सिम्रौनगढ नगर कार्यालय तोडफोड

सिम्रौनगढ नगर कार्यालय तोडफोड

जनकपुरधाम  । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा तोडफोड गरिएको छ । विद्यार्थीहरुलाई नगरपालिकाले भ्रमण खर्च उपलब्ध नगराएको भन्दै कचोर्वा, कंकाली, खजानी माद्यमिक विद्यालय लगायत कक्षा ९ र १० का विद्यार्थीहरूले नगर कार्यालयमा तोडफोड गरेका हुन् ।

विद्यार्थीको तोडफोडले कार्यालयको दैनिक कार्यसमेत प्रभावित हुने भएको छ । लेखा, आइटी, जिन्सी, योजना शाखाका सबै कम्प्युटर फुटेका छन् । नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको कोठामा समेत क्षति पुर्‍याइएको छ ।
कार्यालयका झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण, गाडी, टिभी, एसी, सोफा लगायतमा तोडफोड गरिएको नगरपालिकाका अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार लाखौैं रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ।

भ्रमण खर्च माग्न विद्यार्थीहरु नगर प्रमुख किशोरी साह कलवारलाई भेट्न गएका थिए । तर नगर प्रमुख कलवारले डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र दसैं नजिक विद्यालय मार्फत बजेट उपलब्ध गराइदिने विद्यार्थीलाई आश्वासन दिएका थिए । तर, विद्यार्थी समूहले मेयर साहको कुरा अटेर गर्दै कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको प्रत्यक्षदर्शीले बताए । विद्यार्थीहरूले ढुंगामुढा समेत गरेका थिए ।

नगर कार्यालय तोडफोडको सूचनापछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी घटनास्थल पुगेर विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो । विद्यार्थीहरुलाई नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गर्नुका साथै लाठीचार्ज समेत गर्नु परेको थियो । लाठीचार्जबाट केही विद्यार्थीहरु घाइते भएका छन् ।

घटनापछि बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनास्थलमा पुगेर जानकारी लिए । प्रहरी उपरीक्षक बोगटीले घटनाबारे विस्तृत अनुसन्धान गरी दोषीलाई कारबाही गरिने बताए ।
नगर प्रमुख कलवारले केही अराजक विद्यार्थीलाई कार्यालयकै केही कर्मचारीले उक्साएर घटना गराएको आरोप लगाए । यसबारे प्रहरीलाई सबै सूचना दिएर कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved