मैले तिमीलाई नयाँ जीवनको
एउटा भरपर्दो सहयोद्धा देख्न चाहिरहेको हुन्छु।
यसरी प्राचीमा घाम उदाउनुअघि
प्रभाती स्वर्णिम किरणहरूले
धर्तीमा रक्तिम आभा फैलाउनुअघि
चरीहरूको चिरबिरसँगै
म सबेरै उठ्ने गर्छु
र तिमीलाई एकटक हेरिरहने गर्छु।
अस्ताचलमा घाम अस्ताउनुअघि
गोधूलि प्रकाशमा उदास मुस्कान छरेर
तिमीले विदाइमा हात हल्लाउनुअघि
म दूर क्षितिजमा नियाल्ने गर्छु
र, तिमीलाई अपलक हेरिरहने गर्छु।

 

चन्द्रागिरि

–दीनानाथ शर्मा

दीनानाथ शर्मा

चन्द्रागिरि चढ्दै गर्दा
तिम्रो खोकिलाभित्र इच्छुक भेटेँ
भञ्ज्याङको चौतारीमा
यात्री कविता कोर्दै गरेको देवकोटा भेटेँ
अलि तल चित्लाङमा सम्राट अशोक
जीर्ण चैत्यको अढेस लागेर उभिएको
देखेँ
चन्द्रागिरिको चोटीमा
पृथ्वीनारायण शाहले
उपत्यका नियाल्दै
जुँगामा ताउ लगाउँदै गरेको देखेँ
मेरो आफ्नै लक्ष्य भेटेँ
सफल भविष्यको सपना देखेँ
चन्द्रागिरि
मेरो प्यारो चन्द्रागिरि
हरियो दोपट्टामा सजिएर
अस्ताचलतिर
चार भञ्ज्याङभित्रको रखबारी गर्न
सत्असत्को छानबिन गर्न
युगौंयुगदेखि ठिङ्ग उभिएर
युग बदलियो
मानिस फेरिए
तर पनि तिम्रो
चौकीदारी सधैँ एकनास रह्यो
रहनेछ युग युगसम्म।

कोतपर्व, भण्डारखाल
पर्वै पर्व र काण्डैकाण्डको किल्लामा उभिएर
दरबार हत्याकाण्ड
कृष्ण सेनको हत्याको
चस्मदिद गवाह बनेर
पापीको अदालतसामु
न्याय नपाएकाहरूका पक्षमा
बकपत्र गर्न नसके पनि
न्यायको पैरवी गर्न
किल्ला बनेर सधैँ
कृष्ण सेनहरूलाई
पोल्टामा लुकाएर
इन्साफका लागि
रखबारी गरिरहेछौ इतिहासको
मेरो चन्द्रागिरि
सलाम कृष्ण सेनहरूको।

आज तिमीलाई साक्षी राखेर
फेरि एकपटक मैले
तिम्रै वक्षस्थलबाट
एक चिम्टी माटो कोट्याएर
टीका लगाउँदै
संकल्प गरेको छु–
नयाँ यात्राको थालनी
उडान सिर्जनाको
परिवर्तन युगको।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved