कर्णालीमा मन्त्री हेरफेर

कामरेडको त्यो ‘कठोर निर्णय’ जसले श्रीमतीलाई मन्त्री बनायो

नेपालभ्युज

कामरेडको त्यो ‘कठोर निर्णय’ जसले श्रीमतीलाई मन्त्री बनायो

काठमाडौं । कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामी नियुक्त भएका हुन् ।

यसअघि, माओवादीले प्रदेश सरकारबाट विन्दमान विष्ट र गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर शाह र कामीलाई मन्त्री बनाउन मुख्यमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।

मन्त्री नियुक्तिको आन्तरिक कथा

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा नेता रामदीप आचार्यले साउन ३१ गते बेलुका ७ः२३ बजे फेसबुकमा एउटा स्टाटस लेखे, जहाँ यति मात्रै थियो ‘कठोर निर्णयको मोडमा’ । त्यतिबेला, माओवादीको आन्तरिक बैठक चलिरहेको थियो । उनले स्टाटस लेखेको दुई दिनपछि कर्णालीका पूर्वमुख्यमन्त्री तथा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही र माओवादीका प्रदेश अध्यक्ष विमला केसीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एउटा सन्देश आयो । सन्देशमा भनिएको थियो ‘आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान बिष्ट र ऊर्जा तथा जलस्रोतमन्त्री गणेशप्रसाद सिंहको ठाउँमा रातो कामी र कृष्णा शाह आचार्यलाई पठाउनु ।’

प्रचण्डले मन्त्री बनाउनु भनेर निर्देशन दिएकी कृष्णा शाह उनै रामदीप आचार्यकी श्रीमती हुन् । विष्ट र सिंह ६ महिनाअघि मात्र मन्त्री बनेका थिए । उनीहरूको कार्यकाल अब तीन महिना मात्र बाँकी थियो । तर, युवा नेता आचार्यको त्यही  ‘कठोर निर्णयको मोडमा’ स्टाटसले विष्ट र सिंहको मन्त्री पद खुस्किएको छ भने कामी र शाह मन्त्री बनेका छन् ।

रामदीप आचार्य र श्रीमती कृष्णा शाह

आचार्यले साउन ३१ गते कठोर ‘कठोर निर्णय’ लिएपछि अध्यक्ष प्रचण्डले श्रीमती शाहलाई मन्त्री बनाउने आश्वासन दिए । एकजनालाई मात्रै मन्त्री बनाउँदा नकारात्मक सन्देश जाने भएकाले दुईजनालाई हटाएर दुईजना नयाँ ल्याउने सहमति भयो ।

यसअघि ‘कठोर निर्णय’ को मोडमा पुगिसकेका आचार्य श्रीमती मन्त्री बन्ने पक्का भएपछि भने एकाएक नरम भए । त्यसको भोलिपल्ट बिहानै उनले फेसबुकमा ‘शुभ प्रभात ! तीन प्रष्टीकरण ‘कठोर निर्णय’बारे ।’ भन्दै अर्को स्टाटस लेखे । जसमा भनिएको छ ।

‘१. रगत, पसिना र आँसुबाट निर्मित पार्टी परिवर्तन कल्पनाभन्दा बाहिरको हावादारी कुरा हो ।
२. समानतावादी आन्दोलन र वैज्ञानिक विचार–पद्धतिको अगाडि कुनै पनि रूपको पद प्राप्ति मेरो लागि तुच्छ सवाल हो ।
३. पार्टी जमेको पोखरी वा शान्त तलाउ होइन वेगवान नदी हुनुपर्छ ! त्यसका लागि म बोल्छु किनकि म मान्छे हो, म बोल्छु किनकि म जीवित मान्छे हुँ, म बोल्छु किनकि, म स्वतन्त्र मान्छे ‘हुँ !’

श्रीमतीलाई मन्त्री बनाउने सन्देश पाएका आचार्यले भोलिपल्ट सामाजिक सञ्जालमा कुटिल स्पष्टीकरण दिएको माओवादीका एक नेताले बताए। ती नेता भन्छन्, ‘उनी जसरी पनि श्रीमतीलाई मन्त्री बनाउनका लागि कठोर निर्णयमा पुगेका थिए । सुप्रिमोलाई धम्क्याएर श्रीमतीलाई मन्त्री बनाउन खोजेको देखिन्छ ।’

तर, माओवादीले भने अदालतको आदेशअनुसार समावेशी बनाउन नयाँ मन्त्री पठाएको तर्क दिने गरेको छ । केही समय अघि कर्णालीको मन्त्री परिषद्लाई समावेशी बनाउन उच्च अदालत सुर्खेतले आदेश दिएको थियो ।

गैरसांसद कार्चेन लामाको कार्यकाल सकिएपछि माओवादी केन्द्र संसदीय दलले साउन २५ गते वीरबहादुर शाहीलाई मौजुदा मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको थियो । उच्च अदालतले प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाउँदै अब गठन हुने मन्त्रिपरिषद् समावेशी सिद्धान्तका आधारमा गर्न आदेश दिएको थियो ।

त्यो बेला नाम दिन अटेर गरेको माओवादीले युवा नेता आचार्यको ‘कठोर निर्णय’ पछि भने समावेशी सिद्धान्तको जामा पहिर्‍याउन थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved