‘जनताको साथमा’ कांग्रेस अभियानको समापनमा देउवा चितवन जाने

‘जनताको साथमा’ कांग्रेस अभियानको समापनमा देउवा चितवन जाने

काठमाडौं । नेपाली कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा काङ्ग्रेस अभियानको समापनका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन जाने भएका छन् ।

यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम समापनका लागि प्रधानमन्त्री देउवा चितवन जान लागेका हुन् । नेपाली कांग्रेस चितवनले बिहिबार पत्रकार सम्मेलन आयोजना गरी प्रधानमन्त्री देउवा शुक्रबार चितवन आउन लागेको जानकारी गराएको हो।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार जननायक विशेश्वरप्रसाद कोइरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न गर्न लागिएको हो । सो अवसरमा ज्येष्ठ राजनीतिकर्मी सम्मान, द्वन्द्व पीडित व्यक्तिहरुको सम्मान र मरणेपरान्त सम्मान गर्न लागिएको छ । जिल्लाका १५० भन्दा बढी व्यक्तिलाई सो अवसरमा सम्मान गर्न लागिएको खनालले जानकारी दिए ।

अभियानमा जिल्ला कार्यसमितिले पार्टीका आम संरचनालाई परिचालन हुन अपिल गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लक्षित अभियानमा तीनवटै क्षेत्रिय कार्यसमितिको आयोजनामा क्षेत्रअन्तर्गत महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेसभा कार्यसमिति, पालिका कार्यसमिति, वडा सभापतिहरुको बीचमा अन्तरक्रिया, जिल्लाको आयोजनामा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुबीच अन्तरक्रिया, सबै वडाका पार्टी सभापति, निर्वाचित वडाध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखहरु बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रजातान्त्रिक विचार समाजको आयोजनामा पेशाकर्मी र बुद्धिजीवीहरुबीच अन्तरक्रियासमेत सम्पन्न गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अभियानका क्रममा जिल्लाका सात पालिकामा रहेका ९८ वटा वडामा दुई जनाका दरले प्रतिनिधि खटाई वडाको वस्तुस्थितिबारे जानकारी अध्यावधिक गर्ने कार्यसमेत प्रारम्भ भएको खनालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved