विश्व आत्महत्या रोकथाम दिवस

किन हुन्छ आत्महत्या ? बिषादीसँग यसको सम्बन्ध के छ ? विज्ञबाटै जानौं

आत्महत्या अघिका संकेत पहिचान गर्न सके धेरैको ज्यान जोगिन्छ

जव आत्महत्याको योजना बनाउँछ त्यसपछि पहिले दुखी भएको मानिस अचम्मले खुसी देखिन्छ । साथीभाई भेटघाट गर्ने, घुमफिर गर्न थाल्छ । यस्तो व्यवहार देखाएमा हामीले उसलाई निगरानीमा राख्नुपर्छ ।

नेपाल भ्युज

किन हुन्छ आत्महत्या ? बिषादीसँग यसको सम्बन्ध के छ ? विज्ञबाटै जानौं

काठमाडौं : सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस। विश्वभर नै विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

आत्महत्या रोकथाम गर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर १० का दिन आत्महत्याविरुद्धको दिवस मनाइन्छ।

नेपालमा दैनिक औसतमा २० जनाले आत्महत्या गर्ने तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को पछिल्लो तथ्याङ्कले नेपाल धेरै आत्महत्या हुने मुलुकहरूको सूचीमा छ ।

नेपाल प्रहरीको तथ्याङ अनुसार आर्थिक बर्ष २०७८-७९ मा ६ हजार १ सय ३२ जनाले आत्महत्या गरेका छन् । यस्तै गत आर्थिक बर्ष २०७७-७८ मा ७ हजार १४१ ले विभिन्न माध्यमको प्रयोगगरी आत्महत्या गरेका थिए ।

आत्महत्या गर्नुअघिका सङ्केतलाई पहिचान गर्न सके धेरैको ज्यान जोगाउन सकिने मनोचिकित्सक बताउँछन् ।

मनोरोग विशेषज्ञ डा. केदार मरहठ्ठाले आत्महत्यापनि स्वास्थ्य समस्या भएको बताउँछन् । समस्याको समयमै पहिचान गरेमा दुर्घटनाबाट जोगाउन सकिने उनको भनाइ छ ।

प्रस्तुत छ डाक्टर मरहठ्ठासँग नेपालभ्युजका लागि  प्रकाश बस्यालले गरेको कुराकानीको सम्पादीत अंश :

आत्महत्यालाई कसरी बुझ्ने ?

आत्महत्या भन्ने शब्दले नै जनाउँछ, यो आफैले आफैलाई मार्ने काम नै हो । कतिपय देशमा आत्महत्यालाई अपराधको रुपमा लिइन्छ । तर नेपालमा भने यसलाई अपराध मानिएको छैन । असाधारण तरिकाले मानिसको मुत्यु हुने भएकाले अनुसन्धानको पाटो भने रहन्छ ।

मानिसले आत्महत्या किन गर्छ ?

चिकित्सकका अनुसार मुख्य तीनवटा कारणले व्यक्तिले आत्महत्याको बाटो रोज्छ । पहिलो जैवीक कारण हो । यसमा पारिवारिक संरचना र व्यक्तिको वंशाणुगत बनावट पर्छ । यसलाई जैविक कारण भन्छौँ ।

अर्को कुरा व्यक्तित्व जस्तै उसले समस्यालाई कुन रुपमा लिन्छ भन्ने अर्थपूर्ण छ । यसलाई मनोवैज्ञानिक कारणको रुपमा लिइन्छ ।

अर्को कुरा सामाजिक परिवेश जस्तै व्यक्ति कस्तो समाजमा छ ? उसको आर्थिक अवस्था, जागिर, समाजिक सम्बन्ध, विपतका घटना समाजिक कारणमा पर्छन् ।

धेरैले एक दुईवटा घटनालाई लिएर आत्महत्याको मुख्य कारण नै सामाजिक परिवेश मान्ने गर्दछन् तर त्यो होइन । आत्महत्या गर्न यी तीनवटै कारणको समिश्रण आवश्यक छ ।

परीक्षामा फेल हुँदा वा जागिरबाट निकालिँदा होस् या सम्बन्धमा खटपट हुँदा यदि व्यक्तिले आत्महत्या गर्छ भने त्यो व्यक्तिलाई जैवीक, मनोवैज्ञानिक र समाजिक तीनवटै कारणले आत्महत्याका लागि प्रेरित गरेको हुन्छ । एउटा मात्र कारणले आत्महत्या गर्न सक्दैन ।

व्यक्तिले आत्महत्या गर्न खोज्दैछ भनेर कसरी थाहा पाउने ? कुनै लक्षण देखिन्छ कि ?

आत्महत्या गरेका व्यक्ति र प्रयास गरेका व्यक्तिमा गरिएको अध्ययनले आत्महत्या गर्ने व्यक्तिले केही न केही संकेत गर्छ भन्ने देखिएको छ । आत्महत्या गरेका ९० प्रतिशत व्यक्तिले केही न केही संकेत छाडेका रहेछन् ।

तर उनिहरुले गरेको संकेत हामीले बुझ्न नसक्दा वा गम्भीरताका साथ नलिँदा समस्या भएको हो । आत्महत्याको योजना बनाएकाले असाधारण हाउभाउ देखाउँछन् ।

निक्कै निराश हुने, दुखी कुरा गर्ने, संसार नै सकिएजस्तो मान्ने गर्छन । जव आत्महत्याको योजना बनाउँछन् त्यसपछि पहिले दुखी भएको मानिस अचम्मले खुसी देखिन्छ । साथीभाई भेटघाट गर्ने, घुमफिर गर्न थाल्छ । यस्तो व्यवहार देखाए भने हामीले उसलाई निगरानीमा राख्नुपर्छ ।

कतिपय अवस्थामा आत्महत्या गर्न चाहनेले त्यसबारे अलि बढी चासो राख्ने गर्छन् । इन्टरनेटमा पनि यसबारे बढी खोजीनीति गर्छन् । छोटकरीमा भन्दा डिप्रेसनमा जाने, निराशावादी कुरा गर्ने व्यक्तिलाई बढि निगरानी जरुरी छ ।

आत्महत्यामा वंशाणुगत कारणले अर्थ राख्छ कि राख्दैन ?

यो अत्यन्त संवेदनसिल बिषय हो । परिवारमा यदि कसैले आत्महत्या गरेको रहेछ भने जोखिम त रहन्छ नै तर यसलाई मात्र आधार मानेर आत्महत्या गर्छन नै भन्न मिल्दैन । मैले अघि पनि भने आत्महत्या गर्न तीन कारणको समिश्रण आवश्यक छ ।

यदि व्यक्तिमा जैविक कारण देखियो तर मनोवैज्ञानिक र सामाजिक रुपमा उ बलियो छ भने उसले आत्महत्या गर्दैन ।

यस्तै मनोवैज्ञानिक कारण देखा पर्‍यो तर सामाजिक र जैविक रुपमा उ बलियो छ भनेपनि उसले आत्महत्या गर्न सक्दैन । पारिवारिक संरचना पनि एउटा कारण हो तर अन्य कारण बलियो भएमा व्यक्तिले आत्महत्या गर्न सक्दैन ।

आत्महत्याको सोचलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?

पहिलो कुरा त आत्महत्या पनि एउटा रोग हो भनेर बुझ्न जरुरी छ । जसरी डेंगु, कोरोना हुँदा हामी उपचार गछौँ त्यसैगरी आत्महत्याको सोच आएमा मलाई रोग लागेछ भनेर सम्झनुपर्‍यो । यसको उपचार गराउन लाग्नुपर्छ ।

यदि यस्तो सोच आइहालेमा आफ्नो विश्वासिलो साथीलाई सुनाउन जरुरी छ । नजिकको साथीलाई सुनाउँदा तनाव ब्यवस्थापनमा धेरै सहयोग मिल्छ र दुर्घटनाबाट जोगिन सकिन्छ । साथीलाई भन्नै सक्नुभएन भने मनोरोग विशेषज्ञलाई भेटेर परामर्श लिन आवश्यक छ ।

आत्महत्या न्यूनिकरण कसरी गर्न सकिन्छ ?

आत्महत्या जनस्वास्थ्यको एउटा बिषय हो । विश्व स्वास्थ्य संगठनले यसको न्यूनिकरणका लागि चारवटा मुख्य सुझाव दिएको छ । पहिलो कुरा व्यक्तिले कुन माध्यम प्रयोग गरेर आत्महत्या गरेको छ । जस्तै झुण्डिएर, विष सेवन, हतियारको प्रयोग यस्ता माध्यमको सूक्ष्म अध्ययन गर्ने र ति माध्यमको पहुँच कम गर्नुपर्छ ।

नेपालमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी छ तर आत्महत्या गर्ने प्रयास गरेकाको तथ्याङ्क हेर्ने हो भने विष सेवन गर्नेको संख्या बढी छ । यसले के बुझ्न सकिन्छ भने हानिकारक बिषादीमा सहज पहुँच छ । त्यसैले हामीले भन्दै आइरहेका छौँ बिषादीको पहुँच कम गर्न जरुरी छ ।

प्रयाप्त कानून हुँदाहुँदै पनि कार्यान्वयनमा कडाइ नहुँदा समस्या देखिएको हो । विषादीमा पहुँच कम गर्न खुद्रा पसलमा बिक्रीवितरण गर्न नदिने, एकजनालाई मात्र बिषादी बिक्री नगर्ने, एउटा उमेर समुहभन्दा कमलाई नबेच्ने हो भने आत्महत्याका घटनामा कमी ल्याउन सकिन्छ ।

यस्तै हाम्रा बालबालिका र किशोर-किशोरिलाई जीवनमा आउनसक्ने सम्भावित उतारचढावबारे जानकारी गराउनुपर्छ । जीवनमा आउने समस्या समाधानकालागि उनीहरुलाई तयार गर्न जरुरी छ ।

यस्तै तनाव व्यवस्थापनबारे पनि उनीहरुलाई जानकारी दिनुपर्छ । यस्तै सञ्चारमाध्यमले आत्महत्याका घटनालाई अतिरन्जित गर्नु हुँदैन । यि क्षेत्रमा काम गर्‍यो भने आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ।

बिषादीमा कडाई गर्दा आत्महत्या न्युनिकरण सम्भव छ र ?

छिमेकी देश श्रीलंकामा भएको अभ्यासले विषादीमा कडाइ गर्दा आत्महत्याका घटनामा कमी आएको देखाएको छ । जब उनीहरुले पहिलो चरणमा केही बिषादीमा प्रतिबन्ध लगाए । आत्महत्याका घटनामा कमी आयो ।

त्यसपछि फेरी उनीहरुले थप बिषादीमा प्रतिबन्ध लगाए, आत्महत्याका घटनामा झनै कमी आयो । त्यपछि उनीहरुले बिषादीमा पहुँच धेरै नै कम गराएका छन् । यसले पनि बिषादीको पहुँच कम हुँदा आत्महत्याका घटनामा कमी आएको देखिन्छ । नेपालमा पनि त्यो आवश्यक छ ।

बिषादी त कृषिसँग पनि सम्बन्धित छ कसरी कम गर्न सकिएला ?

कृषकलाई बिषादी आवश्यक छ तर हामीले सबै बिषादी रोक्नुपर्‍यो भनेका होइनौ । अत्यन्त हानिकारक बिषादीलाई रोक्नुपर्‍यो । हामीसँग यस्ता बिषादीपनि छन् । जस्को प्रयोगले मानिसलाई त्यति धेरै असर गर्दैन तर कृषिमा असर गर्ने किटाणु मार्छ ।

कतिपय अवस्थामा बिषादी बन्द गर्दैमा आत्महत्या रोकिन्छ त भन्नेपनि छ । अन्य माध्यमबाट आत्महत्या गर्ला भन्ने पनि छ यो अध्ययनको बिषय हो । अहिलेसम्मको अध्ययनले बिषादीको प्रयोग कम गर्न सकियो भने आत्महत्या अत्यन्त न्युन हुन्छ भन्ने देखियो ।

मानिसले प्रयोग गर्ने माध्यम परिवर्तन गर्दैनन भन्नेपनि देखियो । आत्महत्या एउटा आवेग हो जुन विस्तारै कम हुँदै जान्छ । यसको सन्देश के भने अत्यन्त हानिकारक विषदीको प्रयोगमा प्रतिबन्ध लगायौँ भने आत्महत्यालाई न्यूनिकरण गर्न सकिन्छ भन्ने प्रमाणित हो ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved