दुर्घटनाका घाइतेको उद्धारमा हेलिकप्टर प्रयोग गर्न गृहमन्त्री खाणको निर्देशन

दुर्घटनाका घाइतेको उद्धारमा हेलिकप्टर प्रयोग गर्न गृहमन्त्री खाणको निर्देशन
फाइल तस्वीर ।

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको भूमे गाउँपालिका–३ को क्याङ्सी बगरमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उद्धारमा हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका छन् ।

गृह प्रशासन र स्थानीय प्रशासन कार्यालयलाई गृहमन्त्री खाणले घाइतेको उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउन उक्त निर्देशन दिएका हुन् । गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि दुर्घटनामा घाइते भएकाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा गएको जानकारी दिए ।

काठमाडौँबाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका–२ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिए । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिएका थिए । उनले मकवानपुरको भीमफेदीमा भएको यात्रुबाहक बस दुर्घटनाबारे पनि जानकारी लिँदै घाइतेहरूको यथाशीघ्र उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी घाइतेहरूको यथाशीघ्र उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

भीमफेदी गाउँपालिकामा आज दिउँसो भएको दुर्घटनामा परेर सात जनाको मृत्यु भएको र १७ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । काठमाडौँबाट हेटौँडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved