चालु वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत मात्रै हुने एडीबीको प्रक्षेपण

नेपालभ्युज

 चालु वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत मात्रै हुने एडीबीको प्रक्षेपण

काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७९/८० (सन् २०२३) मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सिमीत हुने हुने प्रक्षेपण गरेको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै एडीबीले यस्तो प्रक्षेपण गरेको हो ।

एडीबीले गत अप्रिलमा ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको थियो । सन् २०२२ मा ५.८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा २०२३ मा केही संकुचन आउने अनुमान एडीबीले गरेको छ ।

यसो हुनुमा सरकारले अहिले लिएका नीतिहरू मुख्य कारण हुने एडीबीको विश्लेषण छ । सरकारले आयातमा अंकुश लगाइरहेको छ । यसले अर्थतन्त्रको विस्तारमा नकारात्मक असर पुग्ने एडीबीको भनाई छ ।

यस वर्ष सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आयात प्रतिस्थापनका कारण चालिएका कदमले घरेलु उत्पादन र उपयोगमा समेत असर पर्ने एडीबीको भनाइ छ । पछिल्लो समय कोरोना, डेंगु ज्वरोको तीव्र फैलावट, प्राकृतिक प्रकोप र भू-राजनीतिक उथलपुथलबाट समेत नेपालको आर्थिक वृद्धिमा असर पुग्ने एडीबीको अनुमान छ ।

सामान्य मनसुनका कारण कृषिको वृद्धिदर राम्रो हुने सम्भावना छ । तर, यसमा मलको अभावले धानको उत्पादनमा भने प्रतिकुल असर पर्ने अनुमान गरिएको छ ।

जलविद्युतको बढ्दो उत्पादन र उद्योगको क्षमता उपयोगमा वृद्धि हुने अनुमान गरिएको छ । ब्याजदरमा भएको वृद्धिले रियल इस्टेट, थोक तथा खुद्रा व्यापार भने प्रभावित हुनेछन् ।

आगामी निर्वाचनले खर्च बढाउने र जीडीपीको वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने एडीबीको अनुमान छ । एडीबीले मुद्रा स्फीति भने केही संकुचन हुने प्रक्षेपण गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved