कांग्रेसमा देउवाको रजगज : विधानको उपेक्षा, संसदीय समिति अपूर्ण

पदाधिकारीमा सभापति देउवाको स्पष्ट बहुमत छ । उनको पक्षका आठ जना छन् । कोषाध्यक्ष मनोनित गर्न बाँकी छ । दुई महामन्त्री , एक उपसभापति , र दुई सहमहामन्त्रीबाहेक पदाधिकारीमा देउवापक्षकै नेता छन् । त्यसमा पनि दुवै महामन्त्री अस्वस्थ भएकाले अहिले देउवालाई हाइसन्चो भएको छ । 

नेपालभ्युज

कांग्रेसमा देउवाको रजगज : विधानको उपेक्षा, संसदीय समिति अपूर्ण

काठमाडौं। नेपाली कांग्रेस आसन्न निर्वाचनका लागि उम्मेदवार तय गर्ने कसरतमा छ । गठबन्धनको सहारामा निर्वाचनमा होमिएको कांग्रेसले सोमबार समानुपातिक उम्मेदवारको टुङ्गो लगाउँदै छ ।

त्यसपछि प्रत्यक्ष तर्फका उम्मेदवार चयन गर्ने उसको तयारी छ । सत्ता गठबन्धनमा सिट संख्याको भागबण्डा मिलेपछि मात्र पार्टीका उम्मेदवार तय गर्ने कांग्रेस नेता तथा सिट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले भने ‘पहिला सिटसंख्या र क्षेत्र टुङ्गो लाग्नुपर्‍यो, हाम्रो भागमा पर्ने क्षेत्र निश्चित भइसकेपछि मात्र उम्मेदवार छनोट प्रक्रिया सुरु हुन्छ । गठबन्धनमा सहमति हुनासाथ हामी अघि बढ्छौं।’

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने दिन हो ।

संसदीय समिति नै अपूर्ण

कांग्रेसको विधानअनुसार संसदीय समितिले टिकट वितरण गर्छ । तर, कांग्रेसको संसदीय समिति अहिलेसम्म अपूरो छ । विधानअनुसार महाधिवेशन भएको एक महिनाभित्र समिति गठन गरिसक्नुपर्ने थियो, तर सभापति शेरबहादुर देउवाले  तदारुकता नदेखाउँदा दश महिनासम्म पनि समिति अपूरै छ । गत वैशाख ११ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति त बनायो तर पूर्णता पाउन भने सकेको छैन ।

कांग्रेसको केन्द्रीय संसदीय समिति २५ सदस्यीय हुन्छ। जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ जना सहमहामन्त्री, कोषाध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । देउवाले कोषाध्यक्ष मनोनीत गर्न बाँकी छ । यस्तै, अन्य ११ जना सदस्य केन्द्रीय समितिबाट मनोनित गर्ने व्यवस्था छ । हालसम्म नेता रामचन्द्र पौडैल मात्रै मनोनीत भएका छन् ।

स्थानीय तहको निर्वाचनमा समेत अपूरो समितिले उम्मेदवार तय गरेको थियो । अब पनि अवस्था त्यस्तै हुने भएको छ ।

विधान नै पालना गर्दैनन् देउवा

पार्टीलाई अनुशासनमा राख्ने नै विधानले हो । तर, राजनीतिक दल भने विधान भन्दा नेतृत्वको सुविधाअनुसार चल्ने गरेका छन् । लोकतान्त्रिक पार्टीको रटान लगाएर नथाक्ने कांग्रेसले नै विधानलाई टोकरीमा राखेर आफूखुसी निर्णय गर्ने गरेको छ । कांग्रेस विधानअनुसार कुनै पनि तहका उम्मेदवारको टुंगो उम्मेदवारी दर्ता गर्नुभन्दा एक महिना पहिले नै तय गरिसक्नुपर्छ ।

निर्वाचन आयोगको कार्यतालिका हेरेर विधान पालना गरेको भए कांग्रेसले भदौ २२ गते भित्रै उम्मेदवारको टुङ्गो लगाइसक्नुपर्ने थियो । तर, अहिलेसम्म भागबण्डा नै मिल्न सकेको छैन ।

इतर समूहले दबाब दिन सकेन : राजनीतिक विश्लेषक 

पार्टी पदाधिकारीमा सुविधाजनक बहुमत पुगेकाले देउवा आफ्नो गतिबाट टसमस नभएको राजनीतिक विश्लेषक शंकर तिवारी बताउँछन् । कांग्रेसमा इतर समूहको दबाब पेचिलो नबन्दा सभापति देउवाले बाटो परिवर्तन गर्न नचाहेको उनको भनाइ छ ।

उनले भने, ‘देउवाको बानी पहिल्यैदेखि ढिलाइ गर्ने हो । पार्टीमा इतर समूहले दबाब दिन नसकेका कारण यो बानी परिवर्तन हुन सकेको छैन । यदि, पार्टीभित्र सुविधाजनक बहुमत हुँदैनथ्याे भने उहाँको बानी परिवर्तन भइसक्थ्यो ।’ संसदीय समितिलाई पूर्णता दिँदा पनि देउवाकै कोटाबाट बढी सदस्य थपिने भएकाले त्यो झन्झटमा नलागेको तिवारीले बताए ।

पदाधिकारीमा सभापति देउवाको स्पष्ट बहुमत छ । उनको पक्षका आठ जना छन् । कोषाध्यक्ष मनोनीत गर्न बाँकी छ । दुई महामन्त्री, एक उपसभापति, र दुई सह-महामन्त्रीबाहेक पदाधिकारीमा देउवापक्षकै नेता छन् । त्यसमा पनि दुवै महामन्त्री अस्वस्थ भएकाले अहिले देउवालाई हाइसञ्चो भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved