रामकुमारी झाँक्री निर्वाचन क्षेत्रमा व्यस्त,  गोकर्ण विष्टलाई टक्कर दिने योजना

गुल्मी क्षेत्र नम्बर-२ मा नेकपा एमालेले परिचित नेता गोकर्ण विष्टलाई टिकट दिने पक्का जस्तै छ । तीन पटकसम्म संसदीय चुनाव जितेका विष्टलाई टक्कर दिन झाँक्री कम्मर कसेर लागेकी छिन् ।

नेपालभ्युज

रामकुमारी झाँक्री निर्वाचन क्षेत्रमा व्यस्त,  गोकर्ण विष्टलाई टक्कर दिने योजना

काठमाडौं। नेकपा एकिकृत समाजवादी पार्टीकी सचिव, प्रतिनिधिसभाकी सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्री यतिबेला गुल्मीको निर्वाचन क्षेत्र नम्बर-२ मा छिन् । केहि समयदेखि उनी काठमाडौं छाडेर गुल्मीको निर्वाचन क्षेत्र नम्बर-२ का टोल/टोल चहार्न र विभिन्न कार्यक्रममा व्यस्त छिन् । यसअघि कहिलकाँही मात्रै आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने झाँक्री प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै गाउँघरतिरै व्यस्त देखिन्छिन्। विभिन्न कार्यक्रममा सहभागि भएका तश्वीर झाँक्रीले सामाजिक सञ्जालमा पनि राख्दै आएकी छिन् ।

आउँदो मङ्सिर ४ गते हुने निर्वाचनमा गुल्मीको निर्चावन क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दिने घोषणा गरेकी झाँक्रीले एमालेको विरासत तोड्ने घोषणा गरिसकेकी छिन् । यद्यपी एमालेको विरासत तोड्ने भन्दै फेसबुकमा लेखेको तश्वीरसहितको स्टाटस भने उनले हटाएकी छिन् ।

गुल्मी क्षेत्र नम्बर-२ मा नेकपा एमालेले परिचित नेता गोकर्ण विष्टलाई टिकट दिने पक्का जस्तै छ । तीन पटकसम्म संसदीय चुनाव जितेका विष्टलाई टक्कर दिन झाँक्री कम्मर कसेर लागेकी छिन् ।

निर्वाचनको तयारीका लागि उनी गुल्मीका विभिन्न ठाउँमा पुगेकी छिन् । यस्तै विकास निर्माणका बारेमा पनि नागरिकलाई अपटेड गराइरहेकी छिन्। आइतबार झाँक्रीले सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको ठेक्का लागेको विषय फेसबुकमा पोष्ट गरेकी छिन् । आइतबार नै झाँक्रीले आफूले एसएलसी दिएको धुर्कोटको हिमालयन मावीमा पुगेर शिक्षकहरुसँग अन्तरक्रिया गरिन् ।

शनिबार बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन समारोहमा सहभागि झाँक्री धुर्कोट गाउँपालिकाले आयोजना गरेको तीज गित प्रतियोगितामा सहभागि हुन दिउँसो धुर्कोट नै पुगिन् । यस्तै पुर्कोटको रोपाइँ जात्रामा पनि झाँक्री नाचेको तश्वीर र भिडिओ सार्वजनिक भएको छ ।

त्यसअघि उनले गुल्मीको तम्घासमा पार्टी प्रशिक्षण चलाइन्। झाँक्रीका यी सबै गतिविधिलाई निर्वाचन लक्षित अभियानको रुपमा हेरिएको छ ।

गुल्मी क्षेत्र नम्बर-२ मा सत्ता गठबन्धनबाट एकिकृत समाजवादी र नेपाली कांग्रेसको मूख्य दाबेदारी छ। स्थानीय तहको चुनावमा सत्ता गठबन्धनले गुल्मीमा राम्रो सफलता हासिल गरेको छ । विष्टकै घर रहेको इस्मा गाउँपालिकामा एमाले पराजित भएको छ भने झाँक्रीको गाउँपालिका मदानेमा गठबन्धनको तर्फबाट कांग्रेस विजयी भएको छ । घटनाक्रम र तथ्याङ्क हेर्दा गुल्मी-२ मा झाँक्री र विष्टको चुनावी भीडन्त रोचक हुने अनुमान हुन थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved