कांग्रेसमा टिकटको होड : पार्टी कार्यालय सुनसान, नेताको घरमा ठेलमठेल

पार्टी कार्यालयमा लाग्नुपर्ने भीड अहिले नेताका घरमा देख्न सकिन्छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्रीको सरकारी निवासमा भिड व्यवस्थापन गर्न नै सकस हुन थालेको छ । महामन्त्री गगन थापाको सचिवालय र घरमै पनि नेता कार्यकर्ताको भिड दिनहुँ बढ्दो छ ।

कांग्रेसमा टिकटको होड : पार्टी कार्यालय सुनसान, नेताको घरमा ठेलमठेल

काठमाडौं। लम्जुङ बेसीसहर-७ का रमेश पौडेल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा यताउता गर्दै थिए । कार्यालय परिसर शान्त थियो । यताउता गर्दै कसैलाई खोज्दै गरेका रमेशको इच्छा कांग्रेसका जो कोही पदाधिकारीलाई भेटेर आफ्नो गुनासो सुनाउनु थियो ।

कांग्रेसलाई जिताउन सधै लागिरहने रमेशलाई पार्टी कार्यालयमा पुगेपछि सबै जसो पार्टीका नेता भेटाउँछु जस्तो लागेको रहेछ । टेलिभिजन र पत्रपत्रिकामा दिनहुँजसो नेताका कुरा सुनिरहेका उनले जागिर नपाएको पीडा, काठमाडौंमा भौतारिँदा भोग्नुपरेको संघर्ष जस्ता विषय सुनाउन चाहेका थिए ।

मंसिर चार गते हुने निर्वाचनमा युवाका मुद्दा समेट्न आग्रह गर्ने योजना बनाएर सानेपा पुगेका रमेशले कुनै नेता फेला पारेनन् । पार्टी कार्यालय सुनसान थियो ।

पार्टी संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाले सबैको ध्यान उतै थियो । जिल्लाबाट संघ र प्रदेश उम्मेदवार सिफारिस भएकाहरू लबिइङका लागि बालुवाटार र नेताको घरमा पुगेका छन् । निर्वाचनको बेला चहलपहल हुनुपर्ने पार्टी कार्यालय भने सुनसान छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बिहीबार यस्तो सुनसान थियो


उम्मेदवारी पक्का गराउन आएकाहरू बालुवाटारको निर्णय कुर्दै

जिल्लाबाट आएका केही महिला नेतृ सानेपामा बसेर बालुवाटारको निर्णय कुरिरहेका थिए । जिल्लाबाट सिफारिस भएको नाम माथिबाट काटिने त होइन भन्ने उनीहरुमा चिन्ता थियो ।

चितवन रत्ननगर नगरपालिका १३ की पम्फा अर्यालले आफ्ना कुरा केही शीर्ष नेतालाई भेटेर सुनाएको बताइन् । उनले बालुवाटारमा भिड बढेकाले पार्टी कार्यालयमा आएर बसेको सुनाइन् । उनले भनिन्, ‘पार्टी कार्यालयमा के हुँदे छ भनेर बुझ्न आएको यहाँ त सुनसान रहेछ ’

उनले पार्टीका बैठकहरू सकेसम्म पार्टी कार्यालयमै राख्नुपर्ने बताइन् । ‘पार्टीका बैठक आफ्नै कार्यालयमा हुनुपर्छ बालुवाटारमा हैन, पार्टी कार्यालयमा हुँदा सबै कार्यकर्ताले थाहा पाउँछन् यसले अपनत्व पनि बढ्छ ’

यता सत्यवती गाउँपालिका ५, गुल्मीकी गंगादेवी भण्डारीले आफ्ना गुनासो पोख्न नपाएको बताइन् ।   उनले भनिन्, ‘पार्टी कार्यालयमा पुगेर अहिलेसम्म मैले गरेको काम नेताहरूलाई सुनाउने धोको थियो पूरा हुन सकेन, सबै जना बालुवाटारतिरै हुनुहुँदोरहेछ, पार्टीको बैठक त पार्टी कार्यालयमै होला नि भनेर आएको यहाँ त सुनसान रहेछ ’

उनी पनि गुल्मी क्षेत्र नम्बर १ को प्रदेश (क)मा समानुपातिक उम्मेदवार सिफारिस भएकी रहिछन् । त्यसैले नेता भेट्न काठमाडौं आएकी रहिछन् ।

जनआन्दोलनमा घाइते भएकी गंगा केसी पनि आफूलाई पार्टीले उम्मेदवार बनाउने आशामा सानेपामा पर्खिरहेकी भेटिइन । उनले भनिन् ‘नेताहरू बैठकमा छन् बाहिर कराएर के हुने हो र , बरु यहाँ आए एक दुई जनासँग भएपनि भेट भयो यो नै उपलब्धि हो ।’

नेताका घरमा ठेलमठेल

पार्टी कार्यालयमा लाग्नुपर्ने भीड अहिले नेताका घरमा देख्न सकिन्छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्रीको सरकारी निवासमा भिड व्यवस्थापन गर्न नै सकस हुन थालेको छ ।

आसन्न निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरु बालुवाटारको ढोका कुरिरहेका छन् । ‘समूह–समूह बनाएर आउनेको भीड थेगीसाध्य छैन’, दिनहुँ भीड बढेको बढ्यै छ । निर्वाचनमा टिकट लिन देशभरबाट सिफारिस भएका नेताको ठूलो भीड लाग्ने गरेको छ।’ प्रधानमन्त्री निवासका कर्मचारीले भने ।

त्यस्तै, महामन्त्री गगन थापाको सचिवालय र घरमै पनि नेता कार्यकर्ताको भिड दिनहुँ बढ्दो छ । पार्टी सभापति शेरबहादुर देउवासँग भेट्न नपाएकाले महामन्त्रीसँग भेट गर्न खोजिरहेका हुन्छन् ।

कांग्रेस महामन्त्री गगन थापाको निवासमा लागेको भिड

अर्का महामन्त्री विश्वप्रकाश शर्मा बिरामी भएकाले पनि गगनसँग भेट्न खोज्नेको लर्को लागेको छ । उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङकहाँ पनि टिकटको भनसुन गर्नेको संख्या कम छैन । क्षेत्रबाट सिफारिस भए पनि केन्द्रबाट जे पनि हुन सक्ने भन्दै नेताको घर दैलोमा भिड लाग्ने गरेको छ । कांग्रेसले समानुपातिक सूची बनाउन बिहीबारबाट छलफल अघि बढाएको छ ।

निर्वाचन आयोगले असोज २ गते सूची बुझाउन भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved