सन्तानको सुख शान्ति तथा चिरायुको कामनासहित मिथिलामा जितिया पर्व मनाईदै

महिलाहरूले २४ देखि ३६ घण्टासम्म पानी समेत नखाई थुक पनि ननिलि व्रत बस्ने हुनाले जितिया पर्वलाई महान् एवं कठोर मानिन्छ।
धनुषा महेन्द्रनगरका ८५ वर्षीय मिथिला परम्पराका जानकार रमापति चौधरीले जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामना सँगै परिवारको कल्याण पनि रहेको बताए।

सन्तानको सुख शान्ति तथा चिरायुको कामनासहित मिथिलामा जितिया पर्व मनाईदै

जनकपुरधाम। सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै मिथिलानीहरू आज जितिया पर्व मनाउँदै छन्। शुक्रबारदेखि विधिवत् रुपमा सुरु भएको जितिया पर्व आइतबार समापन हुने छ।

महिलाहरूले २४ देखि ३६ घण्टासम्म पानी समेत नखाई थुक पनि ननिलि व्रत बस्ने हुनाले जितिया पर्वलाई महान् एवं कठोर मानिन्छ।
धनुषा महेन्द्रनगरका ८५ वर्षीय मिथिला परम्पराका जानकार रमापति चौधरीले जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामना सँगै परिवारको कल्याण पनि रहेको बताए।

तीन दिनसम्म मनाउने यस पर्व शुक्रबारदेखि सुरु भएको हो। व्रतालु महिलाहरू शुक्रबार नुहाएर खाने विधि गरेका र आज शनिवार बिहान चार बजेदेखि निराहार एवं निर्जला व्रत बसी आइतबार साँझ व्रत सम्पन्न गर्नेछन्। यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ।

व्रतालु महिला शनिबार बिहान चार बजे ओंगठन (दही चिउरा सक्खर, केरा सहितको प्रसाद) खाएर आइतबार साँझ पाँच बजेसम्मका लागि उपवास बसेका छन्। उपवास बसेका महिलाहरूले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने बर्त असफल भएको मानिन्छ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्त्व समेत छ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ। मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन रहेको पुरोहित इन्द्रकान्त झाले बताउँछन्।

मैथिली साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडीका अनुसार भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाको पुत्र जिमूतवाहन थिए। उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए। तिनै भगवानले पुत्रको रक्षा गरुन् भनी नेपालको मिथिला क्षेत्र र उत्तर एवं पूर्व भारतमा जितिया श्रद्धा पूर्वक मनाइन्छ।

मधेसी र थारु समुदायमा व्रत बस्नु अघिल्लो दिन महिलाहरू माइती पुग्ने गर्छन्। सबै दिदीबहिनी एक ठाउँमा जम्मा भई सुखदुख साट्दै यो पर्व मनाउने चलन छ। व्रत बस्ने दिन बिहान खोला, नदी, तलाउमा नुहाउने चलन रहेको छ। दिनभरि पानी समेत नखाई नाचगान गर्दै मनाइने यो पर्व साथीत्व, मेलमिलाप गर्ने पर्व पनि हो।
बेलुका सूर्य अस्ताउनु पूर्व खोला, तलाउ, पोखरीमा गएर पूजा गर्ने र नुहाउने चलन रहेको छ । बेलुका जितमहानको कथा सुन्नलाई आवश्यक पूजाको सामग्री केरा, चियुरा, दही, चिनी लगायतको परिकार सहित गाउँको एक ठाउँ भेला भई जितमहानको कथा सुन्ने गरिन्छ।

व्रतको दोस्रो दिन बिहानै उठेर दाइभाइको संख्याको आधारमा बेलको पात गाँसेर धनुष बनाउने, जाकुर(मासको परिकार), पूजाको सामान सहित खोलामा नुहाउने चलन छ। खोलामा नुहाएर पूजा गरी व्रतालु महिला घर पुगेर भान्सामा गाईको गोबरले लिपेर परिकारहरू दही, चिउरा, केरा, चिनी, दूध खाने चलन छ। व्रतालु महिलाले खाई सकेपश्चात् घरको परिवारले परिकारहरू खाने चलन छ।
जितिया पर्वको अवसरमा मिथिलामा धेरै जसो ठाउँहरूमा जितिया प्रतिमा राखी पूजा आजासँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत गर्ने गर्दछन्।
जितियाको अवसरमा धनुषाको नक्टाझिज विश्वकर्माचौकमा हिमालय युवा क्लबले गएको २५ वर्षदेखि गर्दै आएको सांस्कृतिक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको क्लबका अध्यक्ष अरुण कुमार महतोले जानकारी दिनुभयो। त्यसै गरी यसै पर्वको अवसरमा जनकपुरको विभिन्न स्थान तथा धनुषाको बटेश्वर लगायतको स्थानमा मेला समेत आयोजन भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved