रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग

नेपालभ्युज

रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग
फाइल फोटो

न्युयोर्क । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् ।

रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको मृत्यु भएको र लाखौँ विस्थापित भएको उनले जानकारी दिए ।

‘रुसले युक्रेन र युक्रेनी जनता विरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ,’ उनले भने । यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनु पर्ने उनको भनाइ छ ।

रुसलाई कारबाही गरेमा रुसले आक्रमण गरेका कारणले मृत्यु भएका हजारौँ मानिसको आत्माले शान्ति पाउने उनले तर्क गरे । रुसले आफ्नो देशमा आंशिकरुपमा सेना परिचालन गरेको घोषणा गरेकै बेला युक्रेनका राष्ट्रपतिले विश्व नेतालाई सम्बोधन गर्दै रुसलाई कारबाही गर्न माग गरेका हुन् ।

रुसले युक्रेनमा गत फेब्रअरीदेखि आक्रमण गरिरहेकाले रुसले देशभित्रको सुरक्षाकर्मीको सङ्ख्यामा पनि वृद्धि गरेको छ । अमेरिकाको न्युयोर्कमा सुरु भएको महासभामा विभिन्न देशका शीर्ष नेताले बोल्ने क्रम चलिरहेको छ । महासभा यही सेप्टेम्बर २७ सम्म चल्ने भएको छ ।  एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved