डेंगु संक्रमण भयावहरूपमा फैलियो, सचेत बनौं : डा. शेरबहादुर पुन

डेंगु व्यक्तिबाट व्यक्तिमा सर्दैन । तर, एउटै ठाउँमा बस्ने परिवार, एउटै फ्ल्याटमा बस्ने व्यक्तिमा संक्रमण भएको देखिन्छ । यसको कारण एउटै संक्रमित लामखुट्टेले वरिपरिका धेरैजनालाई टोक्नु हो ।

नेपालभ्युज

डेंगु संक्रमण भयावहरूपमा फैलियो, सचेत बनौं : डा. शेरबहादुर पुन

काठमाडौं :  नेपालमा डेंगुको संक्रमण व्यापक रूपमा फैलिएको छ । जनवरीदेखि सेम्टेम्बरसम्ममा आइपुग्दा ७५ जिल्लामा डेंगु पुष्टि भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाको तथ्यांक अनुसार सन् २०२२ देखि सेम्टेम्बर ४ सम्ममा ५ हजार २९ जनामा डेंगु पुष्टि भइसकेको छ । १० जिल्लामा ५० जना भन्दा बढीमा डेंगु पुष्टि भएको छ । काठमाडौं उपत्यकासहित सबै जिल्लामा डेंगु देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले रोकथाम तथा नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय र छलफल गरेको जनाएको छ ।

काठमान्डौंमा समुदायस्तरमा नै डेंगु फैलिएको हुनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ ।

एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ ।

प्रस्तुत छ डेंगी संक्रमण नियन्त्रण र उपचारबारे डा. पुनसँग नेपाल भ्युजका प्रकाश बस्यालले गरेको कुराकानी :

डेंगु कसरी लाग्छ ?

डेंगु एडिस (adis) जातिका (एजिप्टाई र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो । डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४  । एकपटक लामखुट्टेले भाइरस बोकेपछि उसले जन्माउने सबै लार्भा भाइरससहित जन्मिन्छन्।

३० देखि ४५ दिनसम्म बाँच्ने यस लामखुट्टेले आफ्नो जीवनकालमा ९ पटक अन्डा पार्छ। एक पटकमा एक सय ५० भन्दा बढी अन्डा पार्ने यो सातदेखि १० जना मानिसलाई टोकेपछि मात्र अघाउँछ । यसकारण यो लामखुट्टेले धेरैलाई डेंगु सार्ने सम्भावना हुन्छ । यो लामखुट्टेले टोकेपछि ९० प्रतिशत मानिसलाई लक्षण देखिन्छ। पहिलो टोकाइमा लक्षण नदेखिए पनिदोस्रो पटक टोकेमा गम्भीर समस्या उत्पन्न हुन्छ ।

डेंगुको अहिलेको अवस्था भयावह भएको हो ? 

हो, मैले पहिलेदेखि नै भन्दै आएको कुरा हो, डेंगुले नराम्रो रूप लिन्छ भनेर, मैले सचेत पनि गराइरहेको थिएँ । शुक्रराज ट्रपिकल अस्पतालको कुरा गर्नुपर्दा हामीकहाँ दैनिक सयभन्दा बढी डेंगुका लक्षणसँग मिल्ने बिरामी आइरहेका छन् ।

यो संख्या हेर्दा अन्य अस्पतालमा पनि उत्तिकै बिरामी होलान् भनेर आँकलन गर्न सकिन्छ । बिरामीले पनि आफूसँगै आफ्नो घरमा अन्य व्यक्ति पनि संक्रमित भएको, कसैले छिमेकीलाई यस्तो लक्षण देखियो भन्नुहुन्छ, त्यसैले मेरो विचारमा काठमाडौंको घर-घरमा डेंगु पुगेको छ । टेकु अस्पतालमा हामीले डेंगु क्लिनिक नै स्थापना गरेर बिरामीलाई सेवा दिइरहेका छौँ ।

महामारी घोषणा गर्नुपर्ने होइन ?

महामारी घोषणा सरकारले गर्ने हो । हामीले त मात्र उपचारमा ध्यान दिने हो । जति पनि बिरामी हामीकहाँ आउनुहुन्छ उहाँहरूका कुरा सुन्दा र बिरामीको चाप हेर्दा यो निकै भयावहरूपमा फैलिएको छ । अब महामारी घोषणा गर्ने कि नगर्ने भन्नेबारे सरकारले निर्णय गर्ला ।

डेंगु भएको कसरी थाहा पाउने ?

तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नुपर्छ । डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ । यस्तै, वाकवाकी लाग्ने, पेट दुख्ने,– नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने पनि डेंगुको लक्षण हो ।

अन्य कारणले गर्दा पनि ज्वरो आउन सक्छ, डेंगुको ज्वरो भनेर कसरी छुट्याउने ?

डेंगुको लक्षण अन्यभन्दा केही फरक हुन्छ । ज्वरोसँगै शरीरको असह्य दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने र कसैमा पखाला लाग्नेजस्ता लक्षण देखियो भने परीक्षण गर्नुपर्छ ।

यसको संक्रमण एक-अर्कामा सर्ने सम्भावना कति हुन्छ ?

डेंगु व्यक्तिबाट व्यक्तिमा सर्दैन । तर, एउटै ठाउँमा बस्ने परिवार, एउटै फ्ल्याटमा बस्ने व्यक्तिमा संक्रमण भएको देखिन्छ । यसको कारण एउटै संक्रमित लामखुट्टेले वरिपरिका धेरैजनालाई टोक्नु हो । यसरी एउटै लामखुट्टेबाट धेरैजनामा संक्रमण सर्न भने सक्छ, तर मानिसबाट मानिसमा भने सर्दैन ।

संक्रमण भएपछि दैनिक प्लेटलेट्स परीक्षण आवश्यक हो ?

हाम्रो शरीरमा हुने रगतको एक डेसीलिटरमा एक लाख ५० हजारदेखि ४ लाख प्लेटलेट्स हुनुपर्छ । तर, यसमा केही घटबढ भइरहन्छ । यदि, प्लेटलेट्स १ लाख भन्दा तल झर्‍यो भने दैनिक परीक्षण गर्दा राम्रो, नभए दुई तीन दिन बिराएर परीक्षण गर्दा पनि हुन्छ ।

डेंगु लागेको कति दिनमा निको हुन्छ ?

सामान्यतया हामीले एक हप्तादेखि १० दिन सम्ममा निको हुन्छ भन्छौँ, तर मेरो अनुभवमा अलि फरक छ । डेंगु क्लिनिकमा आउने बिरामीसँग बुझ्दा नौ-दश दिन पछि मात्र खानामा अलि रुचि लागेको पाउछौँ ।

खाना हेर्दै वाकवाकी लाग्ने समस्या दश दिनपछि अलि कम हुँदै जाने गरेको मेरो अनुभव छ । यसमा कसैलाई छिटो निको भएको पाउछौँ । यो मेरो नितान्त अनुभवका आधारमा भनेहो हुँ ।

डेंगु संक्रमितले जथाभावि औषधि प्रयोग गरेको पाइन्छ, कुन औषधि खाँदा उपयुक्त होला ?

हो, दुखाइ कम गर्ने नाउमा जथाभावी औषधि सेवन गर्नु हुँदैन । यसले थप जटिलता निम्त्याउन सक्छ । ज्वरो आउँदा आफूखुसी फ्लेक्जोन, ब्रुसेटलगायत दुखाइ कम गर्ने औषधि सेवन गर्नु हुँदैन ।

मकहाँ आउने धेरै बिरामीले दुखाइ कम गर्ने औषधि सेवन गरेको सुनाउनुभयो तर यस्ता औषधिले झन् समस्या बल्झिन सक्छ, त्यसतर्फ पनि सचेत रहनुपर्‍यो । यस्ता औषधिले आन्तरिक र बाह्य रक्तश्राव गराउन सक्छन् । पीडा असैह्य भयो भने पारासिटामोल सेवन गर्दा हुन्छ तर जथाभावी औषधि सेवन गर्नु हुँदैन । सकेसम्म घरमा बस्दा झोलिलो खानेकुरा बढी खाने, जीवनजल खाँदा अझ स्वास्थ्यलाई फाइदा पुग्छ ।

यसबाट कसरी बच्न सकिन्छ ?

लामखुट्टेको टोकाइबाट यो संक्रमण हुने भएकाले हाम्रो घरवरपरको सफाइमा विशेष ध्यान दिनुपर्छ । टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।

साथै, सुत्दा झुलको प्रयोग गर्ने, साना बालबालिकालाईपनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टे भगाउने मल्हम दल्न पनि सकिन्छ । यो लामखुट्टे दिउँसोको समयमा सक्रिय हुने भएकाले बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved