धनुषा: विभिन्न आपराधिक घटनाका ५ अभियुक्त सार्वजनिक

नेपालभ्युज

धनुषा:  विभिन्न आपराधिक घटनाका ५ अभियुक्त सार्वजनिक

जनकपुरधाम। विभिन्न आपराधिक घटनामा संलग्न रहेका ५ जना फरार अभियुक्तलाई पक्राउ गरी धनुषा प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न मितिमा फरक फरक आपराधिक घटनामा संलग्न रहेका ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएका अभियुक्तहरूमा मेलाको बहानामा भाइ बुहारीलाई हत्या गरेको आरोपमा ३ जना, हत्या मुद्दाका फरार प्रतिवादी एक जना र आमाको हत्या गरेको अभियोगमा एक जना गरी ५ जनालाई नै प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

पहिलो घटना

भदौ २८ गते मङ्गलवार बिहान करिब ६ बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर–३ यदुकुहाको हटिया बजार नजिक रहेको बाँसघारीमा सोही ठाउँ बस्ने अरुण कुमार दासकी २८ वर्षीय श्रीमती बबिता देवी मृत अवस्थामा फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटी गएको अनुसन्धान टोलीले घटनाबारे व्यक्तिहरू सँग सोधखोज, पुछ्ताक्ष एवं प्राविधिक विश्लेषण गर्दा मृतकका जेठाजु वीरेन्द्र दास ले नै आफ्नो भाइ बुहारी बबिता देवी दाइसँग दुई बर्सदेखि अनैतिक सम्बन्धका कारण हत्या गरेको अनुसन्धानबाट पता लागेको उपरीक्षक रजौरेले बताए।

आफुहरुबिचको अनैतिक सम्बन्ध बिस्तारै भाइ र गाउँ समाजले थाहा पाउने भय एवं बबिताको परिवर्तित व्यवहार हुन गएको कारण योजनाबद्ध तरिकाले २७ गते राती नै सालो सत्रुधन दास ,नातामा काका पर्ने उमेश दाससँग मिलेर घर मै हत्या गरेर रातिको समय बांसघारीमा फालेका थिए। घटनाको प्रकृति बलात्कारको देखाउन अपराधीले मृतकले लगाएको सबै कपडा घर मै बद्लिएको तथा बांसघारीमा फाल्न जान्दा ब्लाउज र चप्पल त्यही राखेको थियो।

सो घटनामा संलग्न रहेको आरोपमा धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर–३ बस्ने मृतकको जेठाजु २४ वर्षीय वीरेन्द्र दास, सोही ठाउँ बस्ने मृतकको जेठाजुको आफ्नै काका १९ वर्षीय उमेश दास र वडा नम्बर–७ धवौली बस्ने मृतकको जेठाजुका १९ वर्षीय सालो शत्रुधन दासलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

स्थानीयका अनुसार मृतक बबिताको पहिले त्यही वडाका अर्को टोलमा मागी विवाह भएको थियो र गर्भमा अरूको बच्चा रहेको भनी श्रीमानले छाडेपछि अरुण दासको बच्चा रहेको भन्दै सामाजिक रुपमा इलाका प्रहरी कार्यालय यदुकुहामा अरुणसंग विवाह गराउने निर्णय भएपछि अरुणले बिहे गरेका थिए । बिहेको केही दिन पश्चात् अरुण वैदेशिक रोजगारमा मलेसिया गएको  ५ वर्ष देखि उतै छ।

पक्राउ प्रतिवादी उपर ज्यान कसुर सम्बन्धी कर्तव्य ज्यान मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दोस्रो घटना

आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। भदौ ३० गते बिहीबार राति करिब १ बजेको समयमा धनुषाको सबैला नगरपालिका वडा नम्बर–५ मखनाहा बस्ने रामसेवक खत्वे मण्डलको ४० वर्षीया पत्नी सिकिलिया देवी मण्डल आफ्नो घरको छतमा मृत अवस्थामा फेला परेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल अनुसन्धानका लागि खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा मृतकको २५ वर्षीय छोरा मनोज मण्डलले मादक पदार्थ सेवन गरी कुटपिट गरेर आमाको हत्या गरेको कुरा पत्ता लागेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए।
उनले भने, ‘मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थल मै मृत्यु भएको थियो। हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई मध्यराति नै पक्राउ गरेको थियो।’
पक्राउ परेका मनोज उपर ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

तेस्रो घटना

कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ। पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर–५ बहुअर्वा बस्ने २३ वर्षीय राजीव कुमार मण्डल रहेका छन्।

२०७८ भदौ २६ गते बिहान २ बजेको समयमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर–५ बहुअर्वा बस्ने रामअशिष मण्डलका छोरा सरोज कुमार मण्डललाई ज्यान मार्ने उद्देश्यले मनिष कुमार मण्डल र राजीव कुमार मण्डलले धारिलो हतियार (तरवार) ले प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
सरोज उपचारको क्रममा रहेको बेला विपक्षीहरू उपर धनुषा जिल्ला अदालतमा फौजदारी नं.०७८–सिआई ०१४३ को ज्यान मार्ने उद्योग मुद्दा चलिरहेको थियो। उक्त मुद्दा जिल्ला अदालतबाट २०७८ पुस १९ गते फैसला भएकोमा मुख्य प्रतिवादी राजीव मण्डलले घाइते सरोज मण्डलको उपचार खर्च ४ लाख ९२ हजार २५९, अनिल मण्डलको उपचार खर्च ६९ हजार ३०० र बजरंग प्रसाद राउतको उपचार खर्च ३ हजार १३० रुपैयाँ तिर्ने फैसला भएको थियो।

ज्यान मार्ने उद्योग मुद्दालाई कुटपिटमा परिणत गरी पक्राउ प्रतिवादीहरू मनिष कुमार मण्डल र राजीव कुमार मण्डल कारागारबाट थुनामुक्त भएका थिए । सरोज उपचार कै क्रममा रहेको अवस्थामा २०७८ चैत २८ गते बिहान ९ बजेको समयमा उनको काठमाडौँ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको थियो।

छोराको मृत्युपश्चात् सरोजका पिता रामनन्दन मण्डलले २०७९ वैशाख ४ गते प्रतिवादीहरूलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा आवश्यक कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता गरी फरार प्रतिवादीहरू मनिष कुमार मण्डल र राजीव कुमार मण्डललाई पक्राउ गर्न जिल्ला अदालतबाट वैशाख ५ गते पक्राउ अनुमति पाएका थिए।

प्रतिवादीहरू मध्येका राजीव कुमार मण्डल २०७८ फागुन १३ गते बैदेशिक रोजगारीको सिलसिलामा कतार गइसकेका थिए।
उनी कतारको स्नेहीया राइट साइड स्टेट नं.४५ क्याम्पको कतार मास्टर कम्पनीमा काम गरिरहेको कुरा धनुषा प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाई उनलाई कतारबाट पक्राउ गरेर ल्याउन नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखालाई पत्राचार गरेको थियो।
राजीवलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्नका लागि ‘रेड कर्नर नोटिस’ जारी गरी उनलाई तालुक कार्यालयको समन्वयमा बिहीबार नेपाल ल्याइएको थियो।

यसरी भएको थियो तेस्रो घटना

२०७८ साल भदौ २६ गते धनौजी गाउँपालिका वडा नम्बर–५ बहुअर्वामा गणेशपूजाको मेला आयोजना गरिएको थियो । मेला हेर्न पुगेको भीडमा स्थानीय रामनन्दन मण्डलका छोरा सरोज मण्डल पनि थिए।
मेलामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। सबैले सोही कार्यक्रम हेरिरहेका थिए। राति करिब २ बजे अचानक दुई समूहबीच विवाद भयो। सरोजले केही नसोची झगडा मिलाउन पुगे। तर, अचानक सरोजको पेटमा तरवार प्रहार गरियो।

मेलामा नाच हेरिरहेका बेला सोही गाउँका अमितकुमार मण्डल, मनिषकुमार मण्डल, राजीवकुमार मण्डल बीच आपसी विवाद भएको थियो। सोही विवादमा प्रतिवादी मनिष र राजिवले अमितको टाउकोमा हतियार प्रहार ग¥यो।
अमितलाई बचाउनका लागि बजरंग राउत र सरोजकुमार मण्डल त्यहाँ पुगे त्यहाँ पुग्ने बित्तिकै उनीहरूमाथि पनि छुरा प्रहार गरियो। बजरंगको तिघ्रामा र सरोजको पेटमा छुरा प्रहार गरी घाइते बनाइयो। सरोजको सोही बेलादेखि काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।
स्थानीय रामआशिष मण्डलका १८ वर्षीय छोरा मनिषकुमार मण्डल र वडा नम्बर–४ निवासी विमल मण्डलका २३ वर्षीय छोरा राजीवकुमार मण्डलमाथि ‘ज्यान मार्ने उद्योग’ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरियो।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले हत्या अभियोग (ज्यान मार्ने उद्योग) मुद्दालाई सामान्य कुटपिटमा परिणत गरी प्रतिवादीलाई मुक्त गर्ने फैसला सुनाइयो।

फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गम्भीर घाइते सरोज मण्डलको उपचार खर्च बापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भर्पाई अनुसार उपचार खर्च उपलब्ध गराउने निर्णय गरियो।
अदालतको आदेशबाट रिहा भएका व्यक्ति केही दिन नबित्दै विदेश गए। यता, घाइते सरोजको उपचार कै क्रममा असामयिक निधन भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved