गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरू

नेपालभ्युज

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरू

रुपन्देही। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरू भएको छ । व्यावसायिक उडानको तीन महिनापछि शुक्रबार पहिलोपटक काठमाडौंको हिमालेक्स ट्रेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत यो विमानस्थल प्रयोग गरेर विदेश निकासी सुरु गरेको हो । हिमालेक्सले हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाउन लागेको कम्पनीका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिए ।

पहिलो चरणमा दुई टन सामान निकासी हुन लागेको विमानस्थलले जनाएको छ । सामानको चेकजाँच पश्चात राजस्व दाखिला गर्नुपर्ने हुन्छ । सबै प्रक्रिया भई शनिबार जजिरा एयर मार्फत् कुवेत हुँदै फ्रान्सको लियोन विमानस्थल सामान पुग्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख टीकाराम गैरेले बताए ।

हालसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट मात्रै अन्तर्राष्ट्रियस्तरमा कार्गो जाने गरेको थियो । दोस्रो विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलको प्रवर्द्धन गर्न, यहाँबाट निकासी पैठारी गर्न सहज र सस्तो छ भन्ने सन्देश दिन पनि काठमाडौंबाट सामान ल्याएर विदेश निकासी सुरु गरेको हो ।

गौतमबुद्धबाट अहिले कुवेतको जजिरा एयरले सातामा तीन दिन उडान गर्दै आएको छ । यहाँबाट कार्गो सञ्चालनका लागि उसले निजी क्षेत्रसँग छलफल गरिरहेको छ । विमानस्थलमा छुट सुविधा पाएका कारण पनि काठमाडौंभन्दा भैरहवाबाट भाडादर सस्तो तोकिएको जजिराका बिक्री तथा बजार प्रबन्धक राजेन्द्र बानियाँले बताए ।

विमानस्थलका अधिकारीहरूले केही कानुनी जटिलता हटाउने हो भने विदेश सामान निकासीका लागि नजिकका भारतीय बजारका उत्पादन पनि गौतमबुद्ध हुँदै बाह्य मुलुक पठाउन सकिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved