अन्तरवार्ता

अहिले चिह्न मात्र लिएको हुँ, चुनावपछि म पनि पार्टीमा प्रवेश गर्छु : पुकार बम

अहिले म स्वतन्त्र उम्मेदवार नै हुँ । उहाँहरूको विधान र हाम्रो उद्देश्य मिलेकाले नै मैले घण्टी चिन्ह लिएको हुँ । रवि लामिछानेको पार्टीप्रति मेरो पनि आस्था छ । हिजो अभियानमा सँगै रहेका केही साथी पार्टीमा प्रवेश गरिसक्नुभएको छ । एक्लाएक्लै जानेभन्दा पनि सामूहिक हिसाबले अघि बढ्नुपर्छ भन्ने नै छ ।

नेपालभ्युज

अहिले चिह्न मात्र लिएको हुँ, चुनावपछि म पनि पार्टीमा प्रवेश गर्छु : पुकार बम

सामाजिक अभियन्ता पुकार बम चुनावी मैदानमा उत्रिएका छन् । उनी अहिले प्रचार-प्रसारमा व्यस्त देखिन्छन् । काठमाडौं क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका उनी दिनहुँ मतदातालाई भेटिरहेका छन् ।

पुकारले यसअघि २०७० र ७४ सालमा पनि उम्मेदवारी दिएका थिए । तर, सफलता हात लागेन । ०७२ सालको भूकम्पमा राहत वितरण, कोरोना महामारीको समयमा विपन्नलाई नि:शुल्क खाना खुवाउने र बिरामीलाई अक्सिजनको जोहो गर्न उनी सक्रिय थिए ।

‘अकुपाई बालुवाटार’ अभियान, डा. गोविन्द केसीको समर्थनमा भएको आन्दोलन, नेपाल खुल्ला छ, ‘नेताज्यु खबरदार , संविधान कहिले?’ जस्ता प्रतिरोधका राजनीतिक अभियानमा पनि सक्रिय भएर लागेका पुकार अब सदनबाटै आफ्ना कुरा सुनाउने योजनामा छन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा उनको प्रतिस्पर्धा कांग्रेसका प्रकाशमान सिंह, सम्भवत: राप्रपाबाट रवीन्द्र मिश्र लगायतसँग हुने सम्भावना छ । राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था उस्तै रहेकाले अब युवाको हस्तक्षेप जरुरी भएको बमको तर्क छ ।

यसै विषयमा नेपालभ्युजका लागि प्रकाश बस्यालले गरेको कुराकानी ।

निर्वाचनको तयारी कस्तो छ ? 

निकै सकारात्मक र उत्साहजनक रूपमा तयारी अघि बढेको छ । जेठ २० गते मैले उम्मेदवारी घोषणा गरेयता नै मतदातासँगको भेटलाई  तीव्रता दिइरहेको छु । उहाँहरूका कुरा सुन्ने र मेरा एजेन्डा सुनाउने काममा नै व्यस्त छु । उम्मेदवारी घोषणामा पनि पहिलो नै भएको छु र निर्वाचनपछि पनि पहिलो हुनेगरी प्रचार-प्रसार र मतदाता भेटघाटमा समय दिइरहेको छु ।

काठमाडौं क्षेत्र नम्बर एक नै किन रोज्नुभयो ?

एक त यो मेरो गृहक्षेत्र पनि हो । अर्को कुरा युवाले चुनौती सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता हो । युवा पुस्ताले चुनौती लिन डरायो भने यो देशको उन्नति प्रगति कसले गर्ने ? डराउने हो भने पुराना पुस्ता जसले विरासतको बलमा सधैँ आफूलाई शक्तिशाली ठान्ने या भनौ शक्तिशाली बने तिनलाई हटाउन कहिल्यै सकिँदैन भनेर यो क्षेत्र रोजेको हुँ । 

अहिले झन् गठबन्धनको शक्ति छ, तीनपटक निर्वाचित र लामो विरासत बोकेका व्यक्ति पनि त्यही क्षेत्रबाट उठ्ने तयारीमा छन् । डर लागेको छैन ? 

विगतका निर्वाचन हेर्दा यो क्षेत्रले नयाँ-नयाँ इतिहास रचेको पाइन्छ । विद्रोही युवा भनेर चिनिने नानिमैयाँ दाहालले पनि यही निर्वाचन क्षेत्रबाट चुनाव जित्नुभएको थियो । यहाँका मतदाता शिक्षित छन् । के सही र के गलत सजिलै थाहा पाउँछन् । अर्को कुरा तीन पटकसम्म सांसद भएका अथवा सरकारमा पटक-पटक पुगेका दलले अहिलेसम्म के गरे भन्ने प्रश्न मतदाताले पक्कै उठाउनुहुने छ । त्यसैले, मलाई चुनौती त छ, तर,मतदाताको विश्वास पनि छ ।

स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारको पक्षमा आएको जनमत देखेर हौसिनुभएको हो ?

यो कुरालाई गलत पनि भन्दिनँ । जनता राजनीतिक दलका व्यवहारबाट कति चिढिएका वा निराश भएका रहेछन् भन्ने स्थानीय निर्वाचनले देखाइदियो । स्वतन्त्र रूपमा चुनाव जितेर आएकाले कस्तो काम गरिरहेका छन् भन्ने कुरा हामै अगाडिछ । स्वतन्त्रबाट जितेकासँग नागरिक निकै खुसी देखिन्छन् ।

निराश भएकाहरूमा केही उत्साह जाग्न थालेको छ । जुन क्रेज र स्पिड बालेन शाह र हर्क साम्पाङको देखिएको छ यसले सबैलाई परिवर्तन सम्भव छ, तर व्यक्ति सही हनुपर्दो रहेछ भन्ने लागेको छ । यी सबै हेर्दा एक प्रकारले हैसिएको पनि हो । 

योभन्दा अघि दुईपटकसम्म पराजित हुनुभयो । यो पटक जित्ने आधार के छ ?

निर्वाचनमा पराजय भोगे पनि मेरा एजेण्डा स्थापित गर्न निरन्तर लागिरहेको छु । यसअघि, केही टेक्निकल कुरा मिल्न सकेन र पराजित हुनु पर्‍यो । तर यो पटक विगतका कमजोरी सच्याउँदै निर्वाचनमा होमिएको छु । 

विगतका निर्वाचनमा मतदातासँग भेटेर उहाँहरूको कुरा सुन्ने र आफ्ना कुरा राख्नै समस्या थियो तर अहिले अधिकांशले मेरा काम र मलाई चिनिसक्नुभएको छ त्यसैले योपटक अलि सहज देख्छु । 

मैले यसअघि गरेका काम स्मरण गराइरहेको पनि छु । हामीले ‘बन्द सधैका लागि बन्द’ भन्ने अभियान चलायौँ अहिले बन्दको संस्कृति अन्त्य भएको छ । भ्रष्टाचार विरोधीअभियान अहिले पनि जारी छ ।

अर्को कुरा कर्णाली जस्तो ठाँउ जहाँ हिजो एउटा डाक्टर हुन्थेन आज त्यो ठाँउमा डाक्टर उत्पादन गर्ने मेडिकल कलेज बनेको छ । यो सबै हुनुमा हाम्रो खबरदारीको पनि महत्त्वपूर्ण भूमिका छ भन्ने जनताले बुझिसकेका छन् । त्यही नै मेरो जित्ने आधार हो । 

जितेपछि तपाईले गर्न खोजेको के हो ? जनताले के का आधारमा मत दिने ? 

संसद् भनेको कानुन बनाउने थलो हो । संसदले बनाउने कानुनले जनतालाई दुख दिने नभई सहज बनाउने हुनुपर्छ । त्यस्तो कानुन बनाउन को योग्य छ भन्ने मतदाताले बुझ्न जरुरी छ ।

मैले घरदैलोको क्रममा पनि भन्ने गरेको छु कि म भन्दा योग्य कोही उम्मेदवार आएछन् भने उहाँलाई भोट दिनु । जो गएपनि योग्य जानुपर्छ भन्ने हो । हामीले विगत पन्ध्र वर्षमा विभिन्न फोरमबाट उठाएका मुद्दा छन् तिनै लागू गर्नु नै मेरो मुख्य उद्देश्य हो । जस्तै हामीले शिक्षालाई शिपसँग जोड्नुपर्‍यो भनिरहेका छौँ,  स्वास्थ्य र शिक्षा सर्वसुलभ र सबैको पहुँचमा हुनुपर्छ भनेका छौं । 

अर्को कुरा संसद र सिंहदरबार खुला हुनुपर्छ भन्ने सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो । संसद र सिंहदरबार पारदर्शी हुनासाथ धेरै विकृति रोकिन्छ । त्यसपछि, सम्पदा संरक्षणको मुद्दा, वैदेशिक रोजगारीमा रहेकाको मतदानको व्यवस्था लगायतका माग पनि छन् । यिनै एजेन्डा हो हामीले संसदमा उठाउने ।

घण्टी चुनाव चिह्न लिने भन्नुभएको छ, अब स्वतन्त्र रहनुभएन नि ? 

अहिले म स्वतन्त्र उम्मेदवार नै हो । उहाँहरूको विधान र हाम्रो उद्देश्य मिलेकाले नै मैले घण्टी चिह्न लिएको हुँ । रवि लामिछानेको पार्टीप्रति मेरो पनि आस्था छ ।

हिजो अभियानमा सँगै रहेका केही साथी पार्टीमा प्रवेश गरिसक्नुभएको छ । पार्टी बाहिर रहेका केही साथीहरू चुनावसम्म बाहिर नै रहने भन्ने छ । पार्टी प्रवेश नगरेको हुनाले मलाई स्वतन्त्र नै भन्दा ठीक हुन्छ । 

त्यसो भए चुनावपछि पार्टी प्रवेश गर्नुहुन्छ ?

अहिलेको अवस्था हेर्दा सम्भावना त्यस्तै छ । किनभने हामीले जुन माहोल बनाइरहेका छौँ । त्यहाँ एक्ला-एक्लै जाने भन्दा पनि सामूहिक हिसाबले अघि बढ्नुपर्छ भन्ने नै छ ।

आफूलाई वैकल्पिक दाबी गर्नेहरू अहिले छिन्नभिन्न छन्, नयाँ बन्ने पार्टीका चुनौती के रहेछन् ? 

नेतृत्व क्षमता लगायतका विषय वैकल्पिक राजनीतिका चुनौती हुन् जस्तो लाग्छ । अर्को कुरा सामूहिक चुनौती नबुझेर अघि बढ्दा पनि कहिलेकाही दुर्घटना हुनसक्छ ।

हामी सबैले के बुझ्न जरुरी छ भने यत्रो वर्षदेखिको मेहनतलाई बढाइएन भने फेरी यही राजनीतिक दल र पुरातनवादी नेतालाई नै फाइदा पुग्छ । त्यसैले आफ्नो उद्देश्यमै बढी केन्द्रित हुनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved