संघीय निर्वाचन

नवलपुर-२ मा कांग्रेसका धेरै आकांक्षी, विनोद चौधरीलाई विष्णुकुमारको चुनौति

नेपालभ्युज

नवलपुर-२ मा कांग्रेसका धेरै आकांक्षी, विनोद चौधरीलाई विष्णुकुमारको चुनौति

काठमाडौं। मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनमा उम्मेदवार चयन गर्न नेपाली कांग्रेसलाई हम्मे-हम्मे देखिएको छ । आगामी निर्वाचनका लागि पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ पनि राष्ट्रिय चर्चामा छ । नवलपुर समेत भनिने जिल्लाको यो क्षेत्रमा गठबन्धनकारी दलमध्ये कांग्रेस बलियो छ । त्यसैले उसले दाबी गरेको छ ।

यद्यपी हालै बनेर सत्ता गठबन्धनमा सामेल भएको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि यो क्षेत्रमा दाबी गरेको छ । पार्टीका सहअध्यक्ष गोविन्द चौधरीलाई उम्मेद्वार बनाउने गरी नेसपाले यो क्षेत्र आफूलाई दिन आग्रह गरेको छ ।  सत्ता गठबन्धनबीच भागवण्डा हुँदा नवलपुर -२ कसको भागमा पर्छ अहिले नै यकिन छैन । तर कांग्रेसमा भने आकांक्षीको दौडधुप तिब्र छ ।

केहीले त अहिले नै उम्मेदवारी घोषणा पनि गरिसकेका छन् । कांग्रेस महासमिति सदस्य शंकर तिवारीले यो क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीले टिकट दिनेमा आफू आशावादी रहेको उनले बताए । तिवारीले भने ‘अहिलेका सबैजसो सांसद ऐन नियम बनाउने कुरामा हस्तक्षेप नगरी विकास निर्माणका फाइल बोकेर मन्त्रालय धाउने गरेको देखिन्छ । यस्तो बेलामा आफ्नै सरकार त परै जाओस् प्रतिपक्षले समेत खबरदारी गर्न नसकेको अवस्था छ, सांसदको काम भनेको त जनताका कामलाई सहज बनाउने गरी ऐन बनाउने हो, तर त्यसमा ध्यान नदिई उनीहरू भड्किरहेका छन् । यस्तो प्रवृत्तिविरुद्ध  लाग्नुपर्छ भनेर मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’

पुराना पुस्ता विस्थापित गर्ने अभियान नै चलेका बेला युवा पुस्ताको यो घोषणालाई चासोका साथ हेरिएको छ । २०७४ सालमा नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका विष्णुकुमार कार्कीले पनि आगामी निर्वाचनका लागि तयारी गरिरहेका छन् । पराजित भए लगत्तैदेखि उनी यही क्षेत्रमा सक्रिय छन् । मतदातालाई धन्यवाद दिनेदेखि स्थानीयको समस्या समाधानमा उनी लागिरहेका छन् ।

कार्कीले राज्यको नीति सुधारकै लागि आफ्नो उम्मेदवारी रहने बताएका छन् । उनले भने  ‘अहिले तपाईंले हेर्नुभयो भने हाम्रो शिक्षा नीति कस्तो छ ? स्वास्थ्य नीति, कृषि नीति कस्तो छ ? यस्तो नीतिले कस्तो नतिजा देला ? सोच्नु पर्दैन ? यदि, विकाससँगै आर्थिक समृद्धिको कुरा गर्ने हो भने यो नीतिलाई समयअनुकूल सुधार गर्नुपर्छ । त्यसैका लागि मेरो उम्मेदवारी हो ।’

उनले आफू नवलपुरे जनताको बीचमा रहेर दु:ख सुखसँगै गरेकाले पार्टीले पनि सोहीअनुसार मूल्यांकन गर्नेमा आशावादी रहेको बताए । योपटक सहजै टिकट पाउने अपेक्षा गरेका कार्कीलाई सबैभन्दा ठूलो चुनौति उद्योगपति विनोद चौधरी देखिन्छन् ।

देउवासँग निकट रहेका चौधरीसँग शक्ति र पैसा दुवै भएकाले कार्कीलाई चुनौति देखिएको कांग्रेसका स्थानीय कार्यकर्ताको भनाइ छ । तर, अधिकांश पुराना नेताले भने कार्कीलाई पाखा लगाएर चौधरीलाई टिकट दिन नहुने बताउँदै आएका छन् । एक नेताले भने ‘विष्णुबहादुर कार्की यही माटोमा हुर्के बढे समाज बुझेकालाई पाखा लगाएर सेलिब्रेटी नेता ल्याउँदा पार्टीलाई कति घाटा हुन्छ त्यो सोच्नुपर्‍यो, विनोद चौधरीले आजसम्म नेता भेट्नुभयो की मतदाता त्यो पनि बुझ्नुपर्‍यो, चुनाव हो चुनाव जित्न मतदाताले बुझेको र भोलिका दिनमा पनि दु:ख बिसाउन पाउने छहारी जस्तो व्यक्ति चाहिन्छ ’ । विष्णु कार्कीको सहयोग विना चौधरीलाई चुनाव जित्न कठिन भएकाले कांग्रेस सहजै निर्णयमा पुग्न नसक्ने अधिकांश स्थानीय नेताको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारकै कारण पराजय भोग्नुपरेको बताउँदै संघीय निर्वाचनमा त्यो गल्ती नदोहोराउन कार्यकर्ताले नेतृत्वलाई सुझाव दिएका छन् । उद्योगी चौधरीले पनि आफ्नो तयारी अघि बढाएका छन् । तर उनले क्षेत्र नम्वर १ वा २ कुनमा दाबेदारी रहेको हो खुलाएका छैनन् । यद्यपी आफ्नो उद्योग समेत रहेको क्षेत्र नम्वर १ नपाए २ भए पनि हुने भन्दै उनले लबिइङ गरिरहेका छन् ।

चुनावकै तयारीका लागि उनी लामो समयदेखि स्थानीयस्तरका कार्यक्रममा पनि सहभागी हुने गरेका छन् । तर स्थानीय नेता कार्यकर्ताको समर्थन पाउन भने उनलाई मुस्किल भइरहेको छ । सत्ता गठबन्धनमा एमालेले जितेका क्षेत्र बाँड्ने सहमति भएको छ । तर कुन क्षेत्र कसले लिने भन्ने टुङ्गो लागेको छैन । त्यसैले धेरै आकांक्षी खुलेका छैनन् ।

यता अरू दलसँग गठबन्धन नगरेकाले उम्मेदवार चयनमा एमालेलाई भने केही सहज देखिन्छ । एमालेले हालका सांसद तिलक महतलाई नै दोहोर्‍याउने सम्भावना बढि छ । गत निर्वाचनमा कांग्रेसका कार्की एमाले नेता महतसँग सामान्य मतान्तरले पराजित भएका थिए । कार्कीले ३७ हजार ७ सय २० र एमालेका महतले ३९ हजार ५३ मत प्राप्त गरेका थिए । त्यतिबेला भन्दा अहिले एमालेलाई गाह्रो छ । वाम गठबन्धन हुँदा समेत करिब १ हजार ३ सय मतले मात्रै एमाले विजयी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved