अब नेपालको बाटो हुँदै तेस्रो देश जान पाइने, पर्यटन व्यवसायी खुसी

नेपालभ्युज

अब नेपालको बाटो हुँदै तेस्रो देश जान पाइने, पर्यटन व्यवसायी खुसी

काठमाडौं। कोरोना सङ्क्रमणका कारण झन्डै डेढ वर्षदेखि नेपालको बाटो हुँदै तेस्रो मुलुकमा जान कायम रहेको प्रतिबन्ध सरकारले हटाएको छ। विदेशी नागरिकलाई नेपाली बाटो हुँदै तेस्रो मुलुक जान लाग्दै आएको प्रतिबन्ध सोमबारको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो।

यसअघि अध्यागमन विभागले २०७८ वैशाख १५ गते रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो मुलुक जाने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो। कोभिड महामारीका बेला नेपालमा थप सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले प्रतिबन्ध लगाइएको थियो। महामारी कम भएसँगै लागू गरिएका हवाई उडानसम्बन्धी सबै प्रतिबन्ध भने यसअघि नै हटिसकेका थिए। प्रतिबन्ध हटेसँगै अब भने नेपाली विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गरी विदेशी नागरिक तेस्रो मुलुक जान पाउनेछन्। यसअघि विशेष गरी भारत, भुटान र बङ्गलादेशका नागरिक नेपाललाई ट्रान्जिट गरेर युरोप, अमेरिका, जापान, अस्टेलिया, साउदीलगायतका मुलुक जाने गरेका थिए।

यसैबीच सरकारले विदेशी नागरिकलाई नेपालको बाटो प्रयोग गरेर यात्रा गर्न दिने भएपछि पर्यटन व्यवसायीसमेत हौसिएका छन्। प्रतिबन्ध हटेसँगै हवाई उडान र पर्यटकीय चहल–पहल बढ्ने विश्वास गरिएको छ भने यो निर्णयले पर्यटन क्षेत्रमा उत्साह थपिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर सरकारको पछिल्लो निर्णयले हवाई उडान सङ्ख्या बढ्नुका साथै अध्यागमन विभागले लिँदै आएको एक दिने ट्रान्जिट भिसा शुल्कबाट राजस्वसमेत बढ्ने विश्वास व्यक्त गरे। ट्रान्जिटले पर्यटन उद्योग चलायमान हुनुका साथै एक पटक नेपाल टेकेका यात्रु पुनः नेपाल ट्रान्जिट भएर आउँदा केही समय बस्ने गरी आउने सम्भावनालाई पनि बढाएको उनले बताए।

“सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा नेपाल आउने पर्यटकको आगमनलाई दृष्टिगत गर्दै विमानस्थलमा ‘कन्वेयर बेल्ट’ थपेर तीनबाट पाँच, एक्सरे मेसिन थपेर दुईबाट चार, थप कर्मचारी परिचालनलगायतका तयारी गरिसकेका छौँ,” उनले भने, “आन्तरिकतर्फका उडानमा हुने चापलाई समेत दृष्टिगत गर्दै हवाई व्यवस्थापनको तयारी भइरहेको छ।”

हाल अध्यागमन विभागको ट्रान्जिट भिसासम्बन्धी प्रावधानअनुसार २४ घण्टाका लागि अध्यागमनले पाँच डलरमा एक दिने ट्रान्जिट भिसा दिने व्यवस्था रहेको छ। सरकारले ट्रान्जिटमार्फत विदेशीलाई नेपालको ढोका खोले पनि ट्रान्जिट भिसासम्बन्धी समस्या भने यथावत् छ। अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोकिएको ट्रान्जिट भिसा खोल्नेबारे निर्णय भए पनि सुचारु हुन नसक्दा एकातर्फ भिसा राजस्व गुमेको छ भने अर्का तर्फ पर्यटन क्षेत्रमा पनि त्यसको असर पर्दै आएको छ।

विमानस्थलस्थित अध्यागमन विभागका सूचना अधिकारी माधव मरासिनीका अनुसार कोभिड महामारी भएयता ट्रान्जिट भिसा बन्द छ। ट्रान्जिट भिसा खुलाउन पहल भइरहेको उनले बताए    –गोरखापत्र दैनिकबाट

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved