‘स्वतन्त्र’ भन्दै धमाधम दल बनाउँदै : मतदाताले स्वीकार्लान् ?

नेपालमा अचम्मको नयाँ प्रयोग भइरहेको छ । एकातिर राष्ट्रिय स्वतन्त्र पार्टी भनेर रवि लामिछानेले दल नै बनाएका छन् । अर्कोतिर स्वतन्त्र उम्मेदवार भन्दै एउटै चुनाव चिन्ह लिएर संगठित भइरहेका छन् । पुराना दलबाट दिक्क भइसकेका आम मतदातालाई आफूतिर तान्ने कसरतमा यी सबै प्रयास भइरहेको देखिन्छ ।

‘स्वतन्त्र’ भन्दै धमाधम दल बनाउँदै : मतदाताले स्वीकार्लान् ?

काठमाडौं।  संघ र प्रदेश निर्वाचनको मिति घोषणा भएसँगै दलहरू यतिबेला चुनावी अभियानको तयारीमा जुटेका छन् । योपटक स्वतन्त्र उम्मेदवार बन्न चाहनेको पनि लर्को लागेको छ । राजनीतिक पृष्ठभूमिभन्दा बाहिर पेसा व्यवसाय गरेकाहरू पनि स्वतन्त्र उम्मेदवारी दिन तछाड-मछाड गरिरहेका छन् ।

त्यसो त स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको सफलताले पनि उनीहरूलाई हौस्याएको छ । स्वतन्त्र उम्मेदवार पनि एउटै चुनाव चिन्ह लिएर मैदानमा आउने तयारीमा छन् । स्वतन्त्र भनेर संगठित हुने क्रम बढ्दो छ । पछिल्लोपटक लौरो साझा चिन्हमा लड्ने भन्दै एउटा समूहले केही उम्मेदवार नै घोषणा गरिसकेको छ । उक्त समूहमा स्थानीय तहमा उम्मेदवारी दिएर अनुभव बटुलिसकेकाहरू पनि छन् ।

काठमाडौं महानगरको मेयरमा पराजित भएका सुमन सायमी  ‘स्वतन्त्र तथा वैकल्पिक शक्ति लौरो अभियान’ का हर्ताकर्ता छन् । स्थानीय निर्वाचनमा उनले १३ हजार ७७० मत ल्याएका थिए । उनले अब काठमाडौं ८ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यस्तै, काठमाडौं ९ बाट विद्या श्रेष्ठ महर्जन, रुपन्देही–५ बाट भीष्म राना, रौतहट–१ बाट राहुल मिश्रा, काठमाडौं–५ बाट मधुसूदन पाठक (सितेबा), ललितपुर–३ बाट राजाराम तन्डुकार र भक्तपुर–२ बाट ‘दह्रो स्तम्भ लोकेन्द्र’ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन्। शिरीष गुरुङले पनि कास्की–२ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

स्वतन्त्र उम्मेदवारको संगठन बनाउँदै सायमी

अभियानको संयोजन गरिरहेका सुमन सायमीले दलको विकल्प दल नै भएको बताइरहेका छन् । यसको अर्थ अब स्वतन्त्र उम्मेदवारको पनि छुट्टै दल बनाउने उनीहरूको तयारी देखिन्छ । सायमी भन्छन्,  ‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँमा जानुपर्छ। बहुमतको कदर हुन्छ त्यहाँ। एक व्यक्तिले नीति निर्माणको कानुन बनाउन सक्दैन,त्यसकारण दलको विकल्प दल नै हो, तर जनमानसमा जागेको वितृष्णा हटाउन दल एउटा माध्यम हो भन्ने बुझाउन जरुरी छ। दलीय व्यवस्था नै ठीक होइन भन्ने गलत हो भनेर बुझाउन जरुरी छ।’

यो अभियानलाई संरचना निर्माण गर्नुपूर्वको संगठन भनेर बुझ्न सकिने सायमीको तर्क छ । उनले भने ‘यो एउटा चुनाव चिन्ह ब्रान्डिङ गर्ने अभियान हो , हामीले हाम्रो अभियानमा जोडिने सबैलाई आफ्नो उद्देश्य बताएका छौं । विचार मिल्नेहरू हामीसँग जोडिनुहुनेछ ’ पार्टी संरचनामै बदल्ने भएपनि अहिल्यै हतार भने नगर्ने उनले जनाए । यो निर्वाचनपछि पार्टी संरचना बनाउने अभियानकर्ताको योजना देखिन्छ ।

रवि लामिछानेको पार्टीसँग तालमेल 
वैकल्पिक दलका रूपमा राजनीतिमा आउन खोजेका दल वा व्यक्तिसँग तालमेल गरेर अघि बढ्ने यो अभियानका अगुवा बताउँछन् । योग्य र सक्षम उम्मेदवार उठाउने दल र व्यक्तिलाई समर्थन गर्न सकिने सायमीले बताए । उनले भने ‘जो आए पनि राम्रो व्यक्ति आउनुपर्छ भन्ने हाम्रो चाहना हो, अहिले हामीले रवि लामिछानेसँग पनि छलफल गरिरहेका छौं । उहाँको पार्टीले उम्मेदवार उठाउने ठाउँमा हामीले स्वतन्त्र उम्मेदवारी दिँदैनौं । रमेश खरेलको पार्टीसँग पनि तालमेलकालागि छलफल गरिरहेको उनले बताए ।  उनी भन्छन् ’जबरजस्ती भोट हाल्ने हैन, उम्मेदवारको बारेमा सके प्रत्यक्ष नसके गुगलमा सर्च गरेर भए पनि भोट हाल्नुहोला । राम्रोलाई चुनेर जिताउनु होला । देशलाई परिवर्तन चाहिएको छ वैकल्पिक शक्तिका लागि सबै स्वतन्त्र मिलौँ ।
निर्वाचन आयोगको बदमासी रोक्न संगठित हुनुपर्‍यो : डम्बर साहु
स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले निर्वाचन आयोगले दलीय र स्वतन्त्र उम्मेदवारलाई समान व्यवहार नगर्दा संगठित हुनुपरेको बताउँछन् ।‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेपछि प्रचार-प्रसारको समय ११ दिन मात्र दियो ।
अहिलेको माहोल बुझ्दा अझ कम समय दिने देखिन्छ । यो समय प्रचार-प्रसारका लागि पर्याप्त छैन ।’  उनले भने ‘अरू पार्टीहरूले पहिल्यैदेखि आफ्नो चुनाव चिन्हबारे प्रचार गर्न पाए तर स्वतन्त्रले त्यो सुविधा नपाउने भएपछि एउटै अवधारणमा जान लागेका हौँ ’ । एउटै निर्वाचन क्षेत्रमा एकभन्दा बढी स्वतन्त्र उम्मेदवार भए के कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल हुनै बाँकी रहेको उनको भनाइ छ ।
उनले कुनै पार्टीको सदस्य नरहेको, निर्वाचन आयोगले निर्वचनको मिति घोषणा गरेको दिनभन्दा अगावै पार्टी परित्याग गरेको व्यक्तिलाई स्वतन्त्र मान्न सकिने बताए । तर, राजनीतिक दलबाट असन्तुष्ट भई बागी उम्मेदवारी दिएको व्यक्ति स्वतन्त्रको परिभाषाभित्र नपर्ने उनको  दाबी छ ।
स्वतन्त्र भन्दै दल बनाउँदै
सामान्यत: स्वतन्त्र भनेपछि दलीय आबद्धता नभएको व्यक्तिलाई बुझिन्छ । तर, नेपालमा अचम्मको नयाँ प्रयोग भइरहेको छ । एकातिर राष्ट्रिय स्वतन्त्र पार्टी भनेर रवि लामिछानेले दल नै बनाएका छन् । अर्कोतिर स्वतन्त्र उम्मेदवार भन्दै एउटै चुनाव चिन्ह लिएर संगठित भइरहेका छन् । पुराना दलबाट दिक्क भइसकेका आम मतदातालाई आफूतिर तान्ने कसरतमा यी सबै प्रयास भइरहेको देखिन्छ । तर, यसलाई स्वतन्त्र नभनी दल नै बनाएर मैदानमा आउँदा राम्रो हुने राजनीतिक विष्लेषकहरू बताउँछन् ।
स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारले देशैभरि राम्रो प्रदर्शन गरेका थिए । तर, संघको चुनाव भने अलि फरक छ । यसमा समानुपातिक मतको पनि हिसाa हुन्छ । रविले दल बनाउनुको मुख्य कारण पनि त्यही हो । अब अन्य स्वतन्त्रले एउटै चुनाव चिन्ह त बनाएका छन्, तर अहिले नै दलको घोषणा गरेका छैनन् । चुनावपछि दल बनाउने उनीहरूको तयारी देखिन्छ । यसरी स्वतन्त्र भन्दै दल बनाउने प्रयासलाई आम मतदाताले कसरी स्वीकार गर्ने हुन् त्यो त चुनावमै थाहा हुनेछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved