नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै धनुषामा प्रदर्शन, राष्ट्रपतिको पुत्ला दहन

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै धनुषामा प्रदर्शन,  राष्ट्रपतिको पुत्ला दहन

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनको विरुद्धमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । बुधबार राष्ट्रपति भण्डारीको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टीले जनकपुरधाममा चक्काजाम गरेर विरोध प्रदर्शन गरेको हो । उनिहरुले जनकपुरधामको पिडारी  चोकमा चक्काजाम समेत गरेका थिए ।

लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलन गर्ने  चेतावनी दिएका छन् ।

यस्तै बृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै तमलोपाका नेता कार्यकर्ताहरूले बुधवार स्थानीय जनकचोकमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन् ।

संविधानको धारा ६१ को (४) मा ‘संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनी स्पष्ट रुपमा उल्लेख गरिएपनि राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधानको घोर उल्लंघन गरेको भन्दै तमलोपाले उनको राजीनामा माग्दै पुत्ला  जलाएको हो ।

तमलोपाकी नेतृ विभा ठाकुरले भनिन, ‘संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताविरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन । त्यसैले हामीले राष्ट्रपति भण्डारीको तत्काल राजीनामाको माग गरेका हौं ।’

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निणर्यलाई लिएर यतिबेला दलहरु दुई ध्रुवमा बाँडिएका छन् । सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् ।

ढल्केवरमा नागरिकता बिहिन युवाहरुले पनि जलाए राष्ट्रपति भण्डारीको पुत्ला  
धनुषाको ढल्केवरमा नागरिकताबिहिन संघर्ष समितिका युवाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जलाएका छन् । दुवै सदनबाट दुई पटक पारित गरिएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा नागरिकताबिहिन युवाले

ढल्केवर चोकस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि राष्ट्रपति भण्डारीको पुतला जलाएका हुन्  ।

पुत्ला जलाउनुअघि उनिहरुले राष्ट्रपति भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विरोधमा नाराबाजी समेत गरेका थिए । उनिहरुले नागरिकता विधेयक  शिघ्र प्रमाणीकरण हुनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved