मुख्यमन्त्री राउतको दुखेसोः नयाँ उद्योगलाई लिजमा जग्गा दिलाउने नीति कार्यान्वयन गर्न सकेनौं

मुख्यमन्त्री राउतको दुखेसोः नयाँ उद्योगलाई लिजमा जग्गा दिलाउने नीति कार्यान्वयन गर्न सकेनौं

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नयाँ उद्योगलाई लिजमा जग्गा दिने नीति ल्याए पनि कार्यान्वयन गर्न नसकेकोमा दुखेसो व्यक्त गरेका छन् ।  मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको उद्योग ऐनमा प्रदेशमा खोलिने उद्योगलाई लिजमा जग्गा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न नसकिएको बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघको ५५औँ वार्षिकोत्सव समारोहको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकारसँग जग्गाको स्वामित्व नै नभएकोले नयाँ उद्योग स्थापनाका लागि जग्गा उपलब्ध गराउन नसकिएको बताए ।

उनले प्रदेश सरकारले उद्योगमैत्री वातावरण सृजना गर्नका लागि उद्योगको दर्ता प्रक्रिया सरल बनाउनुका साथै विभिन्न प्रकारको करमा छुट दिने नीति ल्याएको बताए । उनले उद्योगका लागि सोलारबाट विद्युत् उत्पादन गरेर वितरण गर्ने कार्यक्रम ल्याएर अगाडि बढे पनि उत्पादित विद्युत् वितरणमा व्यवधान भएको बताए । यही व्यवधानले दुई सय मेगावाट सोलार ऊर्जा उत्पादन गर्ने कार्यक्रम लागु गर्न नसकिएको स्पष्ट पारे ।

विश्वका हिन्दुहरूको आस्थाको केन्द्रको रूपमा रहेको जानकी मन्दिरको सौन्दर्यकरणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५ करोड रकम विनियोजन गरेको उनले बताए । ‘मलाई विश्वास छ, यसबाट यहाँको पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्नेछ’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले उद्योग स्थापनाका लागि वातावरण बनाएको खण्डमा उद्योगीहरू नयाँ उद्योग स्थापनाका लागि तयार रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved