बेइजिङ डायरी

भादगाउँले टोपीमा चिटिक्क चिनियाँ नेता

अगस्ट २२ तारिख चिनियाँ नेता तङ स्याओफिङको ११८ औँ जन्म जयन्ती

सन् १९७६ मा माओको देहवसानसँगै सांस्कृतिक क्रान्ति पनि पतन भयो र तङ पुनः चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेताका रूपमा स्थापित भए। यद्यपि नेता तङ न चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव भए न चीनको राष्ट्रपति अथवा प्रधानमन्त्री नै। तर डिफ्याक्टो नेताका रूपमा सर्वोच्च सम्मानमा रहेर चीनलाई आधुनिक बनाउनमा उनको सबैभन्दा ठूलो योगदान छ।

भादगाउँले टोपीमा चिटिक्क चिनियाँ नेता

बेइजिङ। नेपालसँग ‘विशेष’ घनिष्ठ सम्बन्ध भएका उच्चस्तरका चिनियाँ नेताहरूमा चाउ एनलाईपछि तङ स्याओफिङ (अधिकांश नेपाली नेताले देङ सिआओ पिङ भन्ने ) थिए। तङ सर्वोच्च शिखर सगरमाथा माथिबाट उडान गर्दै नेपाल पुग्ने पहिलो चिनियाँ नेता पनि हुन्। उनै तङ स्याओफिङले सन् १९७८ को फेब्रुअरीमा नेपाल भ्रमणमा जाँदा सगरमाथा माथिबाट सोझै नेपाल यात्रा गरेका थिए। उपप्रधानमन्त्री तथा चीनका सर्वोच्च नेताका रूपमा उनले पहिलो विदेश भ्रमणमा नेपाललाई छनोट गरेका थिए। नेपाल भ्रमण पूरा गरेपछि उनी अन्य मुलुक नगइ चीनमै फर्किए।

गत अगस्ट २२ तारिख (भाद्र ६ गते) चिनियाँ नेता तङ स्याओफिङको ११८ औँ जन्म जयन्ती थियो। सन् १९०४ अगस्ट २२ मा चीनको पश्चिममा पर्ने सछ्वान प्रान्तमा जन्मिएका तङले फ्रान्समा अध्ययन गर्ने क्रममा सन् १९२४ मा त्यही नै चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

चीनमा नेताहरूको जन्मोत्सव, जन्मजयन्ती तथा स्मृति दिवस मनाउने चलन छैन। राष्ट्रपिताका रूपमा रहेका र चिनियाँ मुद्रामा फोटो छापिने माओ चतोङको पनि न जन्मजयन्ती मनाइन्छ न त स्मृति दिवस नै। सन् १९४९ अक्टोबर १ तारिख नयाँ चीन स्थापना भएपछि माओपछि सबैभन्दा धेरै सम्मान पाएका नेता हुन् तङ स्याओफिङ। उनलाई आधुनिक चीनका आर्किटेक्ट पनि भनिन्छ।

भादगाउँले टोपीमा सजिएका तङ

सरकारी स्तर अथवा संस्थागत रूपमा तङ स्याओफिङको जन्मजयन्ती नमनाए पनि चिनियाँ नागरिकले सामाजिक सञ्जालमा यत्रतत्र तङका फोटो, भिडिओ, उनका भनाई, उनका लेख तथा तङसम्बन्धी विविध पक्षलाई पोस्ट गरेका छन्। फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जाल कमै चिनियाँले चलाउने गर्छन्। यी सञ्जालको सट्टा चिनियाँहरू वीच्याट, वीइपो, युखौ र तौयिन चलाउँछन्। ती सञ्जालमा चिनियाँ नागरिकले नेता तङलाई सम्झिएका छन्।

सुधार र खुला नीतिका प्रवर्द्धक मात्र होइनन् तङ स्याओफिङ। उनले अवलम्बन गरेको अर्को सिद्धान्त विश्वमै अनुपम मानिन्छ। त्यो हो ‘एक राष्ट्र दुई व्यवस्था’। यही सिद्धान्तबाट यति बेला चीनको मुख्यभूमिमा कम्युनिस्ट शासन व्यवस्था छ भने हङकङ र मकाउमा पूँजीवादी शासन व्यवस्था। यही सिद्धान्तमा टेकेर ताइवानलाई मातृभूमिमा पुनःएकीकरण गर्ने उद्घोष चीनले गरिसकेको छ।

तङले अगाडि सारेको यही सिद्धान्तले उनलाई सर्वोत्कृष्ट देशभक्त नेताका रूपमा पनि स्थापित गराएको छ। जीवनको अन्तिम अवस्थामा उनले एउटा इच्छा व्यक्त गरेका थिए जुन पूरा हुन पाएन। हङकङ मातृभूमि चीनमा पुनः एकीकरण भएको हेर्ने इच्छा थियो उनको। तर हङकङ चीनमा फर्कनुभन्दा पाँच महिना अगाडि उनले देह त्याग गरे। सन् १९९७ फेब्रुअरी १९ तारिख नेता तङको मृत्यु भएको थियो। सोही वर्षको जुलाई १ तारिख हङकङ चीनमा फर्किएको हो।

चीनमा तङ स्याओ फिङलाई चिन्ने विभिन्न क्षेत्रमध्ये दक्षिणमा रहेको शनचन एउटा हो। शनचनलाई चीनको खुला र सुधारको महत्त्वपूर्ण आँखी झ्याल भनिन्छ। चीनमा सबैभन्दा कान्छो सहर भएर पनि सबैभन्दा द्रुत विकास गरेको शनचनले ४० वर्षको छोटो अवधिमै आश्चर्यजनक रूपमा विकास गरेको छ।

शनचन चीनको पहिलो विशेष आर्थिक क्षेत्र पनि हो। अहिलेको भव्य शहर शनचन ४० वर्ष अगाडि समुद्रको किनारमा रहेको सानो माछा बजारका रूपमा गुमनाम थियो। कुरा सन् १९८० को हो। सन् १९६६ देखि १९७६ सम्म चलेको सांस्कृतिक क्रान्तिले चिनियाँ अर्थतन्त्रलाई ध्वस्त बनाएको थियो।

सन् १९७६ मा माओको देहवसानसँगै सांस्कृतिक क्रान्ति पनि पतन भयो र तङ पुनः चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेताका रूपमा स्थापित भए। यद्यपि नेता तङ न चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव भए न चीनको राष्ट्रपति अथवा प्रधानमन्त्री नै। तर डिफ्याक्टो नेताका रूपमा सर्वोच्च सम्मानमा रहेर चीनलाई आधुनिक बनाउनमा उनको सबैभन्दा ठूलो योगदान रहेको छ।

सांस्कृतिक क्रान्ति सकिएको चार वर्षपछि १९८० मा चीनको विकास कसरी गर्ने भन्ने कुरालाई लिएर नेता तङ गम्भीर र चिन्तित थिए। आर्थिक विकासका निश्चित कार्यक्रम बुन्दै उनी हङकङलाई नियाल्नका लागि क्वाङतोङ प्रान्तको समुद्री किनारमा पुगेका थिए। उनी उभिएको ठीक पारिपट्टि जगमगाइरहेको हङकङ देखेर तङले आफ्नो साथमा गएका चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेतालाई सोधेका थिए ‘यो चम्किरहेको हङकङ जस्तै कुनै सहर चीनमा बनाउन सकिन्छ कि सकिन्न?’

उनको कुरा सुनेर सबै नेता मुखामुख गर्न थाले। उन्नाइसौँ शताब्दीको मध्यतिरै विकसित हङकङ अन्तर्राष्ट्रिय व्यापारका लागि ख्यातिप्राप्त भइसकेको थियो। हङकङकै हाराहारीमा नयाँ शहर विकास गर्नका लागि त्यतिबेला चीनसँग पुँजी र क्षमता छैन भन्ने अरू नेतालाई लागेको थियो।

आफूसँग गएका नेताहरू चुप लागेको देखेर तङले मुस्कुराउँदै भनेका थिए ‘‘अहिले हामी उभिएको ठाउँमा ऊ त्यो हङकङ जस्तै नयाँ सहर स्थापना गर्नुपर्छ बुझ्नुभयो कमरेडहरू?’’ नेता तङको कुरा सुनेर सबै आश्चर्यमा परे। ‘‘त्यस्तो सहर स्थापना गर्नका लागि पूँजी कसरी जुटाउने कमरेड? हामीसँग त्यस्तो ठूलो श्रोत पनि छैन’’ केही नेताले अकमकाउँदै सोधे।

चीनको शनचनमा रहेको तङ स्याओफिङको शालिक

नेता तङले त्यसो भन्ने नेतालाई धाप मार्दै भनेका थिए ‘‘पहिले सपना देख्नुपर्छ अनि योजना बनाउनुपर्छ। तपाईँहरू आजैदेखि योजना बनाउन लाग्नुहोस्। पूँजीको चिन्ता गर्नु पर्दैन। चिनियाँ पूँजीबाट होइन विदेशी पुँजीबाट हामी यहाँ नयाँ ’हङकङ’ बनाउनेछौँ।’’

त्यसपछि तुरुन्तै शुरु भयो नयाँ सहरको खाका बनाउने काम। पहिलो विशेष आर्थिक क्षेत्रका रूपमा स्थापित भएर चीनमा विदेशी लगानी भित्र्याउने झ्यालका रूपमा शनचन रह्यो। चार दशकमै शनचन हङकङकै हाराहारीमा विकसित भइसकेको छ। भनिन्छ, जहाँ उभिएर नेता तङले शनचन बनाउने निर्देशन दिएका थिए त्यही स्थानमा अहिले उनको विशाल कास्य शालिक बनाइएको छ। नेता तङको चीनमा निर्मित त्यो एक मात्र शालिक हो। अहिले सो स्थानलाई लोटस हिल पार्क भनिन्छ।

द्रुत गतिमा विकसित हुँदै शनचन अहिले चीनका बेइजिङ, शाङहाई, थिआनचिन, क्वाङचौ र हङकङ जस्तै ‘क’ श्रेणीको उच्चस्तरीय शहर बनेको छ।

सन् २०२० अक्टोबर १४ तारिख शनचन विशेष आर्थिक क्षेत्र स्थापना भएको ४०औँ वार्षिकोत्सव मनाउने क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले चीनमा सुधार तथा खुलापन नीति लागू भएपछि चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताले निर्माण गरेको नयाँ सहर भएको बताएका थिए।

उनले एउटा रोचक वाक्यांश पनि प्रयोग गरेका थिए। उनले भनेको उक्त रोचक वाक्यांश थियो ‘‘शनचन चिनियाँ जनताले खाली कागजमा बनाएको चीनको विशेषतायुक्त समाजवादको अद्भुत नक्सा हो।’’ शनचन चीनमा सुधार र खुलापन सुरु भएको दुई वर्षपछि मात्र स्थापना भएको सहर भएकाले सीले उक्त कुराको संकेत गरेका थिए।

सन् १९७९ मा वीरेन्द्रले नेता तङलाई उपहार दिएको काठको मयुर झ्याल

तङ स्याओ फिङको प्रसङ्ग आउनासाथ उनको एउटा भनाइ सबैले सम्झने गर्दछन्। उनले एकपटक भनेका थिए ‘‘बिरालो कालो होस् अथवा सेतो त्यसले मुसा मार्नुपर्छ।’’ वैदेशिक लगानी भित्र्याउनका लागि चीनका बन्द ढोका खोल्नुपर्नेमा नेता तङले सधैँ जोड दिए। उनको यो नीतिलाई लिएर पार्टीभित्र व्यापक आलोचना भएको थियो।

सुधार र खुलापन अँगालेकाले नै सांस्कृतिक क्रान्तिको समयमा तङलाई सबैभन्दा ठूलो तारो बनाइएको थियो। खुला अर्थतन्त्र अँगाल्दा चीन पश्चिमा मोडलको पूँजीवादी बाटोमा जानसक्ने खतरा भएको भनेपछि नेता तङले उक्त भनाइ राखेका थिए। नाम जे राखे पनि शासनसत्ताले जनताका निम्ति काम गर्नुपर्ने भन्ने तात्पर्यका रूपमा आएको सो भनाइले चिनियाँ नेतालाई सधैँ जनताका लागि काम गर्न प्रेरित गर्दै आएको छ।

चीनमा आर्थिक रूपमा वैदेशिक ढोका खोल्ने र आन्तरिक रूपमा सुधार गर्ने नीतिलाई नै ‘खुला र सुधार’ नीति भन्ने गरिन्छ। यही नीति अनुसार तङले कुनै मुलुकको नक्कल नगरी चिनियाँ चरित्रको बजारमुखी समाजवादी व्यवस्था लागू गर्ने काम गरे। फलतः खुला र सुधार नीतिलाई नै चिनियाँ चरित्रको समाजवाद पनि भनिन्छ। यही मियोमा अहिले चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको शक्तिका रूपमा उभिएको छ। विश्वका ठूला र नामुद कम्पनी चीनमा केन्द्रीत भएका छन्।

छिमेकी मुलुक भएकाले चीनका विकासका बाछिटा नेपालमा पर्नु स्वाभाविक हो। तङ स्याओफिङ आजभन्दा ४४ वर्ष अगाडि उच्च चिनियाँ नेताका रूपमा हिमाल नाघेर पहिलो पटक नेपाल पुगेका थिए। अहिले त्यही हिमाल छेडेर चिनियाँ रेल नेपाल पुर्‍याउने सम्भाव्यता अध्ययनका लागि चीनले नेपाललाई सघाउने भएको छ।

सन् १९७९ मा बेइजिङमा वीरेन्द्रलाई स्वागत गर्दै चिनियाँ नेता तङ

तङ स्याओफिङ नेपाल भ्रमणमा रहँदाको विवरणलाई सुरेश कार्कीले ‘नेपाल चीन सम्बन्ध ऐतिहासिक विवेचना’ पुस्तकको पृष्ठ ३० मा छोटकरीमा उल्लेख गरेका छन्।

कार्कीले लेखेका छन् – तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले आयोजना गरेको रात्रिभोजमा तङलाई स्वागत गर्दै भनेका थिए ‘‘उपप्रधानमन्त्री तङको यो भ्रमण ऐतिहासिक कालदेखि नेपाल चीन बीच रहँदै आएको मित्रताको प्रतीकको रूपमा रहनेछ।’’
प्रत्युत्तर मन्तव्यका क्रममा तङले भनेका थिए ‘सगरमाथा चीन र नेपाल मित्रताको प्रतीक हो र राजा वीरेन्द्रबाट सम्झौता गरी संचालन गरिएको हवाइमार्गबाट सिधै नेपाल आउन पाएकोमा खुशी व्यक्त गर्दछु।’’

नेपालले राखेको शान्ति क्षेत्रको प्रस्तावलाई चीनले समर्थन गर्ने पनि उनले बताएका थिए। तङ नागरिक अभिनन्दन समारोहमा पनि सहभागी हुँदै सो समारोहलाई सम्बोधन गर्ने क्रममा चीनले नेपालसँगको मित्रतालाई सदैव महत्त्व दिँदै आएको र सहयोग राशि भविष्यमा वृद्धि गर्दै लाने बताएका थिए।

नेपाल भ्रमणका क्रममा नेता तङले रङ्गिन फूलको माला र भादगाउँले टोपी लगाएर फोटो खिचाएका थिए। माला र टोपीमा तङ स्याओफिङ जति खुलेका थिए त्यति नै उनको मुस्कान मिठो देखिन्छ।

त्यही समयदेखि चीनमा नेपाली टोपीले आफ्नो पहिचान झल्काउँदै आएको छ। त्यसैगरी सन् १९७९ को अगस्टमा नेपालका तत्कालीन राजा वीरेन्द्र चीन भ्रमणमा आएका थिए। उक्त समयमा उनले चिनियाँ नेता तङलाई काठको मयुर झ्याल उपहारमा दिएका थिए। राजा वीरेन्द्रले दिएको उक्त काठको मयुर झ्याल बेइजिङको राष्ट्रिय सङ्ग्रहालयमा अहिले पनि सुरक्षित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved