मिथिलाञ्चलको लोकनाच लोप हुँदै

मिथिलाञ्चल सहित तराई\मधेसको लोकगाथा बोकेको नाच लोप हुने अवस्थामा पुगेको छ। लोकनाचहरू लोप हुन थालेपछि त्यससँग सम्बद्ध कलाकारहरू पलायन हुन थालेका छन्।

नेपालभ्युज

मिथिलाञ्चलको लोकनाच लोप हुँदै

जनकपुरधाम। मिथिलाञ्चल सहित तराई\मधेसको लोकगाथा बोकेको नाच लोप हुने अवस्थामा पुगेको छ। लोकनाचहरू लोप हुन थालेपछि त्यससँग सम्बद्ध कलाकारहरू पलायन हुन थालेका छन्।

सातौँ र आठौँ शताब्दीदेखि प्रचलनमा आएको मिथिला क्षेत्रका प्राचीन लोकनाच अल्लाह रुदल, राजा सलहेस, शितवसन्त, रुनाझुना, बादशाह, गोपीचन्द, कुँवर बृजमान, सुन्दर वनको सुन्दर फूल, गुगलीघाट, सांमाचकेवा, कमला मैयाँजस्ता लोप हुन लागेको हो। त्यसैगरी, जयविषहरा, दुलहा दयासिंह, बिदेसिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, महराई शोखामहाजन, महराई कारिक महाराज, आल्हा रुदल, झगडु मल जस्ता ऐतिहासिक नाच पनि लोप भएका छन्।

यी नाचहरु लोप हुन थालेपछि यससँग सम्बन्धित कलाकारहरू पनि पलायन हुन थालेका छन्।

१० वर्षको उमेरदेखि लोक नृत्य गर्दै आउनु भएको धनुषाको मिथिला नगरपालिका–१० का ४५ वर्षीय पुनित रामले आफूले सिकाएका २० जना कलाकार पलायन भएको बताए। कलाकारहरू पलायन भएसँगै नाच कम्पनी पनि बन्द भएको छ। पुनितको कम्पनी पनि कलाकारको अभावका कारण बन्द भएको छ।

लोक तथा पौराणित कथामा आधारित नाचका भिडियोहरू विभिन्न माध्यमबाट बजारमा पाइन थालेकाले पनि नृत्य कम्पनी प्रभावित भएका पुनितको बुझाइ छ। पुनितका अनुसार लोकनाचहरु लोप भएपछि धनुषा जिल्लामा मात्र १०० भन्दा बढी कम्पनी बन्द भइसकेका छन्।

विशेष गरी ग्रामीण क्षेत्रमा लोकप्रिय यस्ता नृत्य तत्कालीन नेकपा माओवादीको सशस्त्र आन्दोलनका बेला देखि प्रभावित भएको हो। अहिले आक्कलझुक्कल वैवाहिक समारोह र मेलामा त्यस्ता नृत्य प्रस्तुत हुने गरेका वटेश्वर गाउँपालिका–५ का शान्तिपुरका जोगिन्दर महरा बताउँछन्। उनले यस्ता नाचलाई राज्यले संरक्षण गरी कलाकारलाई प्रोत्साहन गर्नुपर्ने बताए।

महोत्तरीको पोखरभिन्डाका रामप्रसाद पासवानले लामो समयदेखि जंगली बादशाह कम्पनी नामक लोकनाच देखाउने कम्पनीमा काम गरेर परिवारलाई पाल्दै आएका थिए  । तर‚ अचेल नाचको माग हुन छोडेपछि उहाँ मजदुरी गरी परिवार पाल्न बाध्य छन्।

नाच कम्पनीहरू बन्द हुँदा यसमा आवद्ध कलाकारहरू रोजगारीका लागि खाडी तथा छिमेकी मुलुक भारत पलायन भएका छन्।

धनुषा हरिहरपुरका ६२ वर्षीय जीवछ पासवान मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको चौधौं शताव्दीका प्रतापी ‘राजा सलहेश’ भेषमा अभिनय गर्दै आएका थिए। पासवान मञ्चमा उत्रिँदा दर्शकले तालीको गडगडाहड गुन्जाउँथे।

जीवछ सहित २५ जना आवद्ध मिथिला नाच पार्टीले धनुषा, महोत्तरी, सिरहा, सप्तरी र भारतको विहार लगायतका क्षेत्रमा राजा सलहेसको कथा नाटकको माध्यमबाट प्रस्तुत गरिसकेको उनले बताए।उनको टोलीले एक रात नाटक देखाए बापत ४० देखि ६० हजार रुपैयाँ त्यति बेला पाउँथे। ३५ वर्ष अभिनयमा बिताएका जीवछका पछिल्लो समय लोकनाचप्रति दर्शकको रुचि नभएको बताए ।

“मिथिला संस्कृतिका लोक गाथाका नाचहरूको गाउँघरमा माग छैन,” जीवछले भने, “त्यही भएर कलाकारहरू रोजगारीका लागि कतिपय विदेश पलायन भए।” यस्ता नाचको संरक्षणमा सरकारको कुनै पहल नभएकाले कालाकारहरू कामको खोजीमा विदेशिएको जीवछको भनाइ छ।

पहिला पहिला प्रतिष्ठाका लागि पनि ठूलो रकम खर्चेर ग्रामीण क्षेत्रमा लोक नाच मञ्चन गराइन्थ्यो। पछिल्लो समय कोरोना महामारीको कारण भएको लकडाउनले यस्ता कार्यक्रमहरू हुन छाडेको छ। जसका कारण नाच कम्पनीहरु एकपछि अर्को गर्दै बन्द हुँदै गएका छन्।

धनुषाको हरैयाका भरोसी महराले भने, “केही वर्षअघिसम्म नाच कम्पनीबाटै वार्षिक पाँच÷सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो। त्यो बेला मिथिला क्षेत्रमा लोक नाच प्रसिद्ध थियो तर अहिले यी मौलिक नाचहरु लोप हुँदै गएको छ।”

नाच कम्पनी बन्द भएपछि परिवार पाल्न पनि समस्या भएकाले आफूसँगै नाच कम्पनीमा काम गर्दै आएका साथीहरु रोजगारीका लागि भारतको पञ्जाब र लुधियाना गइसकेको र आफूले पनि भारत तिरै जाने सोच बनाएको धनुषा हरिहरपुरका दिलिप महराले बताए।

सिडी र मोबाइलको बढ्दो प्रयोगका कारण ऐतिहासिक लोक नाच मञ्चन गर्ने कम्पनीहरु विस्थापित हुन थालेको नाच कम्पनीको जिम्मेवारी बहन गरिसकेका  धनुषाको किसानपुरका राम लोचन पासवानले बताए। उनले भने, “ऐतिहासिक नाचहरु लोप हुन थालेपछि धुनषा जिल्लामा रहेका एक सयभन्दा बढी नाच कम्पनी बन्द भएको छ।”

विगतमा ठूलो नाम कमाएका नाच कम्पनीहरु बन्द भएपछि त्यसमा संलग्न करिब पाँचहजार भन्दा बढी कलाकारहरू बेरोजगार भएर कामको खोजीमा विदेश पलायन भइसकेका बताइन्छ।

मिथिला क्षेत्रका ग्रामीण इलाकाहरुमा लोकप्रिय रहेका यस्ता लोक नाचहरु खासगरी विवाह, शुभकार्य, उत्सव र चाडपर्व, मेलाका बेला प्रदर्शन गरिन्थ्यो। पछिल्लो समय ग्रामीण क्षेत्रमा हुने विवाहमा मात्र लोक नाचहरुको माग आउने गरेको महोत्तरीको सिमरदहीका रामजिवन सदा बताउँछन्। वर्षमा एक दुई पटक मात्र लोक नाच हुने गरेकाले कलाकारहरू रोजगारीको खोजीमा पलायन भएको उनको बुझाइ छ।

ऐतिहासिक र पौराणिक कथामा आधारित लोकनाचहरू लोप हुन लागेकोमा संस्कृतिविद्हरु समेत चिन्तित बनेका छन्। संस्कृतिविद् प्राध्यापक योगेन्द्र मण्डलले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरको रुपमा रहिआएका लोकनाचहरु लोप हुनु दुःखद् भएको बताउँछन्। उनले यस्ता लोक नाचहरुको संरक्षणमा सरकारको तर्फबाट उचित कदम चालिनुपर्ने धारणा व्यक्त गरे।

मिथिला क्षेत्रसँग जोडिएको ठाउँहरुमा पल्लवित र पुष्पित यस्ता लोक नाचको संरक्षण र संम्बद्र्धनमा ध्यान नदिए मिथिला संस्कृतिहरु हराउँदै जाने भएकाले सरकारले स्थानीयतह मार्फत बजेटको व्यवस्था गरिदिन कलाकारहरुले माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved