‘जनताको साथमा कांग्रेस’ भदौ १० गतेदेखि

नेपालभ्युज

‘जनताको साथमा कांग्रेस’ भदौ १० गतेदेखि

काठमाडौं ।  नेपाली कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गर्दैछ । अभियानको समयावधि पहिलो चरण भदौ १० देखि बिपी जन्मजयन्ती भाद्र २४ सम्म हुने पार्टी कार्यालयले जनाएको छ । यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तरक्रिया गर्ने अभियानको उद्देश्य रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

यसैगरी कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियान सिर्जना गर्ने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने अभियानको उद्देश्य रहेको छ ।

अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने र ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने व्यवस्था गरिएको उनले बताए ।

केन्द्रीय प्रतिनिधिले अभियान सुरु हुनुभन्दा दुई दिन अघि नै केन्द्रीय प्रतिनिधिहरू खटिएको जिल्लामा पुग्ने र जिल्ला कार्यसमितिको बैठकमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रमबारे छलफल गरी १५ दिनसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरु कम्तीमा पाँच दिन तोकिएको जिल्लामा विविध कार्यक्रममा सहभागी हुनेछन ।

जिल्लाको सबै निर्वाचन क्षेत्र (एक मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेशसभा क्षेत्र) को निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागिता रहनेछ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सहित त्यस क्षेत्र भित्रका महाधिवेशन/महासमिति/प्रदेश अधिवेशन प्रतिनिधि, गाउँ–नगरपालिका कार्यसमितिका सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेद भुलेर ऐक्यबद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपिल गर्नेछन् ।

केन्द्रीय प्रतिनिधिले गठबन्धनमा रहेका दलबीच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्याङ्कन गरी थप सहज बन्न/बनाउन केन्द्रीय प्रतिनिधिले आवश्यक सहजीकरण गर्ने, निर्वाचनको आचारसंहिता लागू भएपछि इमानदारपूर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दलहरूलाई अपिल गर्ने जिम्मेवारी रहेको छ ।

केन्द्रीय प्रतिनिधिले अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा विविध थप कार्यक्रम तय गर्न र सङ्गठित रुपले कार्यान्वयन गर्न/गराउन जिल्ला समिति एवं मातहतका समितिलाई सहजीकरण गर्ने र पार्टीको स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढङ्गले कुनै पनि गतिविधि पार्टीभित्र कोही कसैबाट भएको थियो । आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कोहि कसैबाट भइरहेकोे सूचना छन् भने त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरण सङ्कलन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

अभियान अवधिमा आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन व्यवस्थित ढङ्गले सम्पादन गर्नुपर्ने सात जरुरी कार्यहरूबारे पार्टीको आन्तरिक सर्कुलरमा उल्लेख गरिएको छ । अभियान केन्द्रीकृत नभई विकेन्द्रित गरिने छ । यही भदौ १० गते अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्न–भिन्न स्वरुपमा गरिने छन् । जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आँकलन गरेर कहीँ जिल्लास्तरीय रुपमा, कहीँ जिल्लाको निर्देशन अनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गर्न सकिने प्रवक्त डा प्रकाशशरण महतले जानकारी दिए ।

अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरूको केन्द्रीय समिति क्रियाशील रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरूले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँट गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने, कतिपय भ्रातृ/सङ्घको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनु पूर्व ती सङ्घअन्तर्गत विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुने बताइएको छ । साथै भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो सङ्गठनको प्रकृति अनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने पार्टी कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved