यस्ता छन् कांग्रेसले तोकेको समानुपातिक उम्मेदवार चयनको मापदण्ड

नेपालभ्युज

यस्ता छन् कांग्रेसले तोकेको समानुपातिक उम्मेदवार चयनको मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको समानुपातिक तर्फका उम्मेदवार चयनको मापदण्ड तय गरेको छ ।  कांग्रेस केन्द्रीय संसदीय समितिको बुधबार बसेको बैठकले  समानुपातिक तर्फका उम्मेदवार  चयनका लागि विभिन्न  मापदण्ड तय गरेको हो ।

बैठकले  स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने मापदण्ड तय गरेको छ । तर उनीहरू प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवार हुन सक्नेछन् ।

उमेदवार चयन गर्दा पार्टीको उमेदवारका लागि भएको सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पुर्‍याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानलाई पनि ध्यान दिने बताइएको छ । साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइने मापण्डमा भनिएको छ ।

यस्ता छन् मापदण्ड ?

१. हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने ।

२. २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उमेदवार हुन पाउने छैन । नेपाली कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा यस अगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनः प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य पदमा पार्टीको तर्फबाट उमेदवार हुन नपाउने व्यवस्था छ । अतः यस अघि प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रदेश सभामा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रतिनिधि सभामा समेत समानुपातिकतर्फबाट उमेदवार हुन पाउने छैन । तर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ उमेदवार हुन सक्नेछन् ।

३. उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उमेदवारको लागि भएको सिफारिश, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पुर्‍याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइनेछ ।

४. नेपाली कांग्रेसको विधानको धारा ३३ (३) मा उल्लेखित आधारलाई ध्यान दिंदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुबैमा समानुपातिक तर्फको उमेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उमेदवार दिने । उमेदवार छनौट गर्दा संविधानको धारा ८४ र धारा १७६ तथा संघीय कानूनले निर्दिष्ट गरेको जातीय, लैगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved