अन्तरवार्ता

‘राष्ट्रपतिबाट राजीनामा दिएर आए भण्डारीलाई प्रधानमन्त्री बनाउन सकिन्छ’

यो गठबन्धन एमालेलाई हराउने उद्देश्यले बनेको झुन्ड मात्र हो । न यिनीहरूको विचार मिल्छ न एजेन्डा । अहिलेको अवस्था हेर्दा उहाँहरू त्यसमा पनि सफल देखिनुभएको छैन । त्यसैले यो झुन्डका कारण एमालेलाई कुनै अफ्ठ्यारो छैन ।

नेपालभ्युज

‘राष्ट्रपतिबाट राजीनामा दिएर आए भण्डारीलाई प्रधानमन्त्री बनाउन सकिन्छ’

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघ र प्रदेश निर्वाचनमा आवश्यकताका आधारमा तालमेल गर्ने बताएको छ । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धनविरुद्ध अधिकांश ठाउँमा एक्लै लडेको एमालेले आगामी निर्वाचनमा भरपर्दो साथी खोजिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले दैनिकजसो साना दलका नेतासँग संवाद गरिरहेका छन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईले पनि एमालेले केन्द्रीय स्तरमा गठबन्धन नगरेपनि आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्ने बताए । अहिलेको प्रणलीमा एकल बहुमत ल्याउन कठिन हुने भएकाले अन्यदलसँग सहकार्य गर्नुपरेको उनको भनाइ छ ।

प्रस्तुत छ प्रमुख सचेतक भट्टराइसँग नेपालभ्युजका लागि प्रकाश बस्यालले गरेको कुराकानीको सम्पादित अंश :

निर्वाचनको तयारी कस्तो चल्दै छ ?

कुनै पनि निर्वाचन भन्नेबित्तिकै राजनीतिक दलले आफ्नो घोषणापत्र जारी गर्ने, त्यसपछि आफ्ना उम्मेदवार तय गर्ने, त्यसैगरी निर्वाचनमा आफ्ना कार्यकर्तालाई परिचालन गर्ने योजना बनाउँछन् । हामी पनि अहिले त्यसैको तयारीमा छौँ । देशभरबाट सिफारिस भएका उम्मेदवार मध्येबाट छनोट गर्ने काम भइरहेको छ । योसँगै गाउँ-गाउँमा भेलामार्फत कार्यकर्ता परिचालन गर्नेबारे पनि छलफल गरिरहेका छौँ ।

जनताका बीचमा के एजेन्डा लिएर जाँदै हुनुहुन्छ ?

यो चुनावमा मूलतः हाम्रा तीन चारवटा एजेन्डा हुनेछन् । पहिलो कुरा त नेकपा एमाले मुलुकको समृद्धि र विकासको नेतृत्वकर्ता पार्टी हो भनेर स्थापित गर्नुपर्ने छ । यस्तै, यो पाँचदलीय गठबन्धनको भण्डाफोर गरेर जनतालाई हाम्रा एजेन्डा स्पष्ट पार्नुपर्ने छ ।

यो गठबन्धन एमालेलाई हराउन खडा गरिएको झुण्ड हो भनेर जनतालाई बुझाउने छौँ । गठबन्धनले संसारका कुनै पनि देश नबन्ने कुरा राम्रोसँग भन्नेछौँ । देश बनाउन राजनीतिक पार्टी र उसका एजेन्डा आवश्यक छ भनेर गाउँ-गाउँमा पुग्छौँ । हामीसँग आन्तरिक स्रोत साधन हुँदाहुँदै पनि देश पछाडि किन पर्‍यो भन्ने कुरा स्पष्ट पार्नुपर्ने हाम्रो जिम्मेवारी हो ।

गठबन्धनको श्रृंखलाको सुरुवात २०७४मा तपाईंहरूले नै गर्नुभएको होइन ? के त्यो गठबन्धन गलत थियो ?

हामीले त्यो बेला गठबन्धन भन्दा पनि पार्टी एकताको तयारी गरेका थियौँ । चुनावअघि एकता गर्न प्रयाप्त समय नहुँदा माओवादी केन्द्रसँग तालमेल गरेर चुनावमा गयौँ । हाम्रो तालमेललाई जनताले पनि अनुमोदन गरे ।

जसका कारण हामीले चुनाव जित्यौं र सरकार पनि बनायौँ । केपी ओली नेतृत्वको सरकार तीन वर्ष चार महिना २६ दिन चल्यो । तर, पार्टीमा आएका केही समस्याले एकता दिगो हुन नसकेको सत्य हो । आजको गठबन्धनलाई हिजोको तालमेलसँग तुलना गर्न मिल्दैन । किनभने हिजो नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो, तर आज गठबन्धनमा रहेका दलहरूले पार्टी एकता गर्ने पक्कै होइनन् होला ।

हिजो हाम्रो पार्टी कब्जा गर्ने षड्यन्त्र भयो, माओवादीका अध्यक्ष प्रचण्डले पार्टी कब्जागर्ने नीति लिएपछि हामीले त्यसको प्रतिकार मात्र गरेका हौँ । जसले गर्दा देशमा अप्रिय स्थिति सिर्जना भयो । हामीले एकता गरेका थियौँ र त्यसलाई जोगाउन नसकेका मात्र हौँ ।

म फेरी भन्छु यो गठबन्धन एमालेलाई हराउने उद्देश्यले बनेको झुन्ड मात्र हो । न यिनीहरूको विचार मिल्छ न एजेन्डा । अहिलेको अवस्था हेर्दा उहाँहरू त्यसमा पनि सफल देखिनुभएको छैन । त्यसैले यो झुन्डका कारण एमालेलाई कुनै अफ्ठ्यारो छैन ।

तपाईंहरू पनि सत्ता इतरको गठबन्धन बनाउने कसरतमै हुनुहुन्छ ?

हामीले भन्दा पनि केही साना पार्टी हामीसँग मिलेर जान खोजिरहनुभएको छ । अहिलेको अवस्था र प्रणलीमा एउटै दलले बहुमत ल्याउने अवस्था छैन । कसरी धेरै सिट ल्याउन सकिन्छ भन्ने सबैलाई लाग्छ ।

यो स्वाभाविक नै हो । बहुमत नआउँदा जुन अस्थिरता निम्तने खतरा छ त्यसबाट मुक्ति पाउन केही ठाँउमा तालमेल हुन सक्छ तर एमालेले आफ्ना एजेन्डा छोडेर अरूलाई बोकेर हिँड्नेवाला छैन । हामीले केन्द्रमा कुनै दलसँग गठबन्धन गर्दैर्नौ यो स्पष्ट छ ।

एजेन्डा नमिल्ने राप्रपासँगको तालमेललाई के भन्नुहुन्छ नि ?

राप्रपासँग मात्र होइन हाम्रा अध्यक्ष ओलीले सबै दलका नेताहरुसँग छलफल गरिरहनुभएको छ । सत्तापक्षकै नेताहरू पनि अध्यक्षसँग भेटिरहनुभएको छ । त्यसो त भेट्दैमा तालमेल नै हुने भन्ने कुरा हुँदैन ।

जहाँसम्म राप्रपाको कुरा छ । राप्रपामा राजेन्द्र लिङदेन आइसकेपछि आकर्षण बढेको छ । राप्रपा पनि फेरिएको छ केही नयाँ ढंगले अघि बढेको देखिन्छ । हिजोका पञ्चे झुण्डहरू राप्रपामा नभएकाले एकदुई स्थानमा तालमेल हुनसक्ने सम्भावना छ ।

तालमेल हुनु भनेको फेरि एमालेले राप्रपाको एजेन्डा स्वीकार गर्नु किमार्थ होइन त्यस्तो अर्थ लगाउन पनि मिल्दैन । हामी आफ्नो एजेन्डामा अडिग रहेर चुनाव लड्छौँ ।

२०७४ मा माओवादीसँग एजेन्डा नमिल्दा नमिल्दै पनि तालमेल गर्नुभएको थियो सम्झना छ ?

हो त्यो बेला कतिपय विषयहरू नमिल्दा नमिल्दै पनि पार्टी एकताका लागि तालमेल गरेका थियौँ. कम्तिमा पनि पार्टी एकता हुनुपर्छ भन्ने थियो । तर, उहाँहरू आएर पार्टी कब्जा गर्न लाग्नुभयो । पार्टीमा ठूलो समस्या देखियो अनि सर्वोच्चले फेरि हामीलाई पुरानै अवस्थामा पुर्‍याइदियो ।

दुईपटक संसद विघटन गरेर फेरि संसदकै लागि मत माग्न असहज हुँदैन ?

हामीले संसद्को औचित्य छैन भनेर संसद विघटन गरेका पनि होइनौं, संसद आवश्यक नै छैन भनेको पनि होइन, संविधानको खारेजी पनि होइन । हामीले त संसदले २०७४को जनादेश बोक्न सकेन अब नयाँ जनादेश लिएर अघि बढौं भनेका थियौँ ।

खास कालखण्डमा कहिलेकाहीँ जनादेश पक्रिन सकेन भने प्रधानमन्त्रीले विघटन गर्न सक्ने संविधानमै व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्नुभएको हो ।

हामीले नराम्रो मान्दामान्दै पनि बाध्यताका कारण विघटन गर्नुपर्‍यो । विघटन गर्दै गर्दा नयाँ चुनावको मिति पनि घोषणा गरेका थियौँ । यदि, चुनाव भएको भए अहिले नयाँ सरकार आइसक्थ्यो । त्यसकारण अहिले भोट माग्न हामीलाई कुनै अफ्ट्यारो छैन ।

जनताले त प्रश्न गर्लान नि ?

जनताले सबै बुझेका छन् । यो सरकार हुँदा के भयो महँगी कहाँ पुग्यो, दैनिक जिवन चलाउन कति मुस्किल छ भन्ने कुरा । उहाँहरुपनि एमालेलाई जिताउन आतुर हुनुहुन्छ ।

विगतमा हाम्रो एकल बहुमत थिएन । पार्टी एकताले गर्दा बहुमत पुगेको थियो। तर, हामीले जसलाई बहुमत दिएर जितायौं उसैले धोका दिए । अब यसपटक हामीले एमालेलाई बहुमत दिनुहोस् भन्छौँ ।

यो निर्वाचनमा कत्तिको आशावादी हुनुहुन्छ ?

यो निर्वाचनका लागि धेरै नै उत्सायी छौँ , किनभने नेकपा एमालेले एक्लै बुहुमत ल्याउँछ । केपी ओली फेरि प्रधानमन्त्री बन्नुहुन्छ । हामीले कुशल उम्मेदवार खडा गरेर अत्यन्तै राम्रा एजेन्डा लिएर जान्छौँ र चुनाव जित्छौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन लगाएर प्रधानमन्त्रीमा लैजाने भन्ने पनि सुनिन्छ ?

राष्ट्रपतिले अहिलेसम्म राजीनामा दिन्छु भन्नुभएको छैन । यदि, राजीनामा दिएर सक्रियरूपमा आउनुभयो भने उहाँ जत्तिको क्षमतावान् महिलालाई बनाउन नहुने भन्ने पनि छैन होला ? नेपालको इतिहासमा अहिलेसम्म कोही महिला प्रधानमन्त्री भएको छैन उहाँलाई बनाउँदा के फरक पर्छ र ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved