राजनीतिक आकाशका बौद्धिक दीयोको अवसान

दलीय अनुशासनको मापदण्डबाट हेर्दा उनी एक अराजकतावादी थिए। आफूलाई मन नपरेको कुराजस्तै ठूलो शक्ति, प्राधिकार र जोखिमका सामु किञ्चित नडराइकन भन्नु सक्नु गिरीको सबैभन्दा ठूलो साहस थियो। पुँजी थियो। नैतिक बल थियो। उनी कयौं विषयमा आफ्नै राजनीतिक गुरु तथा आर्दश बीपी कोइरालासँग समेत विमति राख्दै शास्त्रार्थ गर्थे रे। गिरिजाप्रसाद कोइरालासँग त उनी बारम्बार टकराए।

राजनीतिक आकाशका बौद्धिक दीयोको अवसान

प्रदीप गिरि रहेनन्।  उनी लामो समयदेखि बिमारी थिए। भारतमा उपचार गराएर फर्किएका थिए। पछिल्लो समय काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत थिए।

विस्तारै, चिकित्साविज्ञानले उनीप्रति आशा मार्दै गयो। तर, हज्जारौँ मानिसले उनको जीवनका लागि प्रार्थना गरेका थिए। प्रार्थनामा मानिस भन्दै थिए–‘’दैवले कुनै चमत्कार गरोस्’’ तर, त्यसो हुने वाला थिएन। प्रकृतिको नियमभन्दा माथि मानिसका लागि दैवले कुनै चमत्कार गर्दैन भन्ने स्वयं गिरिलाई समेत थाहा थियो। उनी अध्यात्ममा विश्वास गर्थे, चमत्कारमा होइन।

अस्पतालमा भेट्न जानेलाई प्रदीप गिरीले सोध्ने गरेका थिए– ‘‘मृत्यु जीवन जतिकै सत्य हो। म त मर्न डराउन्नँ, तपाईं नि ?’’ नभन्दै उनी मृत्युसँग डराएनन्। सामना गरे।

‘मृत्यु सत्य हो’ सबैलाई थाहा छ। जन्मेका मानिस सबै मरेकै छन्। आज हामी जो बाँचेका छौँ, सबै मर्छौं कुनै दिन। गिरिले त्यति सरल सत्य यसर्थ भनेका थिएनन् होला कि त्यो अरूलाई थाहा छैन, ज्ञान होस्। बरु यसर्थ भन्दै थिए होला– सरल सत्य पनि मानिसलाई बारम्बार स्मरण गराउन पर्छ।

गिरिको धारणा थियो, ‘मृत्यु मर्नेका लागि मुक्ति हो, ‘महामुक्ति’, बाँच्नेहरूका लागि मात्र ‘शोक’ हो’

अस्पतालको शय्यामा मृत्युको सम्मुख पुग्दा मात्रै हैन, मृत्युबोध उनको जीवन दर्शनको सर्वथा एक अमूल्य निधि थियो। मान्छेले गर्ने हरेक कर्म ‘कुनै दिन मर्नुपर्छ’ भन्ने बोध मनमा राखेर गर्ने हो भने विरलै गल्ती होलान् भन्ने उनको विश्वास थियो। तसर्थ, आफ्ना भाषण, प्रवचन, लेख र अन्तर्वार्तामा उनी बारम्बार मृत्यु बोधको चर्चा गर्थे।

गिरी अक्सर महात्मा गान्धीको चर्चा गर्थे। उनी एक प्रकारले गान्धीवादी थिए। गान्धीका विचार र विश्वासप्रति, अभ्यास र आग्रहप्रति गिरीमा एक प्रकारको भक्ति र अनुयायिता देखिन्थ्यो। गान्धीको सत्याग्रह उनको सबैभन्दा मन पर्ने सिद्धान्त थियो। उनको विश्वास थियो, सत्यको आग्रह सबैभन्दा उच्चस्तरको नैतिक आग्रह हो। र मृत्यु एक जन्मजस्तै सत्य हो।

यो एउटा भ्रम व्यापक थियो, उनको समयमा गान्धीवादीहरू मार्क्सवादी हुँदैनन्, मार्क्सवादीहरू गान्धीवादी हुँदैनन्। गान्धी र मार्क्सलाई  एक-अर्काको विपरीत ठानिन्थ्यो। मार्क्सवादीहरू गान्धीवादलाई गालीको विषय ठान्थे। गिरी त्यस्ता विचित्रका पात्र थिए, जो गान्धी र मार्क्सलाई  आफ्नो व्यक्तित्वभित्र समान रूपले आत्मसात गर्न सक्थे। आफ्नो हृदयमा उत्तिकै स्थान दिन्थे।

उनी जुन स्तरको गान्धीवादी थिए, त्यही स्तरको मार्क्सवादका ज्ञाता पनि थिए। मार्क्सवादका राम्रा र नराम्रा पक्ष उनी सजिलै केलाइदिन्थे। मार्क्सवादका अनुयायीहरू पनि उनका प्रवचन सुनेर मख्ख पर्थे र सोच्थे कतै सच्चा कम्युनिस्ट उनै त हैनन्। मार्क्सवाद र विश्व कम्युनिस्ट आन्दोलनबारे उनको ज्ञान कुनै कम्युनिस्ट नेता कार्यकर्ताको भन्दा धेरै माथि थियो।

तर, साँचो अर्थमा उनी समाजवादी थिए। उनको समाजवाद मार्क्सवादी साम्यवादीको उपग्रही समाजवादभन्दा बिल्कुलै फरक थियो। उनी समाजवादलाई साम्यवादको एक चरण हैन, आफैँमा एक पूर्ण आदर्श मान्दथे।

नेपाली कांग्रेसको नेता, कार्यकर्ता भएर पनि उनी कांग्रेस मात्रै भएनन्। कांग्रेसभित्र मात्रै समेटिएनन्। कांग्रेसको साँघुरो घेराभित्र बसेनन्। कांग्रेसको राजनीतिक स्वार्थ र दलीय ह्वीपको सीमाभित्र बसेनन। जहाँनेर उनलाई कांग्रेसका नीतिहरूको समर्थन गर्न उचित लाग्यो, गरे, जहाँनेर अनुचित लाग्यो गरेनन्।

दलीय अनुशासनको मापदण्डबाट हेर्दा उनी एक अराजकतावादी थिए। आफूलाई मन नपरेको कुराजस्तै ठूलो शक्ति, प्राधिकार र जोखिमका सामु किञ्चित नडराइकन भन्नु सक्नु गिरीको सबैभन्दा ठूलो साहस थियो। पुँजी थियो। नैतिक बल थियो। उनी कयौं विषयमा आफ्नै राजनीतिक गुरु तथा आर्दश बीपी कोइरालासँग समेत विमति राख्दै शास्त्रार्थ गर्थे रे। गिरिजाप्रसाद कोइरालासँग त उनी बारम्बार टकराए।

प्रदीप गिरीले राजनीतिलाई कहिल्यै पद, सत्ता र शक्तिको विषय बनाएनन्। राजनीति उनका लागि शौख, निष्ठा र साधना थियो। उनी बारम्बार सांसद भए तर कहिल्यै मन्त्री भएनन। उनी मन्त्री भएनन् भन्दा पनि सायद हुन चाहेनन्। बारम्बार सांसद भएका एक वरिष्ठ नेताले चाहेको भए मन्त्री हुन त्यति गाह्रो थिएन।

उनी किन बारम्बार सांसद भए तर मन्त्री हुन चाहेनन ? यसभित्र पनि उनको जीवन दर्शनको अंश थियो। सांसद जनतासंग प्रत्यक्ष जोडिएको पद हो। जनताको प्रतिनिधि हो। तर, मन्त्री हुनेबित्तिकै जुन अपारदर्शिता र भ्रष्टतामा फस्ने प्रचलन हुन्छ, त्यो जोखिम उनी लिन चाहँदैनथे। उनलाई सधैँ जनताकै मान्छे, जनप्रतिनिधि हुनु थियो, सरकारको मान्छे, सरकारी मान्छे हुनु थिएन।

नेपालमा निष्ठाको राजनीति हुन्छ, हुन सक्दछ भन्ने कुरा विरलै मान्छेले विश्वास गर्दछन्। गिरी त्यही विरलै मध्येका एक थिए। उनले त्यो विरलै विश्वास आफ्नै जीवनबाट पुष्टि गरिदिए।

उनी न कहिल्यै कुनै वंशवाद, परिवारवादमा फसे न कुनै आर्थिक प्रलोभन र भ्रष्टाचारमा सामेल भए। जबसम्म उनी रहे– नेपाली राजनीतिमा बौद्धिकता, निर्भयता, शुद्धता र पवित्रताको मानक जस्तो भएर रहे।

जस्तै, कट्टर वामपन्थी तथा दक्षिणपन्थीले पनि उनको आलोचना गर्ने साहस जुटाउन सकेनन्। बरु उनी सबैका सदावहार प्रिय पात्र भएर बाँचे।
बरु उनले उग्रवामपन्थ र चरम दक्षिणपन्थको सधै आलोचना गरे। उनको राजनीतिक लाइनमा सत्यमार्ग वा मज्जिकापथको झल्को थियो।

जब संविधानसभाबाट २०७२ सालको नयाँ संविधान जारी हुँदै थियो, उनले कांग्रेसको ह्वीप मानेनन्। मधेसबाट प्रतिनिधित्व गर्ने उनले मधेसी जनताको असन्तुष्टिका बाबजुद संविधान जारी हुनुलाई उचित ठानेनन्। तसर्थ, उनी मधेसी भावनाकै पक्षमा रहे। संविधानमा हस्ताक्षर नगरीकन संविधानसभा भवन छोडेर हिँडे।

सिराहाबाट प्रतिनिधित्व गर्ने सांसदको रूपमा सायद उनको त्यो राजनीतिक तथा नैतिक कर्तव्य थियो। यसवापत नेपाली कांग्रेसले उनलाई कुनै कार्वाही गरेन। गर्न चाहने वा गर्ने साहस गरेन त्यो भिन्नै कुरा तर संसदीय लोकतन्त्रमा त्यो निकै ठूलो मात्राको अनुशासन उल्लघंन थियो।

संविधानलाई लिएर समाज तीव्र ध्रुवीकरण हुँदा पनि गिरिप्रतिको आमजनताको आस्था र विश्वासमा त्यसले कुनै कमि ल्याएन। उनी देशमै एक राम्रा, उच्चकोटीका वक्ता मानिन्थे। देशका सबैजसो महत्त्वपूर्ण प्रवचन कार्यक्रममा उनलाई निम्त्याइन्थ्यो। साहित्यिक कार्यक्रममा पनि उनको बाक्लो उपस्थिति हुन्थ्यो।

उनी महाभारतका राम्रा जानकार थिए। महाभारतका विभिन्न कथा प्रसंगलाई सामयिक राजनीतिसँग तुलना गरेर राम्रा तर्क सिर्जना गर्थे। कथा, परिकथा, साहित्य, संगीत, सिनेमा र काव्यका उनी कुशल रसपानकर्ता थिए। उनका प्रवचन दार्शनिक चेत र साहित्यिक सौन्दर्यले लछ्प्पै भिजेका हुन्थे। उनले महाभारतमाथि केही सिर्जनाबद्ध प्रवचन गरेका छन्।

महिला र दलितप्रति उनको विशेष सम्मान थियो। यी दुई तप्काको उन्नयन विना नेपाली समाज अघि बढ्न असम्भव छ भन्ने उनको ठहर थियो। आफ्नो सिरहास्थित बस्तीपुर अश्राममा उनले एक दलित समुदायकी महिलालाई मूल भान्छे राखेका थिए। त्यसको ठूलो सांकेतिक अर्थ थियो। उनको बस्तीपुर आश्रम गान्धीजीको सावरमति आश्रामको एक ‘रिप्लिका’ जस्तो लाग्दछ।

महिला स्वतन्त्रताको पैरवी र पक्षधरता उनको एक ठूलो प्रतिबद्धता थियो। महिला-पुरुष सम्बन्ध र प्रेमलाई बृहत अर्थमा परिभाषित गर्थे। कांग्रेस राजनीतिमा बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईप्रति उनको गहिरो सम्मान र आस्था थियो। उनी गिरिजाप्रसाद कोइरालाका भने आलोचक रहे। गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीचको गुटबन्दीमा उनी सधै किसुनजीको पक्षमा लागे। सायद त्यही ध्रुवीकरणले उनलाई नेपाली कांग्रेस विभाजित हुँदा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) तर्फ लाग्न प्रेरित गर्‍यो।

त्यो फुटको सान्दर्भिकता समाप्त हुँदै गएपछि वा फुटको औचित्य पुष्टि हुन नसकेपछि उनले मजाक गर्दै त्यो ‘कांग्रेस हैन, थांग्रेस थियो’ भन्ने गरेका थिए। उनी अरुको मात्रै आलोचना गर्दैनथे। उनी स्वआलोचकसमेत थिए। आफ्ना कमजोरीको उनलाई भलिभाँती ज्ञान थियो। मानवीय जीवनका सीमाबारे उनी सचेत थिए।

गिरि खुल्ला बजार अर्थतन्त्रका सधै विरोधी थिए। २०४८ सालको आम निर्वाचनपछि बनेको नेपाली कांग्रेसको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले निजीकरण, उदारीकरण र भूमण्डलीकरणको नीति लियो। उनले त्यसको खुलेर विरोध गर्ने गरेका थिए।

उनलाई एक प्रकारको गान्धीवादी समाजवादप्रति विश्वास थियो। उनी आधुनिक बजार अर्थतन्त्र र पुँजीवादी चकाचौधको पक्षधर कहिल्यै बनेनन्।

अध्ययन, अध्ययन र अध्ययन उनको जीवनशैलीको एक महत्त्वपूर्ण हिस्सा थियो। उनी किताब पढ्ने, चपाउने र निल्ने मात्र हैन, त्यसलाई पचाउनेसमेत गर्दथे। सयौं किताब र त्यसका लेखकको नाम उनलाई कण्ठस्थ थियो। उनी कैयौं पुस्तकका अध्याय, पेज र उदाहरणसमेत सजिलै उल्लेख गर्दिन सक्थे।

भनिन्छ–उनको जीवनशैली भने खासै व्यवस्थित थिएन। संसारको पर्वाह गर्ने उनी आफैँप्रति भने बेपर्वाह थिए।
गिरि नेपाली राजनीतिको आकाशमा एक धपधपी बल्ने दियो थिए। जहिलेसम्म रहे, उनले नेपाली समाजलाई नैतिक जीवन पद्धतिप्रति अनुप्रेरित गरिरहे। आफ्नो युगका एक स्मरणीय व्यक्तित्व दर्ज भए।

गिरिको जस्तो आर्दश जीवन पछ्याउन र बाँच्न नि:सन्देश सजिलो छैन। चाहेर पनि धेरैले त्यो आँट र साहस गर्दैनन्। तर, जसले व्यवहारमा गिरीको जस्तो सत्यनिष्ठालाई पछ्याउन सकेनन् वा सक्दैनन्, उनीहरूका लागि पनि उनी सर्वथा श्रद्धाका पात्र रहे।

अल बिदा प्रदीप गिरी। भौतिक देह नरहे पनि नेपाली समाज र मानव सभ्यता रहुन्जेल ‘तपाईं’को स्मरण रहिरहनेछ। हार्दिक श्रद्धाञ्जलि।


Comment

One thought on “राजनीतिक आकाशका बौद्धिक दीयोको अवसान

  1. आदरणीय नेता गिरीप्रती अमर श्रद्धा सुमन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved