बासस्थान मासिँदै गएपछि रैथाने नकटा हाँस सङ्कटमा

नेपालभ्युज

बासस्थान मासिँदै गएपछि रैथाने नकटा हाँस सङ्कटमा

कैलाली। कैलाली र कञ्चनपुरमा मात्रै पाइने नकटा हाँसको बासस्थान मासिदै जान थालेपछि सङ्कटमा परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका कालिकिच, सिकारी तालसँगै निकुञ्ज बाहिरका पुरैनी, शोभालगायतका तालक्षेत्र आसपासका क्षेत्रमा सो प्रजातिको हाँस पाइने गर्छ ।

कैलालीको घोडाघोडीलगायतका ताल आसपासका क्षेत्रमा सो हाँसको बासस्थान रहेको छ । यसको सङ्ख्यामा केही समययतादेखि कमी आएको छ । ताल–तलैयाहरू मानव अतिक्रमणको चपेटामा पर्नु र स्थानीय बासिन्दाले शिकार गर्ने गरेका कारणसमेत हाँसका सङ्ख्यामा कमी आउन थालेको हो । सङ्कटापन्न अवस्थामा रहेको नकटा हाँस जोगाउनका लागि स्थानीय बासिन्दालाई जैविक विविधता संरक्षणसँगै चरा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरी सचेत पार्नुपर्ने चरा संरक्षणको कार्यमा संलग्न सुमन चौधरीले बताउनुभयो ।

“निकुञ्ज आसपासका ताल–तलैया क्षेत्रमामात्रै नकटा हाँस देखिने गरेको थियो”, उहाँले भन्नुभयो, “हाल यस प्रजातिको हाँस घना बस्ती नजिकका ताल–तलैयामा समेत देखिन थालेको छ । यसको संरक्षण गर्नु जरुरी छ ।” बेलौरी नगरपालिकाको शोभाताल क्षेत्रमा पाँच बढीको सङ्ख्यामा नकटा हाँस पहिलोपटक देखापरेको उहाँले बताउनुभयो ।

नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार नकटा हाँस नेपालको रैथाने प्रजातिका सबैभन्दा ठूलो प्रजातिको हाँस हो । यस हाँसले वर्षात्को समय सुरु भएसँगै बच्चा कोरल्ने गर्दछ । रुखको टोड्का, अरु चराले छाडेका गुँड, ठूलो घाँसको झाडीमा अण्डा पार्ने गर्दछ । पोथीले एकपटकमा १० देखि १५ सम्म अण्डा पार्ने गर्दछ । अण्डा पारेको २५ देखि ३० दिनमा बच्चा कोरल्ने गर्दछ ।

नकटा हाँस काला छिर्कापूर्ण सेतो–सेतो टाउको र सेतो–सेतो तल्लो भाग साथै अपूर्ण साँघुरो छातीपेटी हुने गर्दछ । माथिल्लो र तल्लो पखेटा कालो हुन्छ । भालेको कालो–कालो माथिल्लो भागमा टल्कने ढलौटे हरियो, निलो र हरियो रङको हुन्छ । ठोँडको फेदमा पुष्ट सिउर साथै ग्रिष्ममा टाउको छेउ र गर्दनमा पहेलो–पहेलो मैलो बगेको जस्तो देखिने हुन्छ । हिउँदमा सिउर सानो पोथी साना नापको माथिल्लो भाग बढी धमिलो हुन्छ ।

सिउर नभएको बच्चाको गाढा तालु र आँखीधर्सोभन्दा भिन्न देखिने फिक्का आँखीभौँ माथिल्लो भागमा मैला कत्ला र कैलोमैलो तल्लो भाग साथै छातीको छेउमा गाढा कत्ला हुन्छन् । सिमसार तथा जलसिञ्चित घाँसेमैदानमा चर्ने र छिपछिपे पानीमा खेल्ने गर्दछ । धेरै जलिय वनस्पति भएका जङ्गलभित्रका तालतलैयामा यो बढी बस्न रुचाउने गर्दछ । रैथाने प्रजातिको यस हाँसलाई नेपालमा सङ्कटापन्नको सूचीमा सूचीकृत गरिएको छ ।

“यस हाँसको स्वभाव अरु भन्दा भिन्न हुने गर्दछ”, चराविज्ञ डगौराले भन्नुभयो, “यो हाँस अरु हाँसका झुण्डमा मिसिएर बस्ने गरेको पनि पाइएको छ ।”

केही दिनअघि कैलालीका तालतलैयामा गरिएको सर्भेक्षणमा यसको सङ्ख्या ४५ मात्रै रहेको पाइएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस आसपासका तालतलैया क्षेत्रमा यसको सङ्ख्या ६० को हाराहारीमा रहेको रहेको अनुमान छ ।

यस हाँसले आहाराका रूपमा किरा–फट्याङ्ग्रा, माछा, जलिय वनस्पतिलाई ग्रहण गर्दछ । अङ्ग्रेजीमा यसलाई कम्बडक भनेर चिनिन्छ । नकटा हाँस सङ्कटापन्न अवस्थामा रहेकाले यसको संरक्षणमा सबैले चासो दिनुपर्ने चराविज्ञ डगौराको भनाइ छ ।

“सुदूर तराईका दुई जिल्लाको रैथानेमध्येको ठूलो प्रजातिको हाँस नकटा भएकाले यसको संरक्षणसँगै बासस्थान सुरक्षित बनाउन सकेमात्रै यसलाई जोगाउन सकिन्छ”, उहाँले भन्नुभयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved