अन्तरवार्ता

कांग्रेस (बीपी)का नेता मल्ल भन्छन्, ‘देउवा चुनावमा डडेल्धुरा आए जनतासँग लडाइँ हुन्छ’

अहिलेसम्म देउवाले कहाँबाट चुनाव लड्ने भनेर खुलाइसक्नु भएको छैन । यदि, उहाँ  फेरि पनि डडेल्धुराबाटै लड्ने इच्छा देखाएर आउनुभयो भने जनता भर्सेस देउवाबीचको प्रतिस्पर्धा हुनेछ । माओवादीसँग हाम्रो तालमेल हुनसक्ने अप्राकृतिक कुरा हो । तर एमालेसँग हाम्रो तालमेलको विषय प्राकृतिक नियमको सिद्धान्तले पनि सम्भव छ ।

नेपालभ्युज

कांग्रेस (बीपी)का नेता मल्ल भन्छन्, ‘देउवा चुनावमा डडेल्धुरा आए जनतासँग लडाइँ हुन्छ’

काठमाडौं। नेपाली कांग्रेस (बीपी) का वरिष्ठ उपसभापति कर्ण मल्लले सत्ता गठबन्धन बाहिरका दलसँग चुनावी तालमेलको प्रयास भइरहेको बताएका छन् । नेपाली कांग्रेस छाडेर नयाँ पार्टीमा लागेका मल्ल अहिले नेकपा एमाले लगायतका दलसँग तालमेलको प्रयासमा छन् ।

डडेल्धुरा उनी कांग्रेस सभापति शेरबहादुर देउवालाई हराउने योजनामा छन् । देउवासँगकै टकरावका कारण पार्टी छाडेका मल्लले स्थानीय तह चुनावमा पनि कांग्रेसका उम्मेद्वार हराउन डडेलधुरामा एमालेसँग तालमेल गरेका थिए ।

आसन्न चुनावमा उनीहरुको भूमिका कस्तो हुन्छ त ? यसै विषयमा केन्द्रीत रहेर नेपाल भ्युजका लागि प्रकाश बस्यालले मल्लसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको संक्षिप्त अंश:

तपाईंहरूको चुनावी तयारी कस्तो हुँदै छ ?

नेपाली कांग्रेस बीपीको तर्फबाट सम्पूर्ण निर्वाचन क्षेत्रमा उम्मेदवारी खडा गर्ने विषयमा छलफल भइरहेको छ । जिल्लाहरुमा कार्यक्रम पनि भइरहेका छन् । यही भदौ २७ गते कन्द्रीय समितिको बैठक बसेर उम्मेदवारको बन्दसूची तय गरेर असोज दुई गते निर्वाचन आयोगमा बुझाउँछौं। त्यसलगतै नेपाली कांग्रेस बीपीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सार्वजनिक गर्छ ।

तपाईं उम्मेदवारको दाबेदार हो कि होइन ?

यसबारे ठ्याक्कै भन्न मिल्ने अवस्था छैन । म निर्वाचनमा उठे भने डडेल्धुराबाटै लड्ने हो । म पनि दाबेदार हो तर हाम्रो एक जना अर्को साथी पनि हुनुहुन्छ उहाँ र म सल्लाह गरेर एक जना उठ्छौँ । स्वाभाविक रुपमा म पनि दाबेदार नै हो ।

त्यसो भए डडेल्धुरामा गुरु चेलाको प्रतिस्पर्धा पक्कापक्की भयो होइन ?

हैन, योपटक शेरबहादुर देउवा भर्सेस डडेल्धुराका जनताबीचको प्रतिस्पर्धा हुन्छ । अहिलेसम्म उहाँले कहाँबाट लड्ने भनेर खुलाइसक्नु भएको छैन । यदि, उहाँ  फेरि पनि डडेल्धुराबाटै लड्ने इच्छा देखाएर आउनुभयो भने जनता भर्सेस देउवाबीचको प्रतिस्पर्धा हुनेछ ।

तपाईंलाई जसले हात समातेर राजनीतिमा ल्यायो उसकै विरुद्धमा किन लाग्नुभएको ?

पहिलो कुरा त शेरबहादुर दाई सैद्धान्तिक रूपमै स्खलित हुनुभयो । नेपाली कांग्रेसको लामो राजनीतिक संघर्षमा उहाँले विधि विधानको वकालत गर्नुभयो । पार्टी सबैको हुनुपर्छ र यो पार्टीमा क्रियाशील भएका लगानी गरेका, जेल नेल खाएका संघर्षबाट खारिएका सबैको बराबर हक हुनुपर्छ भन्ने मुद्दा उठाएर उहाँ पार्टीको १३औँ महाधिवेशनमा सभापति हुनुभयो । सभापति हुँदा सम्म म पनि उहाँकै साथमा थिए । उहाँको त्यो लडाइँमा देशभरि नै नेपाली कांग्रेसका कार्यकर्ताको बीचमा यो मुद्दा लिएर देउवालाई सभापति बनाउनुपर्छ भन्ने नै हामी हौँ ।

तर, जुन दिन उहाँ सभापतिमा निर्वाचित हुनुभयो त्यसपछि सबै कुरा हरायो । उहाँ सभापति भएकै दिन गुटको अन्त्य गर्छु भन्नुभएको थियो तर त्यसपछि गुटको अन्त्य होइन कि गिरोहबाट पार्टी सञ्चालन गर्न लाग्नुभयो र देशभरि रहेका सच्चा कार्यकर्ताको भावनामा ठेस पुर्‍याउनुभयो । कार्यकर्ताको भावनालाई अपमान गर्नुभयो । पार्टी धनवाद र डनवादको बीचमा राखेर चलाउनुभयो ।

देश सञ्चालन गर्दा पनि उहाँले राष्ट्र, राष्ट्रियता र मुलुकको प्रजातन्त्रको खिलाफमा, अर्थतन्त्रको खिलाफमा जुन निर्णय गर्नुभयो म त्यसको विरुद्धमा थिएँ । पार्टीमा रहँदा उहाँको रुचिको कार्यकर्ता भएर बस्ने अवस्था नभएपछि मैले नेपाली कांग्रेस बीपी रोजेको हो ।

तपाईंले देउवाको स्वकीय सचिव भएर पनि काम गर्नुभयो उहाँका कमजोरी के रहेछन् ?

दोस्रोपटक प्रधानमन्त्री हुँदासम्म शेरबहादुर दाई पार्टी नेताको हिसाबले पनि, प्रधानमन्त्रीको हिसाबले पनि एउटा असल नेताको रूपमा हुनुहुन्थ्यो, तर अहिले उहाँ ती गुणहरूबाट लगभग अलग्गिसक्नुभएको छ । अहिले पनि उहाँले पार्टी कसरी चलाइरहनुभएको छ तपाईंहरूले देखिरहनुभएको छ । यता सरकार कसरी चलाउनुभएको त्यो पनि हामी सबैको अघि छ । आज सबैजनाले सत्ताका लागि शेरबहादुरले जे पनि गर्छ भन्न थालिसके योभन्दा बढी म के भनुँ?

त्यति ठूलो  संघर्ष गरेको पार्टी छोड्दा कता-कता गल्ति गरेजस्तो लागेन ?

मलाई गौरवको अनुभूति हुन्छ । म हिजो नेपाली कांग्रेसमा थिएँ आज नेपाली कांग्रेस बीपीमा । यो पार्टी हरिबोल भट्टराईको अभिभावकत्वमा, सुशीलमान शेरचनको नेतृत्वमा हामी अगाडि बढेका छौँ । यो पार्टीले गर्ने हरेक निर्णयमा तल्लो तहको भावना सुन्ने मात्र होइन दस्तावेजीकरण गरेर राख्ने चलन छ । यो भनेको लोकतन्त्रको सुन्दर अभ्यास हो । सबैका कुरा सुन्ने प्रवृत्ति सबै पार्टीमा हुँदैन । यो पार्टीमा सबैको समान हैसियत छ त्यसैले यो पार्टीमा आएकोमा मलाई कुनै पछुतो वा ग्लानी छैन । अझ नयाँ जोस र ऊर्जा भरिएको छ ।

संघ र प्रदेश निर्वाचन नजिकिएको छ । तपाईंहरु गठबन्धन गरेर चुनावमा जाने होला हैन ? 

सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरू जसले नेपाली कांग्रेस बीपीको साथ चाहन्छ र साथ सहयोग लिएर निर्वाचनमा जाने प्रस्ताव जुन पार्टीले लिएर आउँछ, हामी उहाँहरूसँग सहकार्य गरेर निर्वाचनमा तालमेल गर्न सक्छौँ ।

कांग्रेससँग गठबन्धन हुन सक्छ ? 

यो निर्वाचनमा त कुनै सम्भावना नै छैन । मंसिर ४ गतेसम्म त्यस्तो कुनै हालतमा हुँदैन ।

उसोभए एमाले वा माओवादीसँग तालमेल हुन्छ ?

माओवादी त अहिले सत्ता गठबन्धनमा छ । माओवादीसँग हाम्रो तालमेल हुनसक्ने अप्राकृतिक कुरा हो । यता एमालेसँग हाम्रो तालमेलको विषय प्राकृतिक नियमको सिद्धान्तले पनि सम्भव छ । त्यो पार्टीको नेतृत्वले भन्यो भने हाम्रो प्रभाव रहेका क्षेत्रमा उहाँहरूले हामीलाई समर्थन गर्नुपर्ने हुन्छ अरु ठाउँमा उहाँहरूलाई हामीले सघाउँछौँ ।

स्वतन्त्र उम्मेदवारको त बाढी नै आउला जस्तो भयो नि ?  

स्वतन्त्र उम्मेदवार आउनु निकै सकारात्मक हो । स्थानीय तहको निर्वाचनमा पनि हामीले हेरिसक्यौँ । मतदाताले धरानदेखि पश्चिम धनगढीसम्म दलहरूप्रतिको वितृष्णा देखिनेगरी प्रदर्शन गरिसकेका छन् । अब अहिले पनि जसरी स्वतन्त्र उम्मेदवार आइरहेका छन् त्यो स्वाभाविक प्रक्रिया हो । यो दलहरूको असफलता, दलका नेता भनाउँदाहरूको असफलता हो । जति पनि यो मुलुकमा राजनीतिक परिवर्तन भए, यसका मियो हामी हौँ भन्ने केही दल र नेतालाई यो धेरै ठूलो चुनौती हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved