आगामी चुनावका लागि तात्तिए महिला सांसद, सहभागिता बढाउन मिलेर लड्ने प्रतिवद्धता

नेपालभ्युज

आगामी चुनावका लागि तात्तिए महिला सांसद, सहभागिता बढाउन मिलेर लड्ने प्रतिवद्धता

धनगढी । संघ र प्रदेशका महिला सांसदले आगामी चुनावमा महिलाको सहभागिताको विषयलाई सामुहिक मुद्दा बनाउने प्रतिवद्धता जनाएका छन् । सुदूर पश्चिमको राजधानी धनगढीमा आयोजित अन्तरक्रियामा सहभागी महिला सांसद तथा राजनीतिक दलका महिला नेताले आगामी संघ र प्रदेशसभाको चुनावमा सहभागिता बढाउन दबाब दिने बताएका छन् ।

उनीहरुले संसदमा महिला संख्या बढाउन प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी सुनिश्चित गर्नुपर्ने माग समेत गरे । नेकपा एमालेका सांसद विन्दा पाण्डेले महिलाको प्रतिनिधित्व बढाउन दलभित्र र बाहिर सामुहिक संघर्ष गर्नुपर्ने बताइन ।  महिलालाई समानुपातिकमा मात्रै सिमित पार्ने दलीय संरचनाविरुद्ध लड्न र प्रत्यक्षमा चुनाव लड्ने गरी दाबी पेश गर्न साहस देखाउनुपर्ने उनको तर्क थियो । ‘३३ प्रतिशतको कानुनी वाध्यताका कारण मात्रै संसदमा महिलाको संख्या देखिएको छ’ सांसद पाण्डेले भनिन, ‘ अब यो परिदृष्य उल्ट्याउन प्रत्यक्षमा लड्ने आँट गर्नुपर्छ ।’ सिफारिस भएका महिलाको टिकट सुनिश्चित गर्न मिलेर दबाब दिन उनले आग्रह गरिन ।

माओवादी केन्द्रका सांसद अमृता थापा मगरले प्रदेश र केन्द्रमा सँगै लड्नुपर्ने बताइन । ‘माओवादीभित्र सबै महिला उम्मेदवारको सूची बनाएर संघमा पार्टीको नेतृत्वलाई र प्रदेशमा पार्टीको प्रदेशतहको नेतृत्वलाई दबाब दिने तयारी गरेको पनि उनले जनाइन । दलहरुले सैद्धान्तिक रुपमा महिला सहभागितालाई जोड दिएपनि व्यवहारिक रुपमा फरक व्यवहार गर्ने गरेको सांसद थापाको गुनासो छ ।

एकीकृत समाजवादीकी नेता तथा सांसद पूर्णाकुमारी जोशीले पार्टीले निर्वाचनमा महिला सहभागितालाई रणनीति नै बनाएर नै अघि बढाउनुपर्ने बताइन । पूर्व प्रदेश मन्त्री जोशीले चुनावी मैदानमा महिला पुरुषभन्दा कमजोर नभएको पनि बताइन ।

पूर्व मन्त्री तथा सांसद माया भट्टले चुनावी खर्चको डर देखाएर उम्मेदवार बन्नै नदिने प्रवृत्ति देखिएकोमा आपत्ति जनाइन । उनले भनिन, ‘पैसाको डर देखाएर खुट्टा तान्ने कोसिस भइरहेको छ । यसबारे अब हामीले पार्टीभित्रै प्रश्न गर्नुपर्छ ।’

प्रदेश सांसद तथा पूर्व मन्त्री मनाकुमारी साउदले मंसिर ४ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने आँट जुटाउनुपर्ने बताइन ।

संघ र प्रदेशसभाको चुनावका लागि सिफारिसमा परेका महिला नेताले अब माथिबाट कैंची लाग्ने भन्दै चिन्ता जनाएका थिए । ‘महिलाको नाम जिल्लाबाट प्रदेशमा पुग्दा नै छाँटकाँट गरिन्छ’ कांग्रेस नेता गोमा आचार्यले भनिन्, ‘हरेक पार्टीमा पुरुष प्रधान मिचाइ छ ।’ उनले आफ्नो नाम केन्द्रसम्म सिफारिस भएको तर अब काटिन सक्ने आशंका गरिन ।

नेकपा एमालेकी प्रदेश सांसद छायाँ देवकोटाले महिलाको नाम आउनासाथ समानुपातिकमा हो भन्ने बुझाइ फेर्नुपर्ने बताइन । ‘म पनि चुनाव लड्दैछु भन्दा के समानुपातिकमा हो भनेर प्रश्न गरिन्छ । अर्को प्रश्न पैँसा छ र भनेर पनि सोधिन्छ’ उनले भनिन, ‘त्यसलाई चिर्न म यसपटक प्रत्यक्षमा चुनाव लड्दैछु । आवश्यकभन्दा एक पैसा बढि खर्च नगरी चुनाव लड्छु । जितेर पनि देखाउने छु । ’

नेपाली कांग्रेसका नेता पुष्पा भट्टले प्रत्यक्षमा जति बल गर्दा पनि आफुलाई समानुपातिकमा सिफारिस गरिएको गुनासो गरिन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शर्मिला वागचन्दले दलित महिलाका हकमा झनै समस्या रहेको बताइन ।

कार्यक्रममा सबै पार्टीका महिला नेताले प्रत्यक्ष र समानुपातिकमा नाम परेका महिलालाई आउने संघ र प्रदेशको चुनावमा जिताउन अभियान चलाउनुपर्ने सुझाव दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved