पुल नहुँदा ज्यानको जोखिम मोलेर विद्यालय जान विद्यार्थी बाध्य

पुल नहुँदा ज्यानको जोखिम मोलेर विद्यालय जान विद्यार्थी बाध्य

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ सिमात खोलामा पुल नहुँदा ज्यान जोखिममा राखेर विद्यार्थीहरू परीक्षा दिन जाने गरेका छन् । बकैयास्थित कालाभैरव प्राथमिक विद्यालय धेत्रे दमारमा अध्ययनरत विद्यार्थीहरू बर्खा तथा हिउँदमा ज्यान जोखिममा राखेर सिमात खोला तरेर विद्यालयमा अध्ययन गर्न जाने गरेका हुन् ।

सिमात खोला बर्खा लागेपछि सधैँजसो उर्लन्छ । विद्यार्थीहरू सोही खोला तरेर विद्यालयमा अध्ययन गर्न जानुपर्दछ । तर, बर्खायाम लागेपछि बेस्सरी उर्लने खोलाका कारण कतिपय विद्यार्थी विद्यालय जानबाटै वञ्चितसमेत हुनेगरेका छन् । सामान्य पानी पर्दैमा उर्लियर आउने सिमात खोला पानीको भेलसँगै साना ठूला ढुंगाहरूसमेत बगायर ल्याँउदछ । जसका कारण विद्यालय जाने विद्यार्थीलगायत स्थानीयहरूले समेत सास्ती खेप्न बाध्य छन् ।

बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाडा, अंजिगरे लगायतका स्थानबाट विद्यार्थीहरू करिब ४५ मिनेट पैदल हिँडेर विद्यालय पुग्ने गरेका छन् । विद्यालयमा पढ्न जान विद्यार्थीहरू दैनिक मृत्युसँग जोरी खेल्दछन् । प्राथमिक विद्यालयमा अध्ययनरत साना बालबालिकालाई उर्लने सिमात खोला बर्खामा मात्र हैन हिउँदमा समेत बाधा बन्ने गरेको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको यस विद्यालयमा हाल २७ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको विद्यालयले जनाएको छ । यहाँ बालकक्षादेखि कक्षा ३ सम्मको अध्ययन हुने गरेको छ । धेत्रे र चुवार पाखाका बालबालिकाहरू बकैयाको सिमात खोला तरेर विद्यालयमा अध्ययन गर्न जाने गरेको स्थानीय समाजसेवी रूपेन घलेले जानकारी बताए ।

हाल विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ । भदौ ३० गतेदेखि सुरु भएको त्रैमासिक परीक्षा असोज ५ गतेसम्म सञ्चालन हुनेछ । खोलामा पुल नहुँदा भदौं ३१ गते ठुलो पानी परेका कारण विद्यार्थीहरूले खोला तर्न नसक्दा परीक्षासमेत स्थगित गर्नुपरेको प्रध्यानाध्यापक चेत वहादुर घलेले बताउँछन् । विद्यालयले हाल लिइरहेको त्रैमासिक परीक्षामा सहभागी हुन विद्यार्थीहरू आउन नसकेपछि विद्यालय व्यवस्था समितिका अध्यक्ष विजय सिं घिसिङ, प्रध्यानाध्यापक चेतबहादुर घले र कार्यालय सहयोगीलगायत मिलेर विद्यार्थीलाई खोला तारेर विद्यालय ल्याएका तस्बिर सामाजिक सञ्जालमा चर्चाको विषयसमेत बनेको थियो ।

पुल नहुँदा विद्यार्थी विद्यालय आउन परेको समस्याबारे यहाँका स्थानीय, अभिभावक तथा विद्यालयका प्रअले पनि पालिका तथा वडालाई जानकारी गराए पनि यस स्थानमा झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरूको गुनासो छ । विद्यार्थीलाई दैनिक विद्यालय जान र फर्किने क्रममा सिमात खोला तर्न समस्या हुने गरेको छ । खोला तर्दा कापी, किताब तथा कहिलेकाहीँ ड्रेस नै भिज्ने गरेको विद्यार्थीको दु:खेसो छ ।

धेत्रे र चुवार पाखाका समुदायलाई विद्यालयसँग जोड्नका लागि सिमात खोलामा पक्की पुल भन्दा झोलुङ्गे पुल निर्माण गर्न सके आर्थिक रूपमा समेत सहज पर्ने प्रअ घले बताउँछन् । वर्षौदेखि सिमात खोलाले विद्यार्थीहरूलाई पार गर्न कठिन हुने गरेको उनी बताउँछन् । कर्यौ विद्यार्थी ४५ मिनेट टाढाबाटसमेत आउने गर्दछन् । त्यसमा बर्खाको समय खोला तर्न नसक्दा विद्यार्थीका नैरास्यता देखिने गरेको घले बताउँछन् । ‘केही दिन अघि मात्र हामी आफैँले परीक्षा दिन आएका विद्यार्थीलाई बोकेर तार्नुपर्‍यो,’ उनी बताउँछन् ।

२०५३ सालमा स्थापना भएको यस विद्यालयमा राहत दरबन्दी १ जना प्रधानाध्यापक र १ जना कार्यालय सहयोगी मात्रै रहेका छन् । बालकक्षा शिक्षिका भने अभाव रहेको विद्यालयले जनाएको छ । विद्यालय भवनसमेत जीर्ण अवस्थामा रहेको विद्यालयका प्रअ घलेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved